देवघाट गाउँपालिकामा कोरोना संक्रमित घट्दै, पछिल्लो समय सक्रिय संक्रमित ६ जनामात्र
आशिक राना/देवघाट

तनहुँको देवघाट गाउँपालिकामा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । देशव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको नयाँ भेरियन्टको प्रभाव देवघाट क्षेत्रमा कम पर्दै गएको छ ।
हालसम्म गाउँपालिकामा १४० जनाको कोरोना परीक्षण गरिएकोमा २६ जनामा मात्र संक्रमण देखिएको थियो । जसमा १७ जना पुरुष र ९ जना महिला रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकीले बताए ।
शाखा प्रमुख बुढाथोकीका अनुसार गाउँपालिकामा भएका संक्रमित मध्य १ जनाको मृत्यु हुनुका साथै १९ जना निको भएका छन् । हाल गाउँपालिकामा ६ जना मात्र सक्रिया संक्रमित छन् । यस्तै गाउँपालिकाले २७ जनाको पिसिआर परिक्षण गरेकोमा बुधबार २ जनामा कोरोना संक्रमण देखिएको छ ।
यसैगरी गाउँपालिकामा कोरोना संक्रमणको प्रभाव कम देखिनुमा गाउँपालिकाले अपनाएको सजगताले पनि काम गरेको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताए । अध्यक्ष थापाका अनुसार गाउँपालिका प्रवेश गर्ने हरेक नाकामा स्वंयसेवक समेत खटाएर अनावश्यक रुपमा आवतजावत गर्ने मानिसहरुलाई विशेष निगरानीका साथै आवश्यक स्वास्थ्य सावधानी अपनाउन अग्रह गर्दै आइएको छ ।










