भानुले बालविकास केन्द्रदेखि कक्षा ६ सम्मका बालबालिकालाई रकम थप गरी दिवाखाजा खुवाउने

भानु । तनहुँको भानु नगरपालिकाले बालविकास केन्द्रदेखि कक्षा ६ सम्मका बालबालिकालाई दिवाखाजा उपलब्ध गराउने भएको छ । संघीय सरकारले कक्षा ५ सम्मका बालबालिकालाई मात्र दिवाखाजाको व्यवस्था गरेकोमा नगरपालिकाले कक्षा ६ का बालबालिकालाई पनि दिवाखाजा उपलब्ध गराउने भएको हो ।
नेपाल सरकारबाट सशर्त कार्यक्रमको रुपमा बालबालिकाको भर्नादरमा वृद्धि, विद्यालयमा निरन्तरता, पोषण अवस्थामा सुधार र शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने उद्देश्यले संघीय सरकारबाट प्राप्त विद्यालयमा दिवा खाजा कार्यक्रम अन्तर्गत बाल विकास केन्द्रदेखि कक्षा ५ सम्मका बालबालिकाका लागि दिवा खाजा उपलब्ध गराइएको थियो ।
यस कार्यक्रममा प्रति विद्यार्थी प्रतिदिन १५ रुपैयाँका  दरले कुल १८० दिनको रकम निकासा भई आएकोमा भानु नगरपालिकाको १४औं नगरसभाबाट यस कार्यक्रममा नगरपालिकाको आन्तरिक स्रोतबाट साविक दिवा खाजा कार्यक्रममा पाँच रुपैयाँका  दरले रकम थप गर्ने तथा कक्षा ६ सम्म विस्तार गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी गराए ।
नगर शिक्षा अधिकारी पौडेलका अनुसार नगरपालिकाले अब बाल विकास केन्द्रदेखि कक्षा ६ सम्मका बालबालिकालाई प्रतिदिन प्रति विद्यार्थी २० रुपैयाँका दरले दिवा खाजा खुवाउने व्यवस्था मिलाउने भएको छ ।
‘बालबालिकालाई खाजा खुवाउँदा भानु नगरपालिकाबाट उपलब्ध गराइएको दिवा खाजाको मेनुलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने र सो बमोजिम भएको छ छैन यस सम्बन्धमा विद्यालय व्यवस्थापन समितिबाट प्रभावकारी अनुगमन सुपरीवेक्षण तथा आवश्यक सल्लाह सुझाव तथा निर्देशन दिनुपर्ने छ’, उनले भने, ‘दिवा खाजा कार्यक्रम आर्थिक वर्ष २०८१/०८२ को श्रावण १ देखि आषाढ मसान्त सम्मको अवधिसम्म वार्षिक कुल १८० दिनको मात्र सुविधा उपलब्ध हुनेछ ।’
दिवाखाजा कार्यक्रमका लागि भानु नगरपालिकाबाट उपलब्ध गराइएको भान्साका सामग्री (भाँडाकुँडा) प्रयोग गरी विद्यालयमा नै खाजा बनाउनु पर्ने, दिवा खाजा बनाउँदा बालबालिकाको स्वास्थ्य, अर्गानिक खाना, स्थानीय कच्चापदार्थ तथा उत्पादनलाई विशेष प्राथमिकता र सरसफाइलाई ध्यान दिनु पर्ने व्यवस्था गरिएको छ ।
परिवर्तित सन्दर्भमा भानु नगरपालिकाबाट सरोकारवालाहरुको उपस्थितिमा दिवा खाजाको मेनु परिमार्जन गरिने भएकाले परिमार्जन भएपछि सोको बारेमा जानकारी गराइने र त्यतिन्जेलसम्मका लागि पूर्ववत् मेनु नै कार्यान्वयन गराउन विद्यालयहरुलाई जानकारी गराइएको नगर शिक्षा अधिकारी पौडेलले बताए ।
बालबालिकाको स्वास्थ्य र पोषण अवस्था, विद्यार्थी भर्नामा बढोत्तरी र पढाइमा निरन्तरता एवं शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्ने उद्देश्यले जनचाहना बमोजिम निर्णय गरेको बताइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker