सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न आँवुखैरेनीको वीमादेखि स्कूल बससम्मका योजना
भञ्ज्याङ न्यूज

तनहुँको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य वीमाको सुविधा प्रदान गर्ने योजना अगाडि ल्याएको छ । यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो ।
जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउने निर्णय गरेको गाउँपालिकाले वडा नं ४, ५ र ६ का सामुदायिक विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन योजना बनाएको अध्यक्ष शुक्र चुमानले बताए ।
‘पहिलो चरणमा दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकता दिन लागेका छौं, उनले भने, ‘स्वास्थ्य वीमा गरेपछि नागरिकले रु एक लाख बराबरको निःशुल्क उपचार सेवा लिन सक्नेछन् ।’ स्वास्थ्य बीमा गर्दा प्रतिपरिवार तीन हजार पाँच सय रुपैयाँ शुल्क लाग्ने छ। स्वास्थ्य बीमा गरेपछि साथमा पैसा नहुँदा दुर्गम र गरिब परिवारले सहजरूपमा उपचार पाउने विश्वास गरिएको छ ।
सामुदायिक विद्यालय सुधार अभियान अन्तर्गत गाउँपालिकाले बाल विकासदेखि कक्षा ५ सम्मका छात्रछात्रालाई निःशुल्क ट्रयाकसुट, झोला, जुत्तामोजा तथा टिर्सट लगायका सामग्री वितरण थालेको अध्यक्ष चुमानले बताए ।
यसैगरी विद्यालय भवनमा गर्नुपर्ने सम्पूर्ण मर्मत, छाना, फ्लोरिङ, रङरोगन, डेस्क-बेन्च फेर्ने लगायतका कार्य यसै चैत मसान्तसम्म सम्पन्न गर्ने गरी काम थालिएको छ । कक्षा नर्सरीदेखि कक्षा २ सम्म स्मार्ट टिभी राखी सिकाइ सहजको व्यवस्था मिलाइने, घन्टौं हिँड्नुपर्ने केही विद्यालयलाई स्कुलबस हस्तान्तरण गरी समस्या समाधान गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए।
यस्तै, विषयगत शिक्षकको पर्याप्त दरबन्दी पठाउन गाउँपालिकाबाटनै आफ्नै स्रोतमा शिक्षक परिचालनका लागि आँबुखैरेनी क्याम्पसका युवा परिचालन गर्ने तयारी थालिएको छ। सामुदायिक विद्यालयको निरन्तर अनुगमन गरी गुणस्तरीय शिक्षामा योगदान गर्ने विद्यालयलाई प्रोत्साहन गर्ने लगायतका कार्यक्रम अगाडि ल्याएको उनले बताए ।
गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि पालिकाले रुपान्तरण योजना सुरुआत गरेको छ । निर्वाचित भएर आएदेखि नै शिक्षाको गुणस्तर वृद्धिका लागि के गर्न सक्छौ भनेर कार्ययोजना बनाएर लागेका र शिक्षाको गुणस्तर सुधारका लागि यसलाई मुख्य प्राथमिकता दिइएको अध्यक्ष चुमानले बताए ।
सिकाइ गुणस्तर योजना अन्तर्गत कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीको वार्षिक मूल्यांकन शिक्षण प्रतिवेदन अनुसार समस्याको पहिचान गरी समाधान तर्फपहल गरिनेछ । विषयगत पर्याप्त दरबन्दी पठाउन गाउँपालिकाबाट नै आफ्नै श्रोतमा शिक्षक परिचालन गर्ने योजना रहेको चुमानले बताए ।
गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीति ल्याउन लागेको चुमानले बताए ।










