दमौली अस्पतालमा बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा
तनहुँको दमौलीस्थित दमौली अस्पतालमा बिहान ७ देखि साँझ ७ बजेसम्म बहिरङ्ग -ओपिडी) सेवा सुरु गरिएको छ । अस्पतालले विहीबारदेखि १२ घण्टा ओपिडी सेवा सञ्चालनमा ल्याएको हो ।
शनिबार र सार्वजनिक बिदाका दिन बाहेक अन्य दिनमा सेवा प्रवाह गरिने अस्पतालले जनाएको छ । सेवा बिस्तारका समयमा सेवा लिन आउँदा थप शुल्क तिर्न नपर्ने अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य बीमितलाई स्वास्थ्य बीमामार्फत नै सेवा उपलब्ध गराइनेछ । अस्पतालले सेवा बिस्तार गरेसँगै सबै वर्गका व्यक्तिले सहज रूपमा उपचार सेवा पाउन सक्ने छन् ।
कर्मचारीले आफ्नो दैनिक कार्यालय समयबाहेक सेवा लिन सक्ने, विद्यार्थीले आफ्नो अध्ययन छाड्न नपर्ने गरी सेवा लिन सक्ने, ज्याला मजदुरले आफ्नो दैनिक ज्याला मजदुर छाड्न नपर्ने र व्यापार व्यवसायीले आफ्नो व्यापारमा असर नपर्ने गरी सेवा लिन सक्ने छन् ।
‘बिहानै खाली पेटमा परीक्षण गर्नुपर्ने सबै सेवाग्राहीलाई सहज हुनेछ’, उनले भने, ‘भीडभाडमा कमी भई सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने समस्याको अन्त्य हुनेछ ।’ यस अस्पतालबाट अन्यत्र अस्पतालमा सिफारिस भई जान चाहने बिरामीका लागि समयमै सिफारिस गर्न सकिने हुँदा जान सहज हुने अस्पताल प्रशासनले जनाएको छ ।










