प्रथम लाङ्घाली मगर समाज एकान्त कुना भलिबल कपको उपाधि शुक्लागण्डकी-१२ ले जित्यो
भञ्ज्याङ समाचारदाता/खैरेनीटार

प्रथम लाङ्घाली मगर समाज एकान्त कुना भलिबल कप २०७८ को उपाधि शुक्लागण्डकी नगरपालिका-१२ ले जितेको छ। मंगलबार खैरेनीटारमा भएको फाइनल खेलमा भिमाद नगरपालिका-४ लाई ३-१ सेटले पराजित गर्दै शुक्लागण्डकी-१२ ले उपाधि कब्जा गरेको हो ।
शुक्लागण्डकीले शुरुका दुइ सेट लगातार २५-१४ र २५-२१ को स्कोरमा जित्यो । तेस्रो सेटमा उत्कृष्ट खेल प्रस्तुत गर्दै भिमादले २५-१८ को स्कोरले खेल आफ्नो पक्षमा पार्यो । निकै प्रतिष्पर्धात्मक बनेको चौथो सेटमा भने शुक्लाागण्डकी-१२ ले २५-२१ ले पराजित गरी उपाधि उचाल्न सफल भयो ।
उपाधि विजेता शुक्लागण्डकी-१२ ले नगद ६० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता भिमादले ४० हजार पैयाँसहित शिल्ड मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
यस्तै, तेस्रो स्थान हाँसिल गरेको स्याङ्जाको चापाकोट नगरपालिका-४ ले २५ हजार र सान्त्वना भएको नवलपुरको बौद्धिकालिकाले १० हजार पाएको छ । तेस्रो स्थानका लागि भएको खेलमा चापाकोटले बौद्धिकाली गाउँपालिका-२ लाई ३-१ को सेटमा पराजित गरेको थियो। चापाकोटले २५-१८, २१-२५, २८-२६ र २५-२२ को स्कोरमा पराजित गरेको हो ।
भलिबल कपमा विधागततर्फ शुक्लागण्डकी-१२ का विवेक ठकुरी बेस्ट प्लेयर घोषित भए । उनले नगद एक हजार पाँच सय रुपैयाँ र कप मेडल, प्रमाणपत्र पाए । त्यस्तै, शुक्लागण्डकी-१२ कै अशोक ठकुरी बेस्ट सेटर, भिमाद-४ का सुर्य राना बेस्ट स्पाइकर, चापाकोट-४ का किसन गुरुङ बेस्ट ब्लकर, बौदिकाली-२ का आशिष श्रेष्ठ बेस्ट सर्भर, भिमाद-४ का विकास थापा बेस्ट डिफेन्डर घोषित भए । उनीहरुले जनही एक हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र हात पारे ।
विजेता खेलाडीलाई भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापा मगरले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा नगरप्रमुख थापाले खेलले मगर समुदायको पहिचान बढाएको र आपसी सम्बन्धलाई पनि बलियो बनाएको बताए । उनले खेलकुदलाई हार र जितको रुपमा नलिन खेलाडीहरुलाई सुझाव दिदै आफ्नो खेल कौशलतालाई थप निखार्दै र तिखार्दै अगाडी बढ्न आग्रह गरेका थिए ।
लाङ्घाली मगर समाज एकान्त कुनाका अध्यक्ष रामबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिका-६ का वडाध्यक्ष कृष्णबहादुर पौडेल, वडा सदस्य बुद्धिबहादुर थापा, नेपाल मगर संघ तनहुँका उपाध्यक्ष खड्क सिं थापा मगर, उपाध्यक्ष देवी थापा, सदस्य पहलसिंह थापा लगायतले बोलेका थिए । गत मंसिर २४ गतेबाट सुरु भएको भलिबल कपमा तनहुँ, स्याङजा र नवलपुरका गरी १२ टोलीले सहभागिता जनाएको थियो ।










