प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेकोप्रति तनहुँ शाखाको ध्यानाकर्षण

दमौली । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति चौतारी तनहुँ शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शाखाका अध्यक्ष राजकुमार श्रेष्ठ विविले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा काठमाडौँको एउटा होटलमा छलफल कार्यक्रममा सहभागी भएका अध्यक्ष बस्नेतलाई प्रहरीको साइबर ब्यूरोले जबरजस्ती पक्राउ गर्न खोजेपछि छलफलमा रहेका अन्य पत्रकारले प्रतिरोध गरेपछि पक्राउ नगरी प्रहरी फर्किएको उल्लेख छ ।

सम्प्रेषित समाचारप्रति परेका उजुरी तथा गुनासा हेर्ने काम प्रेस काउन्सिल नेपालको भएको र काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार बस्नेतलाई पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको चौतारी तनहुँ शाखाको ठहर छ ।

यस्तै, प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतविरुद्ध साइबर अपराधको कसुरमा उजुरी परेको छ । बस्नेतविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उजुरी परेको हो । साइबर अपराधबारे उजुरी परेपछि उनीमाथि अनुसन्धानको प्रक्रिया प्रहरीले अघि बढाएको छ ।

ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले पनि बस्नेतविरुद्ध निवेदन परेका केही बुझ्न खोजीको बताए । ‘उहाँविरुद्ध उजुरी परेकाले बुझ्न खोजेको हौं । यसबारे उहाँलाई जानकारी समेत गराइएको छ । फोनमा सम्पर्क गर्दा उहाँले भोली आउँछु भन्नु भएको छ’ अवस्थीले भने ।

अनुसन्धानकै क्रममा रहेकाले कसले के उजुरी हाल्यो भन्ने विषय सार्वजनिक गर्न नमिल्ने अवस्थीको भनाइ छ । उनले बस्नेतलाई पक्राउ गर्ने तयारी नभएको तर केही बुझ्न मात्रै खोजिएको दाबी गरे ।

यता, गणेश बस्नेतलाई पक्राउ गर्न खोजिएको भन्दै नेपाल पत्रकार महासंघ तथा सञ्चारसंग सम्बन्धित विभिन्न संघसंस्थाले विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।

महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै समाचारको विषयलाई लिएर प्रहरीको साइबर व्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । साथै काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको महासंघको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संप्रेषित समाचारप्रति परेका उजुरी या गुनासो हेर्ने काम प्रेस काउन्सिल नेपालको हो । काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको छ । महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker