मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल : एकीकृत जग्गा विकास आयोजना अन्तर्गत सम्भाव्यता अध्ययन

दमौली : चिसो मौसम सुरु भएसँगै तनहुँको प्रसिद्ध दृश्यावलोकन गन्तव्य मानुङकोट आन्तरिक पर्यटकले भरिन थालेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट सूर्योदयसँगै कुहिरोले ढपक्क ढाकेको दमौली बजार, सेता हिमाल, पहाडका तरेलीका साथै आसपासको दृश्य हेर्न अहिले दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् ।

तिहार बिदासँगै पछिल्ला दिनमा यहाँ दैनिक तीन सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । दमौलीका सोमबहादुर नेपालीका अनुसार, बिहानको कुहिरो र सूर्यको सुनौलो किरणले मानुङकोट पुग्ने जो कोहीलाई मोहित बनाउँछ । बन्दीपुरका सुदिन पौडेल भन्छन्, “दमौली बजार कुहिरोले धपक्क छोपिएको दृश्य हेर्नकै लागि मानुङकोट आउनुपर्ने हुन्छ ।”

मानुङकोट हिलटप होटलका सञ्चालक चुडामणि दाहालका अनुसार पछिल्लो एक सातादेखि पर्यटकको चाप उल्लेखनीय रूपमा बढेको छ । उनले भने, “पर्यटकहरू अघिल्लो दिनै बास बस्छन् र बिहान सूर्योदय र कुहिरोको दृश्य हेर्छन् ।”

पहाडी बस्ती विकासका लागि नगरको योजना

व्यास नगरपालिकाले मानुङकोटलाई पर्यटकीयग्रामको रूपमा विकास गर्ने पहल अघि बढाएको छ । नगरपालिकाले एकीकृत जग्गा विकास आयोजना अन्तर्गत पहाडी बस्ती विकास कार्यक्रम सुरु गर्न तयारी थालेको हो ।

आयोजनाका प्रमुख इञ्जिनियर रवीन्द्र मुलले भने, “पर्यटकीयग्रामका रूपमा मानुङकोटलाई नमूना बनाउन नगर विकास कोषको बजेटमा स्थलगत सम्भाव्यता अध्ययन भइरहेको छ ।”

व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ भन्छन्, “मानुङकोटको विशेषता नै जाडोयामको हो । जाडोमा यहाँको कुहिरो र सूर्योदयको दृश्य हेर्न विभिन्न ठाउँबाट सयौँ पर्यटक आउँछन् ।”

होटल व्यवसाय फस्टाउँदै, पुराना बासिन्दा फर्किँदै

पर्यटक आगमनसँगै मानुङकोटमा होटल व्यवसाय पनि तीव्र गतिमा फैलिएको छ । विगतमा होटल नदेखिने यस क्षेत्रमा अहिले एक दर्जनभन्दा बढी होटल सञ्चालनमा आएका छन् । मानुङकोटबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटक दुवैका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

पर्यटन व्यवसाय फस्टिँदै गएपछि पहिला खानेपानीको अभावमा गाउँ छाडेका बासिन्दा पनि फेरि मानुङकोट फर्केर व्यवसायमा जुट्न थालेका छन् । हाल बजारका प्रशोधित जार र ट्याङ्करको पानीले यहाँको आवश्यकता पूरा भइरहेको छ ।

पूर्वाधार निर्माणले पर्यटकीय सम्भावना बढायो

मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा अलैंचेदेखि मानुङकोटसम्म ४३ सय मिटर सडक कालोपत्र गरिएको र कठिन भूभागमा १८० मिटर आरसिसी ढलान गरिएको छ। नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने डाँडाको छेउमा रेलिङसहित पैदलमार्ग पनि तयार गरिएको छ ।

संघीय सरकारबाट चालु वर्षमा रु २ करोड बजेट विनियोजन भएपछि मानुङकोटमा खानेपानी पु¥याउने कार्य अगाडि बढेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेका अनुसार मानुङकोटको खानेपानी समस्या समाधानलाई प्राथमिकतामा राखिएको छ । स्थानीयलाई गाउँ फर्कने वातावरण बनाइँदैछ ।

पौराणिक कथासँग जोडिएको मानुङकोट

मानुङकोट र आसपासको क्षेत्र पौराणिक कथासँग पनि जोडिएको छ । धार्मिक किंवदन्ती अनुसार, पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न चाहँदा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराएको विश्वास रहँदै आएको छ । यही किंवदन्तीका कारण दमौली बजारलाई कुहिरोले ढाक्ने दृश्यलाई यहाँका बासिन्दाले “पौराणिक रहस्य”का रूपमा लिन्छन् ।

पहाडी सौन्दर्य, सूर्योदय र कुहिरोको अनुपम दृश्यले परिचित मानुङकोट अब योजनाबद्ध रूपमा पर्यटकीयग्रामका रूपमा विकसित हुँदैछ । पूर्वाधार विस्तार, खानेपानी व्यवस्था र पर्यटन–मुखी योजना कार्यान्वयन भएमा मानुङकोट तनहुँको अर्को आकर्षक गन्तव्य बन्ने अपेक्षा नगरपालिकाले लिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker