तनहुँको आँबुखैरेनीका गुरुङद्वारा मनास्लु हिमालको सफल आरोहण

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ निवासी पर्वतारोही प्रकाश गुरुङले मनास्लु हिमालको सफल आरोहण गर्नुभएको छ ।

गुरुङले मनास्लु वेसक्याम्पबाट १३ दिनको अवधिमा हिमालको सफल आरोहण गर्नुभएको हो । भदौ १४ गते काठमाडौँबाट पैदलयात्रा गरी २२ गते वेसक्याम्प पुग्नुभएका गुरुङले गत शुक्रबार मनास्लु हिमालको आरोहण पूरा गर्नुभएको हो । आफूसँगै एक अमेरिकी पर्यटकले समेत हिमालको आरोहण गरेको गुरुङले राससलाई जानकारी दिनुभयो ।

“सबै प्रतिकूलतालाई सामना गर्दै कठोर मौसमका बाबजुद पनि हामी मनास्लुको शिखरमा पुग्न सफल भयौँ,” उहाँले खुसी साट्दै भन्नुभयो, “हावा भीषण चलेको थियो, चिसो ज्यादै थियो तर हाम्रो दृढ सङ्कल्पले हामीलाई शिखरमा पु¥यायो ।” विश्वको आठौँ अग्लो हिमाल मनास्लुको उचाइ आठ हजार एक सय ५६ मिटर छ ।

गुरुङले सगरमाथाको दुईपटक सफल आरोहण गर्नुभएको छ । विसं २०८० जेठ ११ र विसं २०८१ जेठ ७ गते उहाँले सगरमाथा आरोहण गरिसक्नुभएको छ ।

सन् २०१४ देखि पर्यटन व्यवसायमा आवद्ध गुरुङले सन् २०१५ मा पर्वतारोहणसम्बन्धी प्रशिक्षण लिएपछि यो व्यवसायमा लाग्नुभएको हो । गुरुङले यसअघि लघुचे, मिरा हिमाल, मनास्लु हिमाल सफल आरोहण गरिसक्नुभएको छ ।

पर्वतारोहण गाइडमा सुरुका दिनमा शेर्पाहरुको बर्चस्व रहँदा पनि सङ्घर्ष गर्दै अगाडि बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पर्यटनमार्फत् नेपाललाई विश्वमा चिनाउने अभियानमा छु ।”

गुरुङले गत वर्षको पुस महिनामा छ हजार सात सय ५९ मिटरमा अवस्थित खुम्जुङ्गार हिमालको सफल आरोहण गर्नुभएको थियो । अपर मुस्ताङमा अवस्थित उक्त हिमालमा चिसो मौसममा हालसम्म आरोहण गरिएको थिएन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker