सचिन स्मृति दौड प्रतियोगिता : काठमाडौंका अजितकुमारले जिते उपाधि

सचिन स्मृति दौड प्रतियोगिताको उपाधि काठमाडौंका अजितकुमार यादवले जित्न सफल भएका छन् ।
रोर्टयाक्ट क्लव दमौलीले शनिबार आयोजना गरेको २१औ सचिन स्मृति दौड प्रतियोगिताको ९ किलोमिटर दुरी २८ मिनेट १८ सेकेण्डमा पार गर्दै यादवले उपाधि जितेका हुन् ।

व्यास नगरपालिका-३ अनसनचोकदेखि व्यास नगरपालिका-१४ छाब्दीसम्मको ९ किमी दूरी २८ मिनेट २९ सेकेण्डमा पुरा गर्दै गोरखाका दिनेशसिंह बोगटी द्वितीय भएका छन् ।
त्यस्तै सिन्धुपाल्चोकका मिङ्मारसिंह तामाङले उक्त दूरी २९ मिनेट १८ सेकेण्डमा पुरा गरी तृतीय भएका छन् । तनहुँका सनम गुरुङले उक्त दूरी २९ मिनेट ४५ सेकेण्डमा पूरी गरी सान्त्वना भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १२ हजार र आठ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको क्लवका अध्यक्ष अनुज विमलीले जानकारी दिए ।
क्लवका संस्थापक सचिव सचिन श्रेष्ठको स्मृतिमा क्लवले हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लवको कार्यक्रममा सहभागी हुन भारतको कलकत्ता जाने क्रममा श्रेष्ठको बस दुर्घटनामा परी मृत्यु भएको थियो ।











