घरवासको आकर्षण कोदोको “सेलरोटी”

अलि पहिल्यै गाउँघरमा प्रचलित कथन थियो, ‘चामल खाने धनी, कोदो खाने गरिब’ । गरिबको खान्की भनेर चिनिँदै आएको अन्न कोदोका परिकारप्रति पछिल्लो समय धनीको आकर्षा बढ्न थालेको छ । अहिले होटल, रेष्टुँरा तथा घरवासमा पुगेका पर्यटकले कोदोको परिकार खुब मिठो मानेर खान थालेका छन् भने घरवास सञ्चालक कुनै दिन गरिबको खानाको रूपमा चिनिएको कोदोका परिकार बनाएर मनग्य आम्दानी लिन थालेका छन् ।

सामान्यतयाः कोदोको ढिडो, रोटी खाना र खाजाको रूपमा प्रयोग गरिन्छ । बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरवासमा भने कोदोको सेलरोटी प्रमुख आकर्षाका रूपमा छ । बर्खामा आलु र हिउँदमा कोदोको ढिडो र सेलरोटी घरवासको विशेष आकर्षणको रूपमा राखिएको छ । घरवास पुग्ने पाहुनाले चामलको सेल रोटी खाएको भए पनि कोदोको सेल नखाएको भन्दै खुब रुचाउँदै खाने गरेको घरवास सञ्चालक बताउँछन् । कोदोको सेलरोटीले आगन्तुक पाहुनालाई निकै लोभ्याउँदो रहेछ । आगन्तुक पाहुनाले कोदोको ढिडो, कोदोको सेलरोटी, फापरको परिकार, उसिनेका आलु, सिल्टुमरको चटनी, आलु चिप्स, आलु अचार, आलु रोटीलगायतका परिकारले आन्तरिक तथा बाहृय पाहुनाको मन जित्ने गरेको घरवास सञ्चालक माया र्घर्तीले बताउनुभयो ।

उच्च पहाडी गाउँको चिसो स्थानमा पाइने कोदो र आलु स्वादिलो हुने भएकाले पाहुनाले कोदो र आलुका विभिन्न परिकारका स्वाद निकै मिठो मानेर खाने गरेको बेलढुङ्गा सामुदायिक घरवासका सचिव गोपाल श्रीसले जानकारी दिनुभयो । “आगन्तुक पर्यटक र पाहुनालाई उनीहरूको इच्छाअनुसार खुवाउने चलन भए पनि हाम्रोमा कोदोको सेल र उसिनेको आलु अनिवार्य छ”, श्रीसले भन्नुभयो, “आलु र कोदोको परिकारलाई नै मुख्य आकर्षा बनाएका छौँ, जसमध्ये कोदोको सेलरोटी र उसिनेको आलु प्रमुख परिकारका रूपमा लिइएको छ ।”

सामान्यतया सेलरोटी चामलको पिठोबाट बनाउने भए पनि ओखलेका महिलाले कोदोको पिठोबाट सेलरोटी बनाउने गरेका छन् । जुन अलि पृथक र फरक स्वादको रूपमा घरवासमा आएका पाहुनाले खाने गरेका छन् । कोदोको सेल निकै फरक र स्वादिष्ट रहेको घरवास पुग्नुभएका बागलुङ बजारका मनकुमारी केसीले बताउनुभयो । कोदोको सेल र आलुको परिकारले बागलुङका अन्य घरवासको तुलनामा बेलढुङ्गा घरवासको छुट्टै पहिचान दिन सफल भएको आन्तरिक पर्यटक दीपक गौतमले बताउनुभयो ।

घरवासमा दोस्रोपटक आउने पाहुनाले सिधै आलु र कोदोको सेल रोज्ने गरेको घरवासका सञ्चालिका माया श्रीसले बताउनुभयो । घरवासमा आयातित खाद्य सामग्रीलाई निषेध गरी स्थानीयस्तरमा उत्पादित खानाका परिकारलाई विशेषरूपमा प्रवर्द्धन गर्ने स्थानीयवासीको योजना छ । गाउँकै मुख्य बालीको रूपमा उत्पादन हुने आलु, कोदो, सिन्की, कुखुरा, खसी, साग तथा फापरको व्यावसायीकरण र अन्य उत्पादनलाई समेत प्रवर्द्धन गर्न अब गाउँलाई अर्ग्यानिक भिलेजका रूपमा स्थापित गर्ने योजनासमेत बनाइएको घरवासका सञ्चालक श्रीसको भनाइ छ ।

कोदोको सेलरोटी र आलुको परिकारसँगै सिस्नोको खोले, फापरको पिठो, मकै, भटमास, बाँकाको सिन्की लगायतका परिकारको समेत स्वाद लिन सकिन्छ । हाल एक रातमा ५० जना आरामदायीरूपमा बस्न मिल्ने गरी १२ घरमा घरवास व्यवस्थित गरिएको घरवास सञ्चालक उमा श्रीसले जानकारी दिनुभयो । बागलुङको धम्जा ओखले र म्याग्दीको भकिम्लीको सीमामा अवस्थित दुइ हजार ६०० मिटर उचाइमा रहेको पर्यटकीयस्थल बेलढुङ्गाको अवलोकनका लागि आन्तरिक पर्यटक बढ्दै गएपछि दुइ वर्ष अघिदेखि घरवास सञ्चालनमा ल्याइएको थियो । बेलढुङ्गामा सूर्योदय, हिमाल र सुन्दर मनोरम प्राकृतिक दृश्यावलोकन गर्न पर्यटक आउने गरेका छन् ।

घरवासमा आउने पाहुनाको स्वागत सत्कारका लागि गण्डकी प्रदेश सरकारको रु १० लाख र काठेखोला गाउँपालिकाको रु एक लाख सहयोगमा २०० क्षमताको सामुदायिक भवनसमेत निर्माण गरिएको छ । जसमा पाहुनालाई सामूहिकरूपमा नाचगानसहित स्वागत सत्कार गरिनेछ । त्यसपछि खाना र आवासका लागि घरघरमा व्यवस्था छ । गाउँ पुगेका पाहुनालाई परम्परागत झाँकी, सालैजो, ठाडोभाका, यानीमाया लगायत मौलिक गीत-सङ्गीत र नाच देखाउने गरिन्छ । पछिल्लो समय घरवासलाई समेत प्रवर्द्धन गर्ने गरी बागलुङ नगरपालिकाको पञ्चकोटबाट संसारकोट, कारिकोट, थाप्लेको धुरी, कान्छो धवलागिरि हुँदै धम्जा र म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको सिमानामा समेत पर्ने बेलढुङ्गा चढ्ने गरी पदमार्ग निर्माण थालनी गरिएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker