व्यासको कार्यापालिका बैठक : भूमि बैंक सञ्चालनदेखि नारेश्वर ताल व्यवस्थापनको निर्णय

दमौली : तनहुँको व्यास नगरपालिकाले भूमि बैंक सञ्चालनको प्रक्रिया अघि बढाउनेदेखि नारेश्वर ताललाई आन्तरिक पर्यटनको आकर्षक केन्द्रका रूपमा विकास गर्नेसम्मका विभिन्न निर्णय गरेको छ ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको नियमित बैठकले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा, चालु आर्थिक वर्षको कार्यसम्पादन, खेलकुद प्रशिक्षक परिचालन, वातावरण तथा जैविक विविधता संरक्षणलगायतका विषयमा निर्णय गरेको हो ।
बैठकले नेपाल सरकारबाट भूमि बैंक सञ्चालन गर्न अनुमति प्राप्त भइसकेकाले संघीय सरकारले जारी गरेको ‘भूमि बैंक स्थापना तथा सञ्चालन कार्यविधि, २०८३’ अनुसार प्रक्रिया अघि बढाउन आवश्यक कार्यविधि र निर्देशिका तयार गरी पेश गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।
नगरपालिकाले खेलकुद प्रशिक्षक परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८३ तथा वातावरण, जलचर र जलीय जैविक विविधता संरक्षण तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८३ लाई प्राप्त सुझावसमेत समेटी संशोधनसहित पारित गरेको छ ।
बैठकले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षामा वडा सचिव तथा शाखा प्रमुखबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै नगरस्तरीय राजनीतिक दल तथा सरोकारवालाबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। वडागत कार्यसम्पादन गतिविधिको समीक्षा सम्बन्धित वडाका टोल संस्था तथा नागरिक समाजका प्रतिनिधिको उपस्थितिमा गराउने निर्णयसमेत गरिएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि तय भएका ठेक्कामार्फत सञ्चालन हुने योजनाको ठेक्का आह्वान असोज मसान्तभित्र र उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनाको काम कार्तिक मसान्तभित्र अघि बढाउने गरी प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन दिएको छ ।
त्यस्तै, नगरपालिकाको आन्तरिक आम्दानीतर्फ आर्थिक वर्ष २०८३/८४ को श्रावण महिनामा करिब १ करोड ९९ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो । बैठकले नगर प्रमुख वैकुण्ठ न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गर्ने निर्णयसमेत गरेको छ ।
यसैगरी व्यास नगरपालिका–१० दुम्सीकोटस्थित निर्माणाधीन नारेश्वर तालमा पानी भर्ने काम भइरहेको अवस्थामा ताललाई आन्तरिक पर्यटनको आकर्षक केन्द्रका रूपमा विकास गर्ने निर्णय गरिएको छ। तालको भौतिक पूर्वाधारको सुरक्षा, सरसफाइ तथा तटबन्ध निर्माणलगायतका काम आवश्यकताअनुसार गर्न सात सदस्यीय नारेश्वर ताल सञ्चालन तथा व्यवस्थापन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।
समितिमा वडा नं. १० का वडाध्यक्षको अध्यक्षतामा स्थानीय सरोकारवालालाई समेत समेटिने जनाइएको छ । नारेश्वर तालको विकास तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन स्थानीय समुदायको सहभागितामा काम अघि बढाउने नगरपालिकाको तयारी छ।
बैठकले नगरपालिकाले यसअघि प्रकाशित गरेको जग्गा वर्गीकरण तथा कित्तागत विवरणमा केही कित्तागत विवरण संशोधन गर्नुपर्ने तथा नयाँ कित्तागत विवरण थप गर्नुपर्ने देखिएकाले सम्बन्धित जग्गाधनीलाई आवश्यक प्रमाण र आफ्नो विवरणसहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न ३५ दिने सूचना प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।
नगरपालिकाले अघिल्लो कार्यपालिका बैठकका निर्णयको कार्यान्वयन अवस्था तथा कार्यालयबाट प्रवाह भइरहेको सेवाको समेत समीक्षा गरेको जनाएको छ ।










