केन्द्रीय सदस्यमा निर्वाचित श्रेष्ठलाई जिल्लामा सम्मान र शुभकामना, आफुमा थप उत्तरदायित्व थपियो : श्रेष्ठ
सुनिता आचार्य (दमौली)
नेपाल उद्योग वाणिज्य महासंघको ५४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित देवकुमार श्रेष्ठलाई गृहजिल्ला तनहुँमा विभिन्न संघ संस्थाहरुले सम्मान तथा शुभकामना व्यक्त गरेका छन् ।
सदस्य श्रेष्ठलाई रोटरी क्ल अफ दमौलीले एक कार्यक्रमका बीच सम्मान तथा शुभकामना व्यक्त गरेको छ । क्लबका पूर्व अध्यक्ष समेत श्रेष्ठले क्लवको सम्मान ग्रहण गर्दै आफुँमा थप उत्तरदायित्व थपिएको बताए । रोटरी, जेसिज जस्ता सामाजिक संघसंस्थाले आफ्नो व्याक्तित्व विकास र सामाजिक पहिचान स्थापित गर्न ठूलो भुमिका खेलेको उनले सो अवसरमा बताएका थिए ।
‘सफल व्यवसायी बन्न स्पष्ट कार्यशैली र इमान्दारीता आवश्यक हुन्छ’, श्रेष्ठले भने, ‘आफ्नो जीतको कारण पनि त्यही हो, आर्थिक समृद्धिका लागि अबको समयमा सरकारले नीजि क्षेत्रसँग सहकार्य गर्नुपर्दछ ।’
उनले समावेशी विकासका लागि सम्पन्न वर्गसँगै मध्यम वर्गीयहरुको आर्थिक उन्नतीलाई पनि मध्यनजर गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा रोटरी क्लब अफ दमौलीका संस्थापक अध्यक्ष एवं संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले श्रेष्ठको जीतले समग्र तनहुँबासीलाई नै गौरवको अनुभूति भएको बताए । श्रेष्ठ सफल व्यवसायीका साथै उत्कृष्ट करदाता समेत भएको चर्चा गर्दै पोख्रेलले उनको कार्यशैलीबाट धेरैलाई प्रेरणा मिलेको चर्चा गरे ।
कार्यक्रममा रोटरी क्लबका अध्यक्ष दामोदर भण्डारी, निवर्तमान अध्यक्ष सुर्जाकुमार मल्ल, इमकुमार मल्ल, महेन्द्र न्यौपाने, हरिराम श्रेष्ठ, राजीनलाल श्रेष्ठ, रोटरीका सचिव सागर आचार्य, उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, इलेक्ट नोमेनी रामलाल श्रेष्ठ, रोटरीयन बिना कैनी, रोटर्याक्ट क्लब अफ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतले श्रेष्ठको जीतले रोटरीको पहिचान र गरिमालाई थप उच्च बनाएको भन्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।