विद्युत आयोजना प्रभावितलाई सिलाइ मेसिन वितरण

दमौली : तनहुँ जलविद्युत आयोजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्ययोजना र जीविकोपार्जन पुनःस्थापना कार्यक्रम अन्तर्गत प्रभावित समुदायलाई सिलाइ मेसिन वितरण गरिएको छ ।
ऋषिङ गाउँपालिका–१ का आयोजना प्रभावित महिलालाई लक्षित गर्दै वडा कार्यालयले उपलब्ध गराएको छ महिने सिलाइकटाइ तालिम सम्पन्न गरेका २५ जनालाई आयोजनाले प्रत्येकलाई एक–एक वटा सिलाइ मेसिन हस्तान्तरण गरेको हो । बुधबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त सामग्री वितरण गरिएको थियो ।
आयोजना प्रमुख श्यामजी भण्डारीले यस्तो कार्यक्रमले स्थानीय महिलाको सीप विकाससँगै आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘आयोजनाले केवल भौतिक पूर्वाधार निर्माणमा मात्र होइन, प्रभावित समुदायको जीवनस्तर उकास्न पनि प्राथमिकता दिएको छ । तालिमसँगै आवश्यक उपकरण उपलब्ध गराउँदा सहभागी महिलाले तत्कालै आफ्नो सीपलाई आयआर्जनमा रूपान्तरण गर्न सक्नेछन् ।’
भण्डारीका अनुसार, आयोजना प्रभावित क्षेत्रका नागरिकलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको हो । उनले भने, ‘जीविकोपार्जन पुनःस्थापना योजनाअन्तर्गत स्थानीय स्रोत र सीपलाई उपयोग गर्दै आयका वैकल्पिक अवसर सिर्जना गर्नु हाम्रो लक्ष्य हो ।’










