२०८औं भानुजयन्ती : उपेक्षामा साहित्यिक क्षेत्र, नेतृत्व बिहिन विकास समितिले बजेट समेत पाएन
भञ्ज्याङ समाचारदाता/भानु
आज असार २९ गते । आदिकवि भानुभक्त आचार्यको २०८औं जन्मजयन्ती । नेपाली भाषा र साहित्य क्षेत्रमा ठूलो गुन लगाएका आचार्यको जन्मस्थल चुँदीरम्घा उपेक्षामा पर्दै गएको छ। पछिल्लो समय असार २९ गते अर्थात भानुजयन्ती कर्मकाण्डी बनेको छ । भानु जन्मस्थल चुँदीरम्घामा अहिले न त कुनै साहित्यिक कार्यक्रमहरु हुन्छन् न त भानुभक्तले नेपाली भाषा र साहित्य फाँटमा पुर्याएको योग्दानकै चर्चा नै हुन्छ । यतिसम्मका भानुभक्तले रचना गरेका रामायणका श्लोकहरु सुनिना समेत छाडिएको छ । आदिकवि भानुभक्त आचार्यको नाम उचारण गरेपछि उनको जन्मस्थल चुँदी रम्घा सबैको मनस्पटलमा छाउँछ ।

वि.सं. १८७१ असार २९ गते पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा जन्मिएका भानुभक्तले नेपाली भाषा र साहित्यमा ठूलो योग्दान दिएका छन्। अध्यात्म-रामायणको भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारापे ण तथा भाषिक एकीकरण गरेका भानुभक्तको जन्मस्थल चुँदीरम्घा उपेक्षामा पर्दै भएको छ । हजारौं वर्षदेखि पूर्वीय साहित्यमा चर्चित रामायणको नेपालीमा पुनःजन्म गराउन सफल भानुभक्तले भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन लगायतका क्षेत्रमा योगदान पुर्याएर चर्चित बने ।
‘भर्जन्म घाँसतिर मन दिइ धन कमायो
नाम केही रहोस् भनेर कुवा खनायो
घाँसी दर्रि्र घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भैकन किन आज यस्तो……’
भानुभक्त आचार्यको ‘घाँसी’ शीर्षकको कविताको यो अंशले निकै चर्चा बटुल्ने गर्छ । कविताका पात्र घाँसीलाई घाँस काटेरै कुवा खनाउने समाजसेवीका रूपमा लिइन्छ । यीनै घाँसीको प्रेरणाबाट भानुभक्तले रामयणलाई नेपाली भाषामा अनुवाद गरी भाषिक एकिकरण गरेका थिए भनिन्छ । यसरी नेपाल र नेपालीलाई भषिक एकतामा बाँधेका थिए भानुभक्तले तर, उनको जन्मस्थल चुँदीरम्घा अहिले पहिचानको खोजीमा रुमलिन थालेको छ। हजारौं वर्षदेखि पूर्वीय साहित्यमा चर्चित रामायणको नेपालीमा पुनःजन्म गराउन सफल भानुभक्तले भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन लगायतका क्षेत्रमा योगदान पुर्याएर चर्चित बने । तर, यीनै व्यक्तिको जन्मस्थल चुँदीरम्घामा असार २९ गते कर्मकाण्डीका रुपमा सामान्य कार्यक्रम गरी स्मरण गरिने बाहेक अन्य कार्यक्रम प्रायः सुन्यनै हुन्छ । ‘केही वर्ष अगाडिसम्म त भानुभक्तले लेखेका रामायणका श्लोकहरु लय मिलाएर भनिन्थ्यो तर अहिले सुन्नै छाडिएको चुँदीका ६५ वर्षीय विकराम सुनार बताउँछन् ।

‘पहिला हप्ता दशदिन अगाडिदेखिनै भानुभक्तले रचना गरेका रामायणका श्लोक वाचन गरी जन्मोत्सव मनाउँदा चुँदीरम्घाको चमकधमक छुट्टै हुन्थ्यो । तर, अहिले न त कुनै साहित्यिक कार्यक्रम नै हुन्छन् न त भानुभक्तले नेपाली भाषा र साहित्य फाँटमा पुर्याएको योग्दानको चर्चा नै हुन्छ’ सुनारले भने, ‘७/८ वर्ष अगाडिसम्म विभिन्न साहित्यिक कार्यक्रमहरु हुन्थे, अहिले खै कता बिलाए भानुभक्तका ति श्लोकहरु – भारत, म्यानमार लगायतका देशहरुमा भानुभक्तको ठुलो चर्चा छ तर उनकै जन्मस्थल चुँदीरम्घा भने उपेक्षामा परेको छ । संघ, प्रदेश तथा स्थानीय सरकारले आदिकवि भानुभक्तको योगदानको कदर गर्न सकेनन्, उनका सन्ततीले पनि भुल्दै गए ।’
चुँदीरम्घामा असार २९ गते कर्मकाण्डीका रुपमा भानुलाई स्मरण गर्ने बाहेक अन्य कुनै कार्यक्रम हुन छाडेको स्थानीय उदयनाथ आचार्य बताउँछन् । ‘पहिला भानुजयन्तीका अवसरमा हप्तादिनदेखि छुट्टै चहलपहल हुन्थ्यो । विभिन्न कार्यक्रमहरु हुन्थे, टाँढाटाँढाबाट मानिसहरु आउँथे’, उनले भने, ‘अहिले भानुको जन्मस्थलमा कुनैपनि साहित्यिक कार्यक्रम हुँदैनन् । जन्मस्थल पनि नेतृत्व बिहीन छ । सरकारले एक मिटर सडक खन्न, कुवा निर्माणमा बजेट दिन्छ तर, सहित्यिक तीर्थस्थलको संरक्षण, प्रवर्द्धन तथा साहित्यिक कार्यक्रम गर्नका लागि कुनै बजेट दिएको देखिदैन ।
साहित्यिक क्षेत्र सरकारबाटै समेत उपेक्षामा परेको छ ।’ नेपाल र नेपालीलाई चिनाउन भानुले जुन योग्दान दिए त्यो योग्दानको कदर गर्न सरकार तथा सरोकारवाला निकायले आवश्यक चासो नदेखाउँदा अलपत्र बन्न पुगेको स्थानीय रामकुमार श्रेष्ठले बताए । उनले भने, ‘असार २९ गतेका दिन बाँध्यताले भानु जयन्ती मनाइन्छ, साहित्यिक गन्तव्यका रुपमा विकास गर्नुपर्छ भनि चर्का भाषण पनि गरिन्छ तर, उपलब्धी भने सुन्य छ । अहिलेसम्म डढेलोमा परेको भानुको जन्मघरपनि पुनःनिर्माण हुन सकेको छैन । अलिअलि बनेका भौतिक पूर्वाधार पनि संरक्षण हुन नसक्दा नासिन थालेका छन् ।’

‘बत्तिमुनिको अध्यारो जस्तै अवस्थामा अहिले भानु जन्मस्थल बनेको छ’, श्रेष्ठले भने, ‘पहिले कुन सरकार मातहत रहने भन्ने अलमल थियो अहिले संघ सरकार मातहतमा गएपछि विशिष्ट, साहित्यिक व्यक्ति र प्रशासनिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई यस समितिमा ल्याएर राजनीति भन्दा अलग्गै विकास समिति बनाउन सकिए यो ठाउँको विकास हुन्थ्यो की भन्ने हामी स्थानीयलाई लागेको छ ।’
आदिकवि तथा राष्ट्रिय विभूतिका नामबाट समेत सम्मानित भानुभक्त रामायणकै कारण विश्वभरका नेपाली भाषीमाझ लोकप्रिय छन् । यीनै नेपाली भाषा र साहित्यफाँटका उज्जवल नक्षेत्र आदिकवि भानुभक्त आचार्यको जन्मस्थलो बिकासका लागि नेपाल सरकारद्वारा २०५२ मा गठनआदेश नै गराएर भानु जन्मस्थल विकास समिति स्थापना गरिएको थियो । मुलुक संघीय संरचनामा गएपछि कुन सरकार अन्तरगत रहने भन्ने विवादमै रुमलिएपछि नेपाल सरकारद्वारा गठनआदेश २०७७ जारी गरी अहिले संघ सरकार मातहत रहने भनिएपनि अहिलसम्म विकास समिति नेतृत्व बिहिन अवस्थामा छ ।
त्यस्तै, गठन आदेश अनुसार आदिकवि भानुभक्त जन्मस्थल विकास समिति नामाकरण गरिएको छ । भानुभक्त र उनको जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चिनाउन र अन्य संरचनालाई निर्माण गरी साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लक्ष्यका साथ गठन गरेको समितिले लक्ष्य बामोजिमको काम गर्न नसकेको जन्मस्थल विकास समिति कार्यालयका पूर्वकार्यकारी निर्देशक शंकर रानाभाटले बताए ।

‘अहिले समिति पनि छैन, कार्यकारी र नासु नि छैनन्, एक खरिदार र दुइ जना कार्यालय सहयोगी मात्र छन्’, पूर्वकार्यकारी निर्देशक रानाभाटले भने, ‘पहिल समिति कुन सरकार मातहत रहने भन्ने अलमल थियो । अहिले संघीय सरकार मातहत गएपछि पनुः कर्मचारी दरबन्दी बढाउनुपर्ने आवश्यक छ । तर, आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको अवस्था दयनीय बन्दै गएको छ । स्थानीय सरकारले पनि जन्मस्थल विकासका लागि कुनै चासो देखाएको पाइदैन ।’
‘भानुभक्तको जन्मस्थल रहेको नगरपालिकाले अहिलेसम्म कुनैपनि साहित्यिक कार्यक्रम आयोजना गर्न नसकेको र साहित्यिक फाँट र भानु जन्मस्थल संरक्षणका लागि कुनैपनि बजेट विनियोजन गर्न सकेको छैन’, कार्यालयका खरिदार शिवभक्त रानाभाटले भने, ‘भानु नगरपालिकाले अहिले २५ हजार रुपैयाँ दिएकोमा त्यसैबाट सरसफाई र सामान्य रुपमा भानुजयन्ती मनाउने तयारी गरेका छौ, आवश्यक बजेट तथा नेतृत्व बिहिन हुँदा चुँदीरम्घा नै खण्डहरमा परिणत हुने खतरा बढेको छ ।’
‘शिखरकटेरीमा करिव ३ करोड रुपैयाँको लागतमा रामायण भवन निर्माण गरिएको छ, उनले भने, ‘समिति, कर्मचारी विहिन हुँदा त्यसको संरक्षण गर्ने कोही छैन । अहिले रामायण भवन खण्डर बनेको छ ।’

यस्तै, पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको पुनःनिर्माणका लागि शिलान्यास समेत गरेको थियो । वि.सं. २०७३ साल चैत २२ गते करिब ६८ लाख रुपैयाँको लागतमा भानुगृह निर्माण गर्ने गरी शिलान्यास गरेको थियो । तर, उक्त कार्य अहिलेसम्म अगाडि बढेको छैन । बनमा लागेको डढेलोले वि.सं. २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका क्रममा बनाइएको घर वि.सं २०६१ जेठमा जलेर अहिले खण्डहर बनेको छ । साहित्यिक पर्यटकीयस्थलका रुपमा विकास गर्न र उक्त ठाउँलाई भानुग्राम बनाउने उद्देश्यले मञ्चले गुरुयोजनासमेत बनाएको थियो ।
गुरुयोजन अनुसार भानुभक्तको घर दुइ तलाको हुनेछ । १० रोपनी क्षेत्रफलमा फैलिएको जग्गाभित्र भानुभक्तको घरसहित पोखरी, फूलबारी, घरबास धर्मशाला, संग्रहालय, भ्युटावर, चौतारी, रामायण भवन, पुस्तकालय, चमेना गृह, पाले घर, शौचालय लगायतका पूर्वाधार निर्माण गर्ने भनिएपनि हाल रामायण भवन निर्माण बाहेक अन्य कुनैपनि काम अगाडि बढेको छैन ।

यस्तै, भानु जन्मस्थल बिकासको आफ्नै लालपूर्जाको करिव १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माणाधिन अवस्थामा छ । वि.स. २००९ सालदेखि भानुजयन्ती मनाउन थालिएको भएपनि भानु जन्मस्थल चुँदीरम्घा अहिले उपेक्षामा परेको छ । पछिल्लो समय असार २९ गतेका दिन भानुको स्मरण कर्मकाण्डी जस्तै बन्दै गएको छ । यस वर्षभने विकास समिति, नगरपालिका तथा अन्य कुनै पनि निकायले व्यवस्थित रुपमा कार्यक्रम गर्ने तयारी गरेका छैनन् ।











