गण्डकीका दुई औद्योगिक क्षेत्रको “इआइए” स्वीकृत

गण्डकी : गण्डकी प्रदेश सरकारले कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत गरेको छ। ‘इआइए’ स्वीकत गरेसँगै औद्योगिक क्षेत्र निर्माणका लागि जग्गाको भोगाधिकार लिने प्रक्रिया अगाडि बढेको छ। परामर्शदाता कम्पनी गौमुखीले ‘इआइए’को जिम्मा पाएको थियो ।

‘इआइए’को प्रक्रिया लम्बिँदा औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भएको थियो । आठ वर्षअघि प्रदेश सरकारले पुँडीटार र लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेको थियो। प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको उद्योग–वाणिज्य महाशाखाका प्रमुख महराज ढकालले दुवै जिल्लाका डिभिजन वन कार्यालयसँगको समन्वयमा औद्योगिक क्षेत्र निर्माणस्थलमा काट्नुपर्ने रुखको गणना भइरहेको जानकारी दिनुभयो ।

प्रस्तावित दुवै औद्योगिक क्षेत्रको जग्गा सामुदायिक वन क्षेत्रभित्र पर्छ। “औद्योगिक क्षेत्र निर्माण गर्दा काट्नु पर्ने रुखको गणनासहित क्षेत्रफल यकिन गरेर संघको वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पठाउँदैछौँ”, उहाँले भन्नुभयो, “वन तथा वातावरण मन्त्रालयबाट प्रस्ताव स्वीकृत भएपछि सङ्घीय मन्त्रिपरिषद्बाट जग्गा भोगाधिकार दिने निर्णय हुन्छ ।” संघ सरकारले गण्डकी प्रदेश सरकारलाई जग्गा भोगाधिकार दिने निर्णय गरेपछि औद्योगिक क्षेत्र निर्माण सुरु हुने महाशाखा प्रमुख ढकालले बताउनुभयो ।

लोकाहाखोलाको जग्गा चुरे संरक्षण क्षेत्रभित्र पर्ने भएकाले ‘इआइए’को प्रक्रिया पूरा हुन धेरै समय लागेको उहाँको भनाइ छ । जग्गा प्राप्तिका लागि प्रदेश सरकारले यसअघि नै वन तथा वातावरण मन्त्रालयमा प्रस्ताव पठाएको थियो। वन तथा वातावरण मन्त्रालयको सहमतिपछि संघीय मन्त्रिपरिषद्ले प्रस्तावित औद्योगिक क्षेत्रका जग्गा उपलब्ध गराउने निर्णय गर्ने महाशाखा प्रमुख ढकालले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका दुई औद्योगिक क्षेत्र निर्माण प्रक्रियालाई अगाडि बढाएको हो । प्रदेश सरकारले पुँडीटारमा रु ५४ करोड र लोकाहा खोलामा रु ७६ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार पारिसकेको छ । औद्योगिक क्षेत्रलाई आवश्यक जग्गा नापजाँच तथा यकीन भइसकेकाले अब जग्गा उपलब्ध गराउने सम्बन्धमा सङ्घ सरकारको निर्णयको पखाईमा प्रदेश सरकार छ ।

जग्गाको भोगाधिकार आएपछि पुँडीटारमा चार हजार पाँच सय रोपनी र लोकाहाखोलामा १४१ बिघामा औद्यागिक क्षेत्र निर्माण हुने जनाइएको छ । पुँडीटार औद्योगिक क्षेत्रले कास्कीको पोखरा–३३ र तनहुँको शुक्लागण्डकी–९ को केही भू–भागलाई समेट्छ । लोकाहाखोला औद्यागिक क्षेत्र नवलपुरको कावासोती–१ र देवचुली–१० मा स्थापना हुन लागेको हो । पुँडीटारमा केही अव्यवस्थित बसोबास रहेको ठाउँ रहेपनि बस्तीबाहेकको जग्गालाई मात्र समेटेर ‘डिपिआर’ बनाइएको मन्त्रालयले जनाएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker