दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी : “पीडित भन्छन्- आगलागीले गरिखाने बाटो जलायो”

आगलागी नियोजित हुन सक्ने पीडित र स्थानीयको आशंका

सविन लामिछाने/तनहुँ

व्यास नगरपालिकाको आँगनमै रहेको टहरामा आईतबार मध्यराती भीषण आगलागि भयो । क्षणभरमै कराडौंको सम्पत्ती जलेर नष्ट भयो। त्यही टहरामा व्यापार गरी जीविकोपार्जन गर्दै आएकी दमौलीकी राधा सिग्देलको जीविकोपार्जन गर्ने आधार पनि जलेर क्षणभरमै खरानी भयो ।

व्यास-४ की सिग्देलले २४ वर्षदेखि उक्तस्थानमा जिल्ला समन्वय समिति तनहुँको जग्गा भाडामा लिएर फलफूल व्यवसाय गर्दै आएकी थिईन् । उक्त व्यवसायबाटै उनले आफनो ४ जनाको परिवारको लालनपालन गर्दै आएकी थिइन् । आईतबार मध्यराती भएको आगलागीबाट उनको जीविकोपार्जन गर्ने आधार पनि जलेर खरानी भएको छ । उनले भनिन्, ‘यहि व्यवसाय गरेर आफ्ना छोराछोरी हुर्काए, बढाए, पठाउँदै छु । अहिले यहि गरिखाने आधार जलेर खरानी भयो । अब म के गरौ -‘

उनि मात्र होईन व्यास-१ का केहरसिं आलेले सोही ठाउँमा सञ्चालन गर्दै आएको मोबाईल पसल पनि जलेर खरानी भयो । ‘हामी त अब बेरोजगार भयौ । के गर्ने अब, गरिखाने थलो नै यहि थियो, त्यो पनि आगोले छिनभरमा जलाएर खरानी बनायो’, उनले दुखेसो पोखे ।

उक्त आगलागीबाट उनिहरु जस्तै २१ जना अन्य व्यवसायिहरुको धनमाल जलेको छ । जिल्ला समन्वय समिति तनहुँको स्वामित्वमा रहेको उक्त जग्गामा निर्माण गरिएका २४ वटा सटर आगलागीले पूर्ण रुपमा नष्ट भएका छन् । आलेले भने, ‘दमौलीमा आगलागीका घटना पटक-पटक हुने गरेपनि यस्ता समस्या न्यूनिकरणका लागि सरोकारवाला निकाय कानमा तेल हालेर बसेका छन् । अर्थतन्त्र खस्किएको बेला आगलागीले हामीलाई बिचल्ली बनाएको छ ।’

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपिलराज बोहराका अनुसार आगलागीबाट करिब ७ करोड ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उनले भने, ‘कमजोर संरचना र विद्युतीय चुवावट्का कारण आगलागी भएको पाईयो । समयमा नै आगो नियन्त्रणमा आएकाले अन्य क्षेत्रमा आगो फैलन पाएन ।’ उनका अनुसार राती करिब १२:४५ बजेबाट लागेको आगो विहान ३:४५ बजेतिर नियन्त्रणमा आएको थियो ।

तनहुँ जलविद्युत आयोजना, मुग्लिन-पोखरा सडक योजना र व्यास नगरपालिकाका दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरी प्रमुख बोहराले बताए। सुरुमा व्यास नगरपालिकाको दमकलले मात्र आगो निभाउन ढिलाइ भएपछि थप पसलहरुमा आगो फैलिएको थियो । आइसक्रिम पसल, मोवाइल पसल, पुस्तक पसल, फलफूल पसल, मादक पदार्थ पसलमा आगलागी हुँदा ठूलो क्षति भएको छ ।

यस्तै, विपत् व्यवस्थापन समितिले आगलागीको घटनाको विषयलाई लिएर सोमबार साँझ दमौलीमा आयोजना गरेको र्सवदलीय बैठककमा पीडित पक्षले टहरा पुनः निर्माण गरी व्यवसाय गर्ने वातावरण बनाइदिनुपर्ने माग गरेका छन् । आगलागि पीडित सरोकारवाला समितिका संयोजक बादल आलेले आगलागी भएको ठाउँमा सरसफाई गरी टहरा पुनः निर्माण गर्न माग गरिएको बताए ।

तर, यता जिल्ला समन्वय समिति तनहुँ भने टहरा पुनःनिर्माण गर्ने मुडमा छैन । र्सवदलीय बैठकमा समन्वय प्रमुख शान्तिरमण वाग्लेले उक्त ठाउँ व्यास नगरपालिकालाई भाडामा दिने तयारी भएकाले टहरा पुनः निर्माण गर्ने योजना नरहेको बताए । उनले भने, ‘अहिले टहराबाट उठ्ने गरेको भाडाकै दररेटमा नगरपालिकालाई सो जग्गा उपभोग गर्न दिने निर्णय भएको छ ।’

व्यास नगरपालिकाले सोही टहराको आडमा बहुउद्देश्यीय भवन निर्माण गर्नका लागि समन्वयसँग उक्त जग्गा भाडा लिन खोजेको छ । नगरपालिकाले निर्माण गर्न लागेको बहुउद्देश्यीय भवनका विषयमा स्थानीय व्यवसायीहरुले विरोध गर्दै आएका छन् ।

आगलागी पीडित, स्थानीय व्यवसायी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले यो आगलागी योजनावद्ध रुपमा भएको समेत आरोप लगाएका छन् । उक्त र्सवदलीय बैठकमा सहभागि नेकपा एमाले तनहुँका नेता प्रतापलाल श्रेष्ठले आगलागीको घट्नाले नगरप्रमुख बैकुण्ठ न्यौपानेले अगाडि ल्याएको व्यास नगरपालिकाको वहुउद्देश्यीय भवन निर्माण गर्ने योजनालाई अगाडि बढाउन सहयोग गरेको आरोप लगाएका छन् । उनले भने, ‘जहाँ नगरपालिकालाई जग्गा चाहिएको छ, त्यहाँ आगलागी भएको छ । मलाई थाहा छैन आगो कसरी लाग्यो तर, यो आगलागीले नगरप्रमुख न्यौपानेको योजनालाई अगाडि बढाउन सहयोग गरेको छ ।’

नेकपा एकीकृत समाजवादीका नेता मंगलप्रसाद श्रेष्ठले नगरपालिकालाई जग्गा दिनका लागि जिल्ला समन्वय समितिले व्यवसायीहरुलाई हटाउन चाहेको थियो, अहिले आगलागीको घटनाले त्यो कार्यलाई बल पुगेको आरोप लगाए । उनले भने, ‘नगरपालिकाले आफ्नो बहुउद्देश्यीय भवनको मोहोडा उक्त स्थानलाई बनाउनका लागि समन्वयसंग जग्गा माग गरिरहेको अवस्थामा भएको यो आगलागिको घटनाले अर्को शंका पैदा गरेको छ।’

नेकपा माओवादी केन्द्रका नेता अतिन्द्रकेश्वरी न्यौपानले आगलागीको घटना कतै योजनावद्धत होइन भन्ने प्रश्न खडा भएको बताए । ‘नगरपालिकाको आँगनमै रहेका टहरामा आगलागी भएको छ, आगो नियन्त्रणका लागि पनि जिम्मेवारीपूर्ण रुपमा तत्काल काम नभएको गुनासो आएको छ । आगलागीमा परी गरिखानेहरुको आधार जलेको छ’, उनले भने, ‘दमौलीमा पटक पटक यस्ता आगलागीको घटना घट्दै आएका छन् । घटनापछि नगरपालिकाले यस्ता घटना नदोहोरिनका लागि कुनै पनि काम अगाडि बढाएको देखिदैन । यो घटना पनि शंकास्पद देखिएको छ ।’

बैठकमा सहभागि राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका संयोजक विश्वानाथ बास्तोलाले यस्ता विपदका घटना नियन्त्रण तथा न्यूनिकरणका लागि सरोकारावाल निकायहरु बीच आवश्यक समन्वयको अभाव देखिएको बताए । उनले भने, ‘दमौलीको मुटुमा भएको आगलागी नियन्त्रणमा देखिएको ढिलासुस्तिमा सरोकारवाला निकाय बीच नै समन्वय र आवश्यक जनशक्ति परिचालनको अभाव देखियो ।’

प्रमुख जिल्ला अधिकारी जनार्दन शर्माले नगरपालिकासंग उपलब्ध दमकल सानो भएकाले आगलागी समयमै नियन्त्रणमा लिन नसक्दा क्षति बढि भएको देखिएको बताए ।

यस्तै, नगरप्रमुख बैकुण्ठ न्यौपानले आगलागिको घटना मध्यरातिमा भएका कारण तत्काल नियन्त्रणमा खट्टनका लागि समस्या भएको र क्षतिको पूर्ण विवरण आएपछि यथोचित राहत तथा क्षतिपूर्ति व्यवस्थापनका लागि पहल गर्ने बताए ।

तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्र र तनहुँ उद्योग वाणिज्य संघ बजार इकाइ सभापति सुकनारायण मल्लले विज्ञप्ति जारी गरी आगलागीबाट नष्ट भएका संरचना पुनःनिर्माण गरी व्यवसाय सञ्चालनमा सहयोग गर्न आग्रह गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker