बन्दीपुरका ४०१ जनाको मुटुरोग परीक्षण

बन्दीपुर : नेपाल हृदयरोग निवारण प्रतिष्ठान, ललितपुर र रोटरी क्लब अफ पाटनको संयुक्त आयोजना तथा बन्दीपुर गाउँपालिकाको सह–आयोजनामा बन्दीपुर अस्पतालमा सञ्चालन गरिएको निःशुल्क ईको र ईसीजीसहितको बृहत् मुटुरोग स्वास्थ्य शिविरबाट ४०१ जना सेवाग्राही लाभान्वित भएका छन् ।
अस्पतालका अनुसार शिविरमा १८१ पुरुष र २२० महिलासहित कुल ४०१ जनाले मुटुसम्बन्धी स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका हुन् । शिविरका क्रममा २२१ जनाको निःशुल्क ईको परीक्षण गरिएको थियो, जसमा १२१ पुरुष र १०० महिला रहेका छन् । त्यस्तै २९० जनाको निःशुल्क ईसीजी परीक्षण गरिएकोमा १५० पुरुष र १४० महिला सहभागी भएका थिए ।
आवश्यकता अनुसार केही सेवाग्राहीलाई निःशुल्क औषधि वितरण गर्नुका साथै प्रयोगशाला परीक्षण र एक्स–रे सेवासमेत उपलब्ध गराइएको बन्दीपुर अस्पतालले जनाएको छ । शिविर सफल बनाउन सहयोग पु¥याउने सबै स्वास्थ्यकर्मी, स्वयंसेवक, आयोजक संस्था तथा सहयोगी निकायप्रति बन्दीपुर अस्पतालले हार्दिक आभार व्यक्त गरेको छ ।










