मुग्लिन–पोखरा सडक योजना : पश्चिम खण्डको म्याद सकिंदा ३० प्रतिशत काम, चिनियाँ ठेकदारले माग्यो थप १५ महिना

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्ड अन्तर्गत आँवुखैरेनी–पोखरा खण्डलाई पूर्वी (आँवुखैरेनी–जामुने) र पश्चिम (जामुने–पोखरा) खण्डलाई दुई भागमा विभाजन गरी सडक विस्तार कार्य भइरहेको छ। सडक विस्तारका लागि चिनियाँ निर्माण कम्पनी र सरकारबीच भएको सम्झौताअनुसार यी दुवै सडक खण्ड निर्माण अहिलेसम्म सकिइसक्नुपर्ने थियो । तर आँवुखैरेनी–जामुने (पूर्वी खण्ड) मा ६४ र जामुने–पोखरा (पश्चिम खण्ड)मा ३० प्रतिशत काम भएको बताइएको छ ।
मुग्लिन–पोखरा सडक खण्डलाई ४० देखि ६० किलोमिटर प्रतिघण्टाको दूरीमा गाडी गुडाउन मिल्ने गरी ६ लेन र ४ लेनको सडकको ठेक्का दुई चिनियाँ कम्पनीले पाएका थिए । समयमा निर्माण नसक्दा यात्रुले सास्तीमात्रै भोगेका छैनन्, गण्डकी प्रदेशको पर्यटन सहित अर्थतन्त्रमा समेत प्रभाव पारेको छ ।
मुग्लिनदेखि तनहुँको जामुनेसम्मको ४१ किलोमिटर पूर्वी खण्डको लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग २०७७ साल माघ १७ गते ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८१ साल वैशाखसम्म निर्माण सक्नुपर्ने थियो । पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्मको निर्माणको जिम्मेवारी चिनकै यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रसनले पाएको छ। २०७८ जेठ २ गते भएको ७ अर्ब ४० करोड ४६ लाखमा सम्झौता अनुसार यही भदौभित्र काम सक्नुपर्ने थियो । तर निर्माणले गति लिएको छैन ।
पछिल्लो पटक पूर्वी खण्डको म्याद १५५ दिन थपिएको छ भने पश्चिम खण्डको १०१ दिन म्याद थप भएको छ । कोरोना भाइरस महामारीमा काम रोकिएको भनेर म्याद थपिएको पश्चिम खण्ड योजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिए । थपिएको समय अवधिमा पनि काम नसकिने निश्चित छ ।
चिनियाँ निर्माण कम्पनीले खानेपानीको पाइप, बिजुलीका पोल तथा तार व्यवस्थापनको काम बेलैमा नगरिदिएका कारण ढिला भएको भन्दै अझै थप समय पाउनुपर्ने माग गरिराखेको छ ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक आयोजनाका साथै स्थानीय तहका जनप्रतिनिधिलाई राखेर गरेको छलफलमा पनि ठेकदार कम्पनीले मापदण्ड कार्यान्वयनका साथै स्थानीय तहले उठाउने निकासी करका कारण समयमै काम सक्न नसकिएको कम्पनीको दाबी छ।
पश्चिम खण्डको ठेक्का पाएको चिनियाँ कम्पनी कन्ट्र्याक्टक म्यानेजर चेन योङले शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिकाले बेग्लाबेग्लै घाट राखेर निर्माण सामग्रीको कर लिँदा पनि समस्या भएको गुनासो गरे । बर्षामा निर्माण सामग्री निकाल्न असहजता भएकाले पनि निर्माण प्रभावित भएको उसको भनाइ छ। सरकारले समन्वय गरिदिने हो भने अबको १५ महिनाभित्र काम सक्ने उनको प्रतिवद्धता छ ।
यस्तै, मुख्यमन्त्री सुरेन्द्र पाण्डेले भने निर्माण सुस्त हुँदा चिनियाँ कम्पनीमाथि नै प्रश्न उठिरहेकाले छिटो गर्न आग्रह गरे । गण्डकी प्रदेशकै लाइफलाइनको रुपमा परिचित राजमार्ग निर्माण धिमा हुँदा चौतर्फी असर पारेको जिकिर गर्दै तत्काल समस्या समाधान गरेर काम तीव्र पार्न आग्रह गरे । छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्ण पण्डितले आयोजनासम्बन्धी समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
सडकका कारणले पोखराले प्रत्यक्ष मार खेपेको बताउँदै प्रमुख आचार्यले निर्माण छिटो सक्न जुनसुकै सहयोग गर्न तयार रहेको बताए । उनले निर्माण सामग्री संकलन गर्नुका साथै भण्डारण गर्ने स्थानसमेत उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
तनहुँ र कास्कीका प्रमुख जिल्ला अधिकारी समेत उपस्थित छलफलले दोहोर कर हटाएर प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी रकम नघट्ने गरी निर्माण सामग्रीमा कानुन बमोजिम एकमुष्ट रोयल्टी लिने निर्णय गरेको छ ।
सडक क्षेत्रका बिजुलीका पोलहरु विद्युत प्राधिकरणले तत्काल स्थानान्तरण गर्ने, चाडपर्वको समय नजिकिएकाले सडक क्षेत्रमा खाल्टाखुल्टी पुरेर आयोजना कार्यालयले सवारी आउजाउ सहज बनाउने निर्णय बैठकले गरेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गेटदेखि सेती नदीपुलसम्म बिजुली तार भूमिगत गर्ने कार्य तत्काल गरी दुई लेन सडक तत्काल निर्माण गर्ने, निर्माण सामग्रीबारेमा सम्बन्धित पालिकाले स्रोत जान्न पाउने निर्णय छ ।
‘बत्ती काट्ने समयको सूचना प्रकाशन गरी पोखरा–भरतपुर भूमिगत विद्युतिकरण आयोजनाको तर्फबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेटदेखि सेती नदी पुलसम्म बिजुली तार भूमिगत गर्ने कार्य भदौ मसान्तसम्ममा सम्पन्न गर्ने र तत्पश्चात आयोजनाको तर्फबाट उक्त क्षेत्रमा यथाशीघ्र न्यूनतम दुई लेन सडक निर्माण कार्य सम्पन्न गर्ने गराउने’, सरोकारवालाको बैठकले निर्णय गरेको छ ।
निर्माण सामग्री प्रशोधनका लागि निर्माण गरिएको प्लान्टमा संकलन हुने निर्माण सामग्रीहरुको सम्बन्धमा सम्बन्धित पालिकाले स्रोत जान्न चाहेको बखतसामग्रीको स्रोत सम्बन्धित पक्षले प्रमाणित गर्नुपर्ने निर्णय पनि उनीहरुले गरेका छन् । मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा साढे पाँच सय कर्मचारीले काम गरिरहेको निर्माण कम्पनीले जनाएको छ ।










