आँबुखैरेनीको छिम्केश्वरीमा नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण अभियान

तनहुँको सबैभन्दा अग्लो स्थान आँबुखैरेनीको छिम्केश्वरीमा नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण अभियान थालिएको छ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर आसपास लालीगुराँस संरक्षण अभियान सुरुआत गरिएको हो ।

कास्कीका ढाकाराम लामिछानेको सक्रियतामा छिम्केश्वरीमा लालीगुराँसका बिरुवा रोपिएको छ । यसक्रममा ११ प्रजातिका ७० बिरुवा रोपिएको लामिछानेले जानकारी दिनुभयो । ‘लालीगुराँस फुलाऔँ, पर्यटक बोलाऔँ : हाम्रो अभियान आगन्तुकको प्रोत्साहन’ भन्ने मूल नारा सहित छिम्केश्वरीमा लालीगुराँसको बिरुवा रोपण गरिएको उहाँले बताउनुभयो ।

उहाँले कास्की जिल्लाको २३ ठाउँमा लालीगुराँसका बिरुवा रोपिसक्नुभएको छ । विगत छ वर्षदेखि लालीगुराँस संरक्षणमा लाग्नुभएका उहाँले पहिलोपटक कास्कीको ठूलोकोटमा लगाएको लालीगुराँस फुल्न थालेको जानकारी दिनुभयो ।

“नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षणका लागि निकै कम चासो रहेको पाएपछि यसको संरक्षणका लागि लागेको हूँ,” उहाँले भन्नुभयो, “लालीगुराँस संरक्षण गर्ने काम नेपालमा नभएपछि त्यसतर्फ झुकाव राखेको काम गर्दै आएको छु ।”

उहाँका अनुसार हालसम्म सात हजार आठ सय लालीगुराँसका बिरुवा रोपिसकिएको छ । अहिले रोपिएको लालीगुराँस पाँचदेखि सात वर्षसम्म फुल्छ । अहिलेसम्म ९० प्रतिशत बिरुवा सार्न सफल भइएको उहाँले बताउनुभयो । “नेपालका सबै ठाउँमा पुग्छु भन्ने लक्ष्य राखेको छु, मुख्य उद्देश्य भनेको लालीगुराँसको संरक्षण गर्नुपर्छ भन्ने नै हो”, उहाँले भन्नुभयो ।

उहाँले यस वर्ष तेह्रथुमबाट आठ सय बिरुवा खरिद गरी ल्याउनुभएको छ । हालसम्म खर्चको व्यवस्थापन आफैँले गर्दै आएको उहाँले बताउनुभयो । “रोप्नुमात्रै ठूलो कुरा होइन, संरक्षण गर्नु ठूलो कुरा हो । जहाँ जहाँ रोपिएको छ, त्यहाँका स्थानीयवासीसँग सहकार्य गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । नेपालमा ३२ प्रजातिका लालीगुराँस रहेको छ ।

छिम्केश्वरीमा लालीगुराँस संरक्षण अभियानमा आँबुखैरेनी गाउँपालिकाले साथ दिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याललगायतले लालीगुराँसको बिरुवा रोपण गर्नुभएको छ । यस ठाउँमा लालीगुराँस पार्क निर्माण गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष चुमानले जानकारी दिनुभयो । लालीगुराँस संरक्षण गर्दै लालीगुराँस हेर्न आँबुखैरेनी जाऔँ भन्ने बनाइने उहाँले बताउनुभयो ।

छिम्केश्वरीको हावापानी लालीगुराँस फूलका लागि उपयुक्त छ । आँबुखैरेनीमा प्रत्येक वर्ष लालीगुराँस फूल्ने गरेको छ । प्रसिद्ध छिम्केश्वरी मन्दिर पनि रहेकाले यहाँ बर्सेनि सर्वसाधारणको आवतजावत वृद्धि भइरहेको छ ।

समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ । विशेष गरी होली र नयाँवर्षको अवसरमा छिम्केश्वरी र बूढीमाईको दर्शन गर्न भक्तजनको भीड हुने गर्दछ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker