अल्पसंख्यक र विपन्नको स्वास्थ्य बीमा गराउँदै तनहुँका स्थानीय तह

भञ्ज्याङ न्यूज

तनहुँका स्थानीय तहले अल्पसंख्यक र विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएका छन् । जिल्लाका विभिन्न पालिकाले चालु आर्थिक वर्षमा त्यस्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएका हुन् ।

देवघाट गाउँपालिकाले अल्पसंख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाको चालु आवमा अल्पसंख्यक जातिको बीमा गर्नका लागि बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने बोटे, बराम र चेपाङ परिवारको स्वास्थ्य बीमा गरिदिने गाउँपालिकाका अध्यक्ष तीलबहादुर थापाले जानकारी दिनुभयो । त्यस्ता परिवार पहिचान गरी बीमा गर्नका लागि रु तीन लाख ५० हजार विनियोजन गरिएको छ । ‘अल्पसंख्यक परिवारको संख्या पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गरिदिन्छौँ’, उनले बताए ।

गाउँपालिकाले सीमान्तकृत तथा आर्थिक सामाजिक रुपले पछाडि परेको भुजेल जातिको आयआर्जन वृद्धिका लागि पनि रु चार लाख बजेट विनियोजन गरेको छ। व्यास नगरपालिकाले विपन्न नगरवासीको स्वास्थ्य बीमा गरिदिने भएको छ । विपन्न नगरवासी र स्वास्थ्य बीमा नभएका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्न लागिएको हो । सबैलाई स्वास्थ्यको पहुँचमा ल्याउन र बीमा गर्न नसक्ने विपन्न परिवारलाई नगरपालिकाका तर्फाट बीमा गरिने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए ।

जिल्लाकै आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयको प्राथमिक तहअन्तर्गत निश्चित वर्गका विद्यार्थीका अभिभावकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । प्राथमिक तहमा अध्ययन गर्ने विपन्न बालबालिकाका अभिभावकको स्वास्थ्य बीमा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

बन्दिपुर गाउँपालिकाले पनि स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गर्ने भएको छ । सबै जनतालाई स्वास्थ्यको पहुँचमा ल्याउन बीमा कार्यक्रम विस्तार गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । आर्थिक रुपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले गत दुइ वर्षदेखि स्वास्थ्य बीमामा सहयोग गर्दै आएको छ । आर्थिक अभावमा स्वास्थ्य बीमामा सहभागी हुन नसक्ने घरपरिवार छनोट गरी गाउँपालिकाले नै बीमा गरिदिने जनाइएको छ ।

गाउँपालिकाभित्रका सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन यो कार्यक्रम ल्याइएको थापाले बताए । आर्थिक रुपमा सम्पन्न भएका घरपरिवार स्वास्थ्य बीमामा सहभागी हुन सक्ने भए पनि गरिब तथा विपन्न घरपरिवार स्वास्थ्य बीमाबाट वञ्चित नहुन् भन्नका लागि योजना ल्याइएको थापाले जानकारी दिए । उनले भने, ‘हरेक नागरिकले स्वास्थ्य सेवा पाउनुपर्छ, स्वास्थ्य बीमाका लागि रकम हाल्न नसक्नेलाई गाउँपालिकाको खर्चमा स्वास्थ्य बीमा गराइन्छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker