भिमादको सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइदै
तनहुँको भिमाद नगरपालिका-७ र ९ को सिमानामा रहेको सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न पूर्वाधार निर्माण गर्न थालिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण उक्त गुफाको विकास गर्न नगरपालिकाले भौतिक संरचना निर्माण कार्य अघि बढाएको हो ।
गुफाभित्र चुन पग्लेर बनेका विभिन्न आकृतिले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । प्रचारप्रसारको अभावमा सिद्धगुफा ओझेलमा परेको छ । उक्त गुफाको विकास गर्न भिमाद नगरपालिकाले रु तीन करोड विनियोजन गरी विभिन्न संरचना निर्माणको काम गरिरहेको छ। सिद्धगुफामा प्रवेशद्धार, गुफासम्म जाने मार्गमा कालोपत्र, टिकट काट्ने घर, व्यवस्थित शौचालयलगायतका संरचना निर्माण भइरहेका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।
कोभिड-१९ अघि आन्तरिक पर्यटक चहलपहल बढेको थियो । पछिल्लो समय भने सो संख्या घटेको नगरप्रमुख सुवेदीको भनाइ छ । उनले भने, ‘अहिले गुफा परिसरमा विभिन्न पूर्वाधार निर्माण भइरहेका छन् । पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले सक्दो पहलकदमी गर्दैआएको छ ।’
बिदाका दिनमा गुफाको अवलोकन गर्न दैनिक दुइ सयको हाराहारीमा पर्यटक घुम्न आउने गरेका छन् । गुफाभित्र तीन तलासम्म हिँड्डुल गर्न मिल्छ । गुफाको प्रत्येक तलामा आकर्षक चित्रहरू रहेका छन् । गुफाभित्र प्राकृतिक रुपमा बनेका विभिन्न आकृति देख्न सकिन्छ ।
गुफा नजिकै चमेरो गुफा पनि छ । चमेरो गुफा करिब तीन किलोमिटर लामो छ । चमेरो गुफाभित्र पातालगङ्गा रहेको छ । पाल्पा, स्याङ्जा, नवलपरासी र तनहुँ जिल्लाको व्यापारिक केन्द्र भिमाद बजारदेखि चार किलोमिटर पश्चिममा सिद्धगुफा पर्दछ । पृथ्वी राजमार्गको खैरेनीटारबाट सात किलोमिटर दक्षिणमा रहेको भिमाद बजारको पश्चिमतर्फ बगेको जिदीखोलामा पुगेपछि मिर्दी-भिमाद मोटरमार्ग र सिद्ध गुफा मोटरमार्ग छुटि्टन्छ । जिदीखोलाको किनार हुदै पश्चिम दिशातर्फगएपछि भिमाद-९ धन्दुर मरुवा चौतारी पुगिन्छ । यहीँबाट सिद्धगुफा क्षेत्र आरम्भ हुन्छ । सिद्ध गुफाको चारैतिर वनजङ्गल क्षेत्र छ । यहाँको मनोरम दृश्यले जो कोही पर्यटक पनि लोभिन्छन् ।










