राष्ट्रिय परिचयपत्रका लागि भीड नगर्न तनहुँ प्रशासनको आग्रह सामाजिक सुरक्षा भत्ता नवीकरण भदौ मसान्तसम्म गर्न सकिने

जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्रको विवरण संकलनका लागि भीडभाड नगरिदिन आग्रह गरेको छ । कार्यालयले बुधबार प्रेस विज्ञप्ती जारी गरी तोकिएको समयभित्रै सबै सेवाग्राहीलाई सेवा प्रवाह गर्ने सम्बन्धमा के गर्न सकिन्छ भनी छलफल र तयारी भइरहेको उल्लेख गरेको छ ।
प्रशासकीय अधिकृत विकास श्रेष्ठले जारी गरेको विज्ञप्तीमा आज सेवा नलिए भोलि सेवा लिन पाइँदैन भन्ने धारणा नराखी सेवा प्राप्त गर्न पर्याप्त समय बाँकी रहेकाले स्वभाविक ढंगले सेवा प्राप्त गर्न आउन र्सवसाधारणहरुमा अनुरोध गरिएको छ । साउन महिनाभित्र सबै सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरिसक्ने गरी काम भइरहेकाले हतारिएर भीडभाड गर्नुपर्ने अवस्था नरहेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा साविकमा दुइ वटा संकलन केन्द्रमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुँदै आएकामा हाल तीन वटा संकलन केन्द्र थप गरी जिल्ला प्रशासन कार्यालयमा चार वटा संकलन केन्द्रमार्फत र देवघाट गाउँपालिकाको केन्द्रबाट एक वटा संकलन केन्द्र समेतबाट गरी पाँच वटा संकलन केन्द्रमार्फत सेवा प्रवाह भइरहेको जनाइएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २०८१ साल साउन महिनादेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा विवरण संकलनका लागि वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्ति लगायतको भीड दैनिकजसो बढिरहेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विवरण संकलनको कार्यलाई सहज बनाउन पालिकागत रुपाम बार निर्धारण गर्ने विषयमा छलफल गरिएको बताए ।
यस्तै, गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार एक सूचना जारी गर्दै सामाजिक सुरक्षा भत्ता नवीकरण २०८१ भाद्र मसान्तसम्म गर्न सकिने जनाएको छ । सूचनामा परिचयपत्रमा विवरण दर्ता गर्न छुट भएका व्यक्तिहरुले आफ्नो वडा कार्यालयसंग सम्पर्क गरी अभियानको समयमा वा आफ्नो समय अनुकूल नजिकको जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा विवरण दर्ता गर्नुहुन अनुरोध गरेको छ ।
विभागले पहिलो चरणमा तनहुँ सहित २८ जिल्लामा आगामी श्रावण १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकोले विभागबाट ती जिल्लाहरुमा विवरण दर्ताका लागि जनशक्ति समेत थप गरी स्थानीय तहसंगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले पालिका/वडास्तरमा अभियान सञ्चालन मार्फत विवरण दर्ता गर्ने कार्य गर्दै आएको छ ।

यस्तै विभागका महानिर्देशक युवारज कटेलद्वारा बुधबार जारी सूचनामा बालबालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० भन्दा माथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्रमा विवरण दर्ता नभएपनि सामाजिक सुरक्षा भत्ता लिन वाधा नपर्ने बताइएको छ ।










