जनप्रतिनिधी जनताको सेवक बन्नुपर्दछ : सासंद सिग्देल
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तिनिधीसभाका सदस्य एवं तनहुँ क्षेत्र नं. २ का सांसद केदार सिग्देलले जनप्रतिनिधी जनताको सेवक बन्नुपर्ने बताएका छन् । जनप्रतिनिधी शासक नभई जनताको सेवक बन्न सके देशमा सुशासन र समृद्धि कायम गराउन सकिने बताए ।
म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष २०७८/०७९ अन्तिम चौमासिक र्सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सिग्देलले जनप्रतिनिधीले योजना सहित काम गर्नुपर्ने जोडदिंदै बिना लक्ष्य र योजना कतै पनि नपुगिने हुँदा जनताले अनुभुति गर्ने गरी काम गर्न आग्रह गरे ।
स्थानीय तह आफैले पनि नीति र कार्यक्रम बनाउन सक्ने हुँदा आत्मनिर्भर बन्ने कार्यक्रम ल्याउन आग्रह गर्दै उनले कृषि क्षेत्रको व्यवसायिकरणले जनतालाई आर्थिक रुपमा सवल बनाउन मद्दत पुग्ने हुँदा यस तर्फ ध्यान दिन गाउँपालिकालाई आग्रह गरे ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित सार्वजनिक कार्यक्रममा वडा सचिवहरुले वडाको प्रतिवेदन र विषयगत समितिले प्रगति प्रतिवेदन पेश गरेका थिए । सो अवसरमा शिक्षा शाखा, आर्थिक विकास शाखा, योजना शाखा, भौतिक पूर्वाधार शाखा, पशु कृषि, रोजगार सेवा केन्द्र, महिला तथा समाजिक विकास शाखा, जिन्सी शाखा, स्वास्थ्य शाखा, प्रशासन शाखाले प्रगति विवरण पेश गरेका थिए ।
स्पीड सोलुसन नेपालले सहजीकरण गरेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले जनमुखी कार्यक्रममा गाउँपालिका सकारात्मक रहेको बताए । जनआकांक्षा धेरै हुँदा तत्काल जनताले सोचेअनुरुप परिणाम नदेखिए पनि दीर्घकालिन रुपमा परिणाममुखी हुने गरी कार्यक्रम अगाडि बढाउने प्रतिवद्धता जनाए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले कार्यक्रमका विषयमा सहजिकरण गर्दै चौमासिकमा भएका गतिविधिका विषयमा जानकारी गराएका थिए ।










