तनहुँका १४ हजार थान राष्ट्रिय परिचयपत्र दराजमै थन्किए

राष्ट्रिय परिचयपत्र लिने मानिस नआउँदा १४ हजार थान राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालय तनहुँको दराजमै थन्किएका छन् । करिब सात महिना पहिले २०७६ देखि भरिएको राष्ट्रिय परिचयपत्र आए पनि मानिस लिन नआउँदा राष्ट्रिय परिचयपत्र दराजमै थन्किएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयमा १५ हजार थान राष्ट्रिय परिचयपत्र आए पनि हालसम्म जम्मा एक हजार तीन सय २५ जनाले मात्रै लगेको राष्ट्रिय परिचयपत्र शाखाका कम्युटर अपरेटर प्रताप पण्डितले बताए। परिचयपत्र लिन आउँदा पनि फाराम भर्दा जस्तै बायोमेटि्रक प्रणालीबाट रुजु गर्नुपर्ने र प्रणालीले नै सबै मिलेको जनाएपछि परिचयपत्र प्रदान गरिने उनले बताए ।
परिचयपत्र आएको बारेमा मोबाइल नम्बरबाट पनि जानकारी हुने पण्डितले बताए । ‘राष्ट्रिय परिचय पत्र लिन आउन पनि स्वयं व्यक्ति नै आएर पहिलेकै जस्तो दस्तखत भिडाउनुपर्छ’, कम्युटर अपरेटर पण्डितले भने, ‘२०७६ सालदेखि फारम भरेका अधिकांश विदेश गइसकेकाले पनि परिचयपत्र त्यसै थन्किएर बसेको होला भन्ने हाम्रो बुझाइ छ ।’
वैशाख दोस्रो साता मात्रै करिब ४० हजार थान राष्ट्रिय परिचयपत्र आइसकेको र केही दिनमा त्यो रुजु गरेर मात्रै सम्बन्धित व्यक्तिलाई प्रदान गरिने योजना रहेको दर्ता सहयोगी जमुना श्रेष्ठले बताइन् । राष्ट्रिय परिचयपत्र फारम भर्न र लिनकै लागि दैनिक दुइ जना कर्मचारी खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए।
बिहान १० बजेदेखि कार्यालय समयसम्म राष्ट्रिय परिचयपत्र फारम भर्ने र आएका परिचयपत्र लिने व्यवस्था गरिएको सहायक प्रजिअ भण्डारीले बताए । ‘हामीले राष्ट्रिय परिचयपत्र भर्न र लैजान सजिलो होस् भनेर कर्मचारी कार्यालय समयमा खटाउने गरेका छौं”, सहायक प्रजिअ भण्डारीले भने, ‘तर आएको परिचयपत्र लैजाने युवा नै यहाँ नभएकाले गर्दा दराजमै थन्किएको हुनसक्छ। आफ्नो परिचयपत्र रुजु गरेर लैजान सबैमा अनुरोध गर्दछौं ।’