पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पहल सुरु, निर्देशक समिति गठन

भञ्ज्याङ समाचारदाता/काठमाडौं

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकारी एवं निजी क्षेत्रले पहल सुरु गरेका छन्। विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्न पर्यटन मन्त्रालयले पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरेको छ ।

मंगलबार समितिले अहिलेसम्म गरेका प्रयासबारे जानकारी गराएको छ । जस अनुसार पर्यटकलाई होटलमा २० प्रतिशत छुट दिने निर्णय गरिएको छ । पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपाल (हान)ले संस्थागत निर्णय गरी २० प्रतिशतसम्म होटलको कोठा भाडामा पर्यटकहरुलाई छुट दिने निर्णय गरेको जानकारी मन्त्रालयलाई दिएको छ ।

साथै, विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा लाग्ने भाडामा छुट दिन पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समितिले आन्तरिक वायुसेवा कम्पनीलाई अनुरोध गरेको थियो । यसमध्ये बुद्ध एअर र यती एअरलाइन्सले छुट दिने प्रतिवद्धता सहित सूचना जारी गरेका छन् ।

पर्यटन उद्योगको पुनरुत्थान, नयाँ सम्भावनाको खोजि, पहिचान तथा प्रवर्द्धन गर्न तथा यस क्षेत्रमा लगानीको वातावरण तयार गरी रोजगारी सिर्जनाका लागि सरोकारवालासँग समन्वय तथा सहकार्य गरी नीतिगत राय, परामर्श र सल्लाह सुझाव उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री प्रेम आलेको अध्यक्षतामा २ माघमा निर्देशक समिति गठन भएको हो ।

यस्तै, मन्त्रालयका अनुसार कोभिड-१९ संक्रमण घट्दो क्रममा रहेको अवस्थालाई मध्यनजर गरी नेपाल सरकार मन्त्रिपरिषदबाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश, २०७८ लाई परिमार्जन गरी यात्रा सम्वन्धी मापदण्डलाई थप सरलिकरण गर्न सीसीएमसीसीलाई सिफारिस गरिएको छ ।

निर्देशक समितिले सिफारिस गरेको नीतिगत राय, परामर्श र सल्लाह सुझाव बमोजिम कार्यक्रम तयार गरी कार्यान्वयन गर्न राजाराम गिरीको संयोजकत्वमा पर्यटन क्षेत्र पुनरुत्थान प्रविधिक समिति समेत गठन गरिएको छ ।

पर्यटन क्षेत्र पुनरुत्थान प्रविधिक समितिको २४ माघको निर्णय अनुसार पर्यटन उद्योग सम्बन्धी सात वटा विषयगत क्षेत्रमा आवश्यक तयारी गरी सुझाब दिन छुट्टाछुट्टै कार्य समूह तथा प्रदेश स्तरबाट सल्लाह सुझाब लिन मधेश, गण्डकी, लुम्विनी र सुदुरपश्चिम प्रदेशहरुको प्रदेश प्रतिनिधि समेत तोक्ने निर्णय गरेको छ ।

आगामी १ महिनाभित्र पर्यटन क्षेत्रका सरोकारवालहरु समावेश गरी एक बृहत अन्तरक्रिया कार्यक्रम काठमाडौंमा आयोजना गरिने र अन्तरक्रियाबाट प्राप्त सुझाव समेत समावेश गरी पर्यटन क्षेत्रको पुनरुत्थानको विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गरिने समेत बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker