तनहुँको दमौलीस्थित छाब्दीवाराही मन्दिरको पुनःनिर्माण सम्पन्न

तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरको पुनःनिर्माण गरिएको छ । उक्त मन्दिर करिब ७० लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको हो । पाली निकालेर पुनःनिर्माण भएको मन्दिर आकर्षक देखिएको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीबाराही विकास कोषको आन्तरिक कोषबाट मन्दिरको पुनःनिर्माण गरिएको कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए ।
्एक वर्षमा पुनःनिर्माण पूरा भएको मन्दिरमा गत शुक्रबार छाब्दीवाराहीको मूर्ति प्रतिस्थापन गरिएको छ । मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारले २४ लाख रुपैयाँ सहयोग गरेको छ भने कोषले ४६ लाख रुपैयाँ लगानी गरेको छ । छाब्दीबाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेको जनविश्वास छ । मन्दिर बाहिर खोलामा हजारौँ माछा छन् । मन्दिरमा तीन जना मगर जातिका पुजारी छन् ।
यहाँ साउन, एकादशी र औँसी बाहेकका दिन हाँस, परेवा, बोका, राँगाको बलि दिइने गरिन्छ । छाब्दीवाराही मन्दिर परिसरमा पुरानो छाब्दी वाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मस्त्यगन्धाको मूर्ति छ ।
यो मन्दिर दमौली बजारबाट सात किलोमिटर ढाढा छ । मन्दिरमा पूजाअर्चनाका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् ।










