थप्रेकमा शुक्लागण्डकीको कार्यपालिका बैठक
भञ्ज्याङ समाचामरदाता (शुक्लागण्डकी)

तनहुँको शुक्लागण्डकी नगरपालिकाको ८५औं नगर कार्यपालिकाको बैठक वडा नम्बर १ को थप्रेक सामुदायिक होमस्टेमा गरिएको छ । थप्रेकको पर्यटन प्रबर्द्धनका लागि मंगलबार थप्रेक भ्युटावरसँगै रहेको सामुदायिक भवनमा बैठक बसेको हो । बैठकले प्रथम मेयर कप अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता, खुला ब्याडमिन्टन प्रतियोगिता र अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको मिति तोकेको नगर प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।
उनका अनुसार प्रथम मेयर कप भलिबल र ब्याडमिन्टन प्रतियोगिता चैत १५ देखि १७ गतेसम्म हुनेछ । राष्ट्रपति रनिङशिल्ड फागुन २७ र २८ गते हुनेछ । लामो समयसम्म नगरपालिकाले समस्याको रुपमा रहेको फोहरमैला व्यवस्थापनका लागि नगरमा प्रस्ताव पेश गरेका संस्थासँग केही शर्तसहित छलफल गर्ने र छिट्टै टुंगो लगाउने निर्णय भएको कुमालले बताए । संघीय सरकारबाट प्राप्त सशर्त अनुदान र नगरपालिकाले शिक्षाको क्षेत्रमा छुट्याएको बजेटलाई बाँडफाड समेत गरेको कुमालले बताए ।
कार्यालय बाहिर बैठक बसेको यो पहिलोपटक हो । अब हरेक वडामा पुगेर कार्यपालिका बैठक बस्ने नगरप्रमुख किसान गुरुङले बताए । उनले भने, ‘धार्मिक तथा पर्यटकीय सम्भावना उजागर गर्नलाई वडा-वडामा पुगेर बैठक बस्न सुरु गरेका छौ ।’ समुन्द्र सतहबाट एक हजार २५० मिटर उचाईमा रहेको थप्रेक पर्यटनको सम्भावना बोकेको ग्रामीण बस्ति हो । यहाँको पर्यटनलाई प्रबर्द्धन गर्नलाई बैठकले महत्वपूर्ण भूमिका खेल्ने वडाध्यक्ष रविचन्द्र पौडेलले बताए । थप्रेकबाट पर्यटकीय नगरी पोखरासँगै माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण लगायतका हिमश्रृंखलाको दृष्यावलोकन गर्न सकिन्छ ।










