वर्षासंगै खसेको पहिराका कारण तनहुँमा राजमार्गसंगै ग्रामीण सडकहरु अवरुद्ध

तनहुँ : वर्षासंगै खसेका पहिराका कारण पृथ्वीराजमार्गसंगै ग्रामीण सडकहरु समेत अवरुद्ध भएका छन् । गत विहीबार साँझदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित हुनपुगेको छ ।
आज बिहान पहिरोका कारण तनहुँका एक दर्जन ठाउँमा सडक अवरुद्ध भएका छन् । पहिराले सडक अवरुद्ध हुँदा तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।
पृथ्वीराजमार्ग र भित्री सडकखण्ड अन्तर्गतका विभिन्न ठाउँमा पहिराले सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले बताए ।

उनका अनुसार पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–३ दमौली, व्यास–१२ को घाँसीकुवा, छिर्कने, बन्दीपुर गाउँपालिका–१ चिसापानी, चुनपहरा, म्याग्दे गाउँपालिका–६ मौरीओडार, भानु नगरपालिका–१ भन्सारमा सडक अवरुद्ध भएको छ ।
पहिरा र सडक भाँसिदा अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी गराए । पानी परिरहेकाले पहिरो पन्छाउने काममा समस्या आइरहेको छ ।

यस्तै व्यास नगरपालिका–३ मादी पुल नजिक सडक भासिँदा राजमार्ग अवरुद्ध बनेको छ । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा यस ठाउँमा कल्भर्ट निर्माणका लागि डाइभर्सन सडक बनाइएकामा निरन्तरको पानीका कारण शनिबार बिहान उक्त ठाउँमा सडक भासिएको छ ।
कल्भर्ट निर्माणका लागि खाल्डो खनिएको र सोही खाल्डोमा जमेको पानीका कारण त्यस ठाउँमा सडक भासिएको तनहुँ प्रहरीले जनाएको छ ।

ऋषिङमा घर भत्कियो, तीन बाख्रा मरे
यस्तै, तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित कुमारी बैंक अगाडी शनिबार बिहान एक घर भत्किदा तीन वटा बाख्रा मरेका छन् ।
निरन्तरको वर्षाका कारण विन्दुकुमार श्रेष्ठको घर भत्किदा तीन बाख्रा मरेका हुन् । घरले पुरिएर चार मध्ये एक बाख्राको भने जीवित उद्धार गरिएको छ । घर पूर्ण रुपमा क्षति भएको र मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।










