कुहिरो हेर्न मानहुँकोटमा पर्यटकको आगमन बढ्यो
भञ्ज्याङन्यूज

चिसो मौसम सुरु भएसंगै तनहुँको सदरमुकाम दमौली बिहानका समयमा कुहिरोले ढपक्कै ढाकिन थालेको छ । सेतो कुहिरोको सिराकले दमौली बजार लगायत आसपासको क्षेत्र ढाकिएपछि मानहुँकोटबाट निकै आकर्षक र मनमोहक देखिने गर्दछ । पछिल्लो केही वर्षदेखि चर्चामा रहेको तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँकोटमा विशेष गरी कुहिरो हेर्नकै लागि पर्यटकको आवागमन हुने गरेको छ ।
मनहुँकोटबाट दमौलीसहित आसपासको क्षेत्रमा लाग्ने कुहिरो, सूर्योदय, उत्तरतर्फ सेता चाँदीजस्तै टल्कने हिमश्रृंखलाका साथै पहाडका तरेली हेर्नका लागि मानहुँकोटमा पर्यटक पुग्ने गर्दछन् । समुन्द्री सतहदेखि करिब एक हजार दुइ सय मिटर उचाइमा अवस्थित मानहुँकोट सदरमुकाम दमौली बजारबाट करिब आठ किलोमिटर दूरी उचाइमा पर्दछ ।
जाडोयाममा कुहिरोले दमौली बजार ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक यहाँ आउने गरेका छन् । टाढाटाढाबाट आउने पर्यटकहरु सूर्योदय हेर्नका लागि अघिल्ला दिनमै होटलमा बास बस्न आउन गरेको होटल व्यवसायी चूडामणि दाहालले बताए।
बस बस्न आउने पर्यटकले साँझको सूर्यास्तका साथै भोलिपल्ट बिहानको सूर्योदयको मनोरम दृश्य हेरेर भरपुर मनोरञ्जन लिने गररेको उनले बताए । दमौली बजार आसपासका बासिन्दा सूर्योदय हेर्न त्यहाँ पुग्ने गर्दछन् छन् । अन्य दिनको तुलनामा बिदाको दिन अझ बढी मानिसको भीड लाग्ने गर्दछ ।
मानहुँकोटका होटलमा बास बस्ने पर्यटकको माग दैनिक तीन सयदेखि चारसयसम्म हुने गरेपनि मुस्किलले १५० जनासम्म व्यवस्थापन गर्न सकिएको स्थानीय होटल व्यवसायीहरु बताउँछछन् ।
पानीको चरम अभावका कारण कतिपय पर्यटक सदरमुकाम दमौलीमा गएर बास बस्ने गर्दछन् । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानहुँकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । हाल उक्त क्षेत्रमा व्यावसायिक रुपमा करिब एक दर्जनको हाराहारीमा होटल सञ्चालन हुँदै आएका छन् । उक्त क्षेत्रमा जाने सडक कालोपत्र र खानेपानीको राम्रो व्यवस्था गर्न सकिए पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा होटल व्यवसायीको रहेको छ ।
मानहुँकोटमा प्रहरी चौकी स्थापना गर्न स्थानीयवासीले माग राखेका छन् । पर्यटन प्रवर्द्धनका लागि मानहुँकोट प्रचुर सम्भावना बोकेको पर्यटकीयस्थल भएको व्यास-५ वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ बताउँछन् । पानीको समस्यालाई समाधान गर्न सोही वडाको सिर्दिबाट पानी लिफ्ट गर्न रु दुइ करोड बजेट विनियोजन भइसकेको व्यास नगरपालिकाले जनाएको छ । तिहारलगत्तै पानीको व्यवस्थाका लागि प्रक्रिया अघि बढाइने वडाध्यक्ष श्रेष्ठले बताए ।
“दैनिक सात सयदेखि एक हजारको हाराहारीमा पर्यटक घुम्न आउने गरेका छन्”, उनलेभने, “पर्यटकको सहजताका लागि आठ किमीमध्ये करिब पाँच किमी सडकमा कालोपत्र गरिसकिएको छ ।”
बाँकी सडकमा कालोपत्र गर्न व्यक्तिको जग्गा विवादका कारण रोकिएकाले छलफलका माध्यमबाट सहमतिको प्रयास भइरहेको उनले बताए । मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै होटलहरु खुल्ने क्रम पनि बिस्तारै बढ्दै गएको पाइन्छ ।
व्यास नगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष सहिद दिवसका दिन मानहुँकोटबाट पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगितासमेत गर्दै आएको छ । मानहुँकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु हिमाललगायत हरियाली डाँडाकाँडा र समथर फाँटको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।