बन्दीपुरको खहरेका ६४ परिवारलाई खानेपानी वितरण

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–६ को खहरेमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत तीनवटा खानेपानी आयोजना सम्पन्न गरिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट दुई र संघीय सरकारबाट एउटा खानेपानी आयोजना सम्पन्न गरिएको हो ।
उक्त आयोजनाबाट ६४ परिवार प्रत्यक्ष लाभान्वित भएका बन्दीपुर–६ का वडाध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए । गण्डकी प्रदेशले खहरे गाउँपाखोमा ६० लाख रुपैयाँ, खहरे थुमथुमेमा नौ लाख रुपैयाँ र संघीय सरकारको १० लाख रुपैयाँमा खहरे झपार्दी खानेपानी आयोजनामार्फत एक घर, एक धारा जडान गरेको हो ।
गत आर्थिक वर्षको अन्त्यभित्र योजना सम्पन्न गरी घरघरमा पानी पु¥याइएको खहरे गाउँपाखो खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए। उनका अनुसार योजना सम्पन्न पश्चात् वर्षैदेखि पाँखाको तातो, नमिठो र चुनायुक्त पानी पिउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
‘चुनाका कारण कतिपय अवस्थामा पानीको पाइप जाम हुने समस्या खेप्नुपरेको थियो’, अध्यक्ष गुरुङले भने, ‘करिब दुई महिनाको अवधिमा आयोजना सम्पन्न गरी पानी नियमित सञ्चालन गरेका छौँ । तीनमध्ये ठूलो आयोजनाका रुपमा रहेको खहरे गाउँपाखोका लागि छिमेकी देवघाट–३ नाल्बुङबाट पानी ल्याएर वितरण गरिएको छ ।’
लामो समयदेखि खानेपानीको समस्या खेप्दै आएका वडाबासीले स्वच्छ पानी पिउन पाउँदा खुशी व्यक्त गरेका छन् । अहिले घरघरमा धारा जडान गरेपछि गाग्री बोकेर पानी लिन जानुपर्ने समस्या हटेको झपार्दी खानेपानी उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर थापाले बता ए।










