तनहुँमा १४९ जना सक्रिय संक्रमित, ७७ जना होम आइसोलेसनमा, लापरवाही बढ्दो

भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा गत जेठ १८ गते पहिलो कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका थिए । भारतबाट आई स्थानीय तहले तयार गरेको क्वारेन्टिनमा बसेका ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय दैनिक जसो जिल्लामा संक्रमितहरु भेटिन थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको विवरणमा आइतबार साँझसम्म संक्रमितको संख्या ५६४ जना पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आइतबार सार्वजनिक गरेको विवरणमा पनि तीन जना संक्रमण पुष्टि भएको छ ।
स्थानीय तहमध्ये सबैभन्दा धेरै कोरोना संक्रमित व्यास र शुक्लागण्डकी नगरपालिका छन भने आँबुखैरेनी गाउँपालिकामा संक्रमितको संख्या कम देखिएको छ । हालसम्म व्यासमा ४७ महिला र ९५ पुरुष गरी १४२ र शुक्लागण्डकीमा ३१ महिला र ५५ पुरुष गरी ८६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तैगरी भानु नगरपालिकामा १८ महिला र ६८ पुरुष गरी ८६, भिमाद नगरपालिकामा ३ महिला र २८ पुरुष गरी ३१, म्याग्दे गाउँपालिकामा १० महिला र २४ पुरुष गरी ३४, घिरिङ गाउँपालिकामा ३ महिला र ३४ पुरुष गरी ३७, रिसिङ गाउँपालिकामा ६७ पुरुष, देवघाट गाउँपालिकामा ५ महिला र १८ पुरुष गरी २३, बन्दीपुर गाउँपालिकामा ८ महिला र ३० पुरुष गरी ३८ र आँबुखैरेनी गाउँपालिकामा ६ महिला र १४ पुरुष गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये आइतबार साँझसम्म ४१० जना निको भएर घर फर्किएको स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराएका छन् । जिल्लामा अहिले १४९ जना संक्रिय संक्रमित रहेको प्रमुख अधिकारीले बताए । उनले भने, ‘जिल्लाका १० पालिकामध्ये व्यास र शुक्लागण्डकीमा सबैभन्दा बढी संक्रिय संक्रमित रहेका छन् । व्यासका ७० र शुक्लागण्डकीका ३३ जना संक्रिय संक्रमित स्थानीय तहले निर्माण गरेको आइसोलेशन तथा कोही होम आइसोलेसनमा बसेका छन् ।’

त्यस्तै, भानुमा ७, भिमादमा ८, म्याग्देमा १, घिरिङमा ५, रिसिङमा ६, देवघाटमा ७, बन्दिपुरमा ८ र आँवुखैरेनीमा ४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
जिल्लाका १० वटै स्थानीय तहमा गरी ९ हजार ३०५ जनाको नमुना संकलन गरिएकोमा ८ हजार ४५६ जनाको रिपोर्ट नेगेटिभ आएको र २८८ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।
त्यस्तै, संक्रिय संक्रमितमध्ये ६९ जना स्थानीय तहले निर्माण गरेको आइसोलेशनमा छने भने ७७ जना आवश्यक सावधानी अप्नाई पालिका/वडाको न्रि्रानीमा होम आइसोलेशनमा बसेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
जहाँ छौँ तेही चाडपर्व मनाऔँ : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ लाई समान्य रुपमा नलिन अपिल गरेको छ मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले हालसम्म पनि कोभिड-१९ रोकथामसम्बन्धी भ्याक्सिन पत्ता नलागेको अवस्थामा त्यसलाई सामान्य रुपमा नलिन र तत्काल यसको नियन्त्रण सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी आफैँ सचेत भएनौँ भने अवस्था अझै जटिल आउन सक्छ, त्यसैले हामी जो जहाँ छौँ सचेत बनौँ सुरक्षित रहौ।’
उहाँले कोरोना संक्रमण नेपालको शहर र घना वस्तीमा फैलिरहेको बताउँदै त्यस्ता ठाउँहरुमा भिडभाड कम गर्नुपर्नेमा जोड दिनुभयो । प्रवक्ता गौतमले चाडपर्व नजिकिंदै गरेको सर्न्दर्भमा किनमेल गर्न जाँदा सावधानी अपनाउन, अनिवार्य मास्क प्रयोग गर्न, अनिवार्य रुपले सावुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा कोभिड-१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालन गर्न पनि अपिल गरिएको छ । मन्त्रालयले सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घर परिवारका व्यक्तिबाहेक अन्य व्यक्तिसँग भेटघाट कम गर्नसमेत सबैलाई अपिल गरेको छ । उहाँले भन्नुभयो, ‘सरकारले पटकपटक अपिल गर्दै आएको छ, यसपालिको चाडपर्वमा बाहिर आवतजावत नगरौँ जहाँ छौँ तेही मनाऔँ ।’










