दुई दिने बिदा : सिकाइमा अवसर कि बढ्दो जोखिम ?

शिवदत्त चापागाई

नेपालको विद्यालय शिक्षामा हालै सुरु गरिएको दुई दिने साप्ताहिक बिदा नीतिले शिक्षाजगत मात्र होइन समग्र समाजमा गहिरो बहस जन्माएको छ । यो बहस केवल समय व्यवस्थापनको प्रशासनिक निर्णयमा सीमित छैन यसले शिक्षाको दर्शन, सिकाइको प्रकृति, विद्यार्थीको मनोविज्ञान, सामाजिक संरचना र शैक्षिक समानतासम्मका बहुआयामिक प्रश्नहरू उठाएको छ। त्यसैले यो विषयलाई ‘सिकाइमा सुधार’ वा ‘सिकाइमा ह्रास’ भन्ने सरल ध्रुवीकरणमा बुझ्न सकिँदैन ।  यसलाई शिक्षाको आधुनिक दृष्टिकोण र नेपाली सामाजिक यथार्थबीचको अन्तर्सम्बन्धका रूपमा विश्लेषण गर्न आवश्यक छ ।

१. परम्परागत शिक्षाको संरचना र यसको सीमितता

नेपालको विद्यालय शिक्षा लामो समयदेखि परम्परागत ढाँचामा आधारित रहँदै आएको छ। ‘विद्यालय नै ज्ञानको केन्द्र हो’ भन्ने धारणा आज पनि व्यापक रूपमा स्थापित छ। कक्षाकोठामा शिक्षकले दिएको पाठ्यसामग्री नै सिकाइको मूल स्रोत मानिन्छ। यसले सिकाइलाई संरचित बनाएको भए पनि यसको दायरा सीमित बनाएको छ। यस्तो अवस्थामा दुई दिने बिदा थपिँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ के विद्यार्थीले विद्यालय बाहिर सिक्न सक्छन् ? के उनीहरूको सिकाइ निरन्तर रहन्छ वा विच्छेद हुन्छ?
आधुनिक शिक्षाशास्त्रले सिकाइलाई विद्यालयसम्म मात्र सीमित राख्दैन। व्यजल म्भधभथ जस्ता शिक्षाविद्हरूले सिकाइलाई जीवन अनुभवसँग जोडेर हेर्छन्। Piaget र Vygotsky का सिद्धान्तहरूले पनि सिकाइलाई सामाजिक अन्तरक्रिया र अनुभवमा आधारित प्रक्रिया मान्छन्। यस अर्थमा सिकाइ कक्षाकोठाभन्दा बाहिर पनि निरन्तर चलिरहने प्रक्रिया हो। दुई दिने बिदा यही दृष्टिकोणअनुसार हेर्दा अवसर पनि हुन सक्छ र जोखिम पनि। यो पूर्ण रूपमा यसको व्यवस्थापनमा निर्भर हुन्छ। दार्शनिक सुकरातले भनेका थिए शिक्षा केवल जानकारी दिने प्रक्रिया होइन, बरु चेतनाको दियो बाल्ने प्रक्रिया हो। यही दृष्टिकोणबाट हेर्दा दुई दिने बिदा केवल समय कटौती होइन सिकाइको स्वरूप परिवर्तन गर्ने सम्भावना बोकेको नीति हो ।

२. सिकाइको निरन्तरता र मनोवैज्ञानिक पक्ष

बालमनोविज्ञानका दृष्टिले सिकाइमा निरन्तरता अत्यन्त महत्वपूर्ण हुन्छ। विशेष गरी प्रारम्भिक कक्षाका विद्यार्थीहरूमा पुनरावृत्ति (repetition) र अभ्यास (practice) बिना सिकाइ स्थायी हुन सक्दैन। लामो अन्तरालले स्मरणशक्ति कमजोर बनाउने सम्भावना रहन्छ। दुई दिने बिदाले साना विद्यार्थीहरूमा सिकाइ अवरोध ल्याउन सक्छ। विशेषगरी गणित, विज्ञान जस्ता निरन्तर अभ्यास आवश्यक पर्ने विषयहरूमा विद्यार्थीहरू पछि पर्न सक्छन्। कमजोर विद्यार्थीहरूको लागि यो झनै चुनौतीपूर्ण हुन्छ किनकि उनीहरूलाई अतिरिक्त अभ्यास र मार्गदर्शनको आवश्यकता बढी हुन्छ। यही मनोविज्ञानको अर्को पक्ष पनि महत्वपूर्ण छ । लगातार अध्ययनले मानसिक थकान, तनाव र एकाग्रता घटाउने समस्या सिर्जना गर्न सक्छ। विश्राम सिकाइको अभिन्न हिस्सा हो । जब विद्यार्थी विश्रामपछि कक्षामा फर्कन्छन् उनीहरूको ध्यान, सिर्जनशीलता र ग्रहणशीलता बढ्ने सम्भावना हुन्छ। यसरी हेर्दा बिदा केवल ‘समयको कटौती’ होइन, ‘मानसिक पुनःऊर्जा’ को अवसर हो ।

३. सिकाइलाई जीवनसँग जोड्ने सम्भावना

दुई दिने बिदाको सबैभन्दा सकारात्मक पक्ष यसको ‘जीवनमुखी सिकाइ’ (life-based learning) को सम्भावना हो। नेपालजस्तो ग्रामीण र अर्ध–शहरी संरचना भएको देशमा विद्यार्थीहरू घर, समाज र समुदायबाट धेरै कुरा सिक्न सक्छन्। कृषिप्रधान परिवारका विद्यार्थीहरूले खेतबारीमा काम गर्दा प्राकृतिक विज्ञानका आधारभूत अवधारणा बुझ्न सक्छन्। बीउ रोप्ने, पानी व्यवस्थापन गर्ने, मौसमको प्रभाव हेर्ने जस्ता क्रियाकलापले विज्ञानलाई व्यवहारिक बनाउँछ। गणितीय सोच पनि समय, दूरी, उत्पादन र मापनमा प्रयोग हुन्छ। त्यस्तै बजार, व्यापार र घरायसी लेनदेनले उनीहरूलाई आर्थिक साक्षरता (financial literacy) प्रदान गर्छ। संवाद, सहकार्य र जिम्मेवारीले सामाजिक सीप विकास गर्छ। यसरी बिदा केवल ‘फुर्सद’ होइन ‘अनुभवात्मक सिकाइको प्रयोगशाला’ बन्न सक्छ।

४. सामाजिक असमानताको गहिरो प्रश्न

दुई दिने बिदा सबै विद्यार्थीका लागि समान अवसर होइन। सम्पन्न परिवारका विद्यार्थीहरूका लागि बिदा अध्ययन विस्तार, अतिरिक्त कक्षा, पुस्तक पढ्ने, इन्टरनेट प्रयोग गर्ने र सिर्जनात्मक गतिविधिमा संलग्न हुने अवसर हुन सक्छ। तर विपन्न परिवारका विद्यार्थीहरूको अवस्था फरक हुन्छ। उनीहरू प्रायः घरायसी काम, साना मजदुरी, पशुपालन र अन्य जिम्मेवारीमा संलग्न हुन बाध्य हुन्छन्। उनीहरूको ‘फुर्सद’ वास्तवमा फुर्सद होइन, श्रम हो। यसले सिकाइमा असमानता बढाउन सक्छ। सम्पन्न विद्यार्थीहरू अझ अगाडि बढ्ने, विपन्न विद्यार्थीहरू अझ पछाडि पर्ने जोखिम उत्पन्न हुन्छ। यसरी शिक्षा प्रणालीले नै शिकाइमा खाडल बढाउने अवस्था सिर्जना गर्न सक्छ। यदि राज्यले यस असमानतालाई सम्बोधन गर्न सकेन भने दुई दिने बिदा समावेशी शिक्षा (inclusive education) को लक्ष्यसँग विरोधाभासमा जान सक्छ ।

५. डिजिटल युग र विचलनको चुनौती

आजको समय डिजिटल युग हो। मोबाइल फोन, सामाजिक सञ्जाल र इन्टरनेट विद्यार्थीहरूको जीवनको अभिन्न हिस्सा बनेका छन्। बिदाको समयमा यी माध्यमहरूको प्रयोग झन् बढ्ने गर्छ। यसको दुई पक्ष छन्। एकातिर डिजिटल माध्यम सिकाइको शक्तिशाली साधन हो। अनलाइन पाठ्यसामग्री, भिडियो लेक्चर, शैक्षिक एप्स र अनुसन्धान सामग्रीले सिकाइलाई समृद्ध बनाउन सक्छ। अर्कोतिर यसको अनियन्त्रित प्रयोगले ध्यान विचलन, लत (addiction), समयको दुरुपयोग र मानसिक स्वास्थ्यमा समस्या ल्याउन सक्छ। धेरै विद्यार्थीहरू बिदाको समयमा मनोरञ्जनमा मात्र सीमित हुन सक्छन्। यसैले डिजिटल साक्षरता (digital literacy) अहिलेको प्रमुख आवश्यकता हो।

६. विद्यालय र शिक्षकको नयाँ भूमिका

दुई दिने बिदा लागू भएपछि विद्यालयको भूमिका केवल æकक्षा सञ्चालनÆ मा सीमित रहन सक्दैन। विद्यालयले सिकाइलाई कक्षाबाहिर विस्तार गर्ने रणनीति अपनाउनुपर्छ । विद्यार्थीहरूलाई प्रोजेक्ट कार्य, अवलोकनात्मक अध्ययन, घरमा आधारित प्रयोगात्मक अभ्यास र समुदायसँग जोडिएका गतिविधि दिन सकिन्छ। यसले उनीहरूलाई स्वतन्त्र सिकाइ (elf-directed learning) तर्फ प्रेरित गर्छ। शिक्षकको भूमिका पनि परिवर्तन हुनुपर्छ उनीहरू केवल ज्ञान दिने व्यक्ति होइन, मार्गदर्शक (facilitator) बन्नुपर्छ ।

७. अभिभावकको भूमिका र सीमितता

बिदाको प्रभावकारिता धेरै हदसम्म अभिभावकमा निर्भर हुन्छ। अभिभावकले बच्चाको समय व्यवस्थापन, अध्ययनको निरन्तरता र व्यवहारिक सिकाइमा मार्गदर्शन गर्न सक्छन्। यथार्थमा सबै अभिभावकसँग समय, ज्ञान र शैक्षिक चेतना हुँदैन। धेरै अभिभावक आफ्नै आर्थिक संघर्षमा व्यस्त हुन्छन्। यसले घरमा सिकाइ वातावरण कमजोर बनाउँछ। यसैले विद्यालय, समुदाय र राज्यले अभिभावक सशक्तीकरण कार्यक्रम सञ्चालन गर्न आवश्यक छ।

८. नीतिगत दृष्टिकोण र राज्यको जिम्मेवारी

दुई दिने बिदा सफल बनाउन केवल निर्णय पर्याप्त हुँदैन। स्पष्ट शैक्षिक नीति आवश्यक हुन्छ। सरकारले यसलाई “learning extension policy” को रूपमा परिभाषित गर्नुपर्छ। समुदायस्तरमा पुस्तकालय, सिकाइ केन्द्र, बाल क्लब र अतिरिक्त क्रियाकलाप केन्द्रहरू स्थापना गर्न सकिन्छ। ग्रामीण क्षेत्रमा विशेष सहयोग कार्यक्रम आवश्यक हुन्छ। शिक्षक तालिम, डिजिटल पहुँच विस्तार र शैक्षिक सामग्रीको उपलब्धता सुनिश्चित गर्नुपर्छ।

९. दीर्घकालीन प्रभाव र सम्भावना

यदि सही रूपमा कार्यान्वयन गरियो भने दुई दिने बिदाले शिक्षा प्रणालीलाई लचिलो, व्यवहारिक र जीवनमुखी बनाउन सक्छ। विद्यार्थीहरू केवल परीक्षामुखी नभई जीवनोपयोगी सीपयुक्त बन्न सक्छन्। तर व्यवस्थापन कमजोर रह्यो भने यसले सिकाइमा गिरावट, असमानता वृद्धि र डिजिटल विचलन बढाउन सक्छ ।

१०. निष्कर्षः अवसर र जोखिमबीचको सन्तुलन

दुई दिने बिदा न त पूर्ण रूपमा वरदान हो न त पूर्ण रूपमा अभिशाप। यो एक अवसर हो, जसले शिक्षालाई जीवनसँग जोड्ने सम्भावना बोकेको छ। तर त्यही अवसरलाई गलत व्यवस्थापनले जोखिममा बदल्न सक्छ। त्यसैले आजको मुख्य प्रश्न ‘बिदा राम्रो कि नराम्रो?’ होइन। मुख्य प्रश्न हो ‘हामी यसलाई कसरी व्यवस्थापन गर्छौं?’ यदि शिक्षा प्रणाली, विद्यालय, अभिभावक र राज्यबीच समन्वय स्थापित हुन सकेमा दुई दिने बिदा नेपालको शिक्षामा गुणात्मक परिवर्तन ल्याउन सक्छ। यदि यसलाई केवल प्रशासनिक सुविधा मानियो भने यसले विद्यमान शैक्षिक असमानता अझ गहिरो बनाउन सक्छ। अन्ततः शिक्षा केवल विद्यालयको घण्टीभित्र सीमित प्रक्रिया होइन जीवन नै सिकाइ हो ।
(लेखक जनज्योति क्याम्पस, भिमाद, तनहुँका सहप्राध्यापक हुन्)
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker