मुस्ताङमा आजबाट “घरपझोंङ जलवायु सम्मेलन–२०८३”

तनहुँ : हिमालदेखि तराईसम्म जलवायु परिवर्तनका कारण देखिएका असर र त्यससँग जुध्ने उपायबारे साझा धारणा निर्माण गर्ने उद्देश्यले मुस्ताङको जोमसोममा “घरपझोंङ जलवायु सम्मेलन–२०८३” आयोजना गरिएको छ ।

घरपझोंङ गाउँपालिकाको आयोजनामा भदौ ३० र ३१ गते दुई दिन सञ्चालन हुने सम्मेलनमा तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको चार सदस्यीय टोली सहभागिता जनाउने भएको छ । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीको नेतृत्वको टोलीमा सञ्चालक समितिका सदस्य हरिसिंह गुरुङ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले र विज्ञान तथा प्रविधि विभाग प्रमुख सागर न्यौपाने सहभागि भएका छन् ।

यस्तै, जलवायु परिवर्तन र वातावरणीय प्रभावबारे स्थानीय तहदेखि शैक्षिक क्षेत्रसम्मको अनुभव तथा अभ्यासलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा देशभरका स्थानीय तहको उल्लेख्य सहभागिता हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा सहभागिताका लागि देशका ७५३ वटै स्थानीय तहलाई निमन्त्रणा गरिएको छ । आयोजक घरपझोंङ गाउँपालिकाका अनुसार आइतबारसम्म ४२० स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, ३६ वटा जिल्ला समन्वय समितिले पनि सम्मेलनमा सहभागिता जनाउने भएका छन् ।

प्रदेशगत रूपमा कोशी प्रदेशबाट ७२, मधेसबाट ५८, बागमतीबाट ४६, गण्डकीबाट ६४, लुम्बिनीबाट ६२, कर्णालीबाट ३८ र सुदूरपश्चिमबाट ६६ स्थानीय तहले सम्मेलनका लागि नाम दर्ता गराएका छन् ।

जलवायु परिवर्तनको प्रभाव कुनै एउटा भूगोल वा समुदायमा मात्र सीमित नरहेको अवस्थामा हिमाल, पहाड र तराईमा देखिएका फरक–फरक असर तथा स्थानीय तहले अपनाइरहेका अनुकूलनका अभ्यासबारे छलफल सम्मेलनको मुख्य विषय हुनेछ ।

सम्मेलनमा जलवायु परिवर्तन, वातावरण तथा शिक्षाका क्षेत्रमा काम गरिरहेका उच्च शैक्षिक संस्था, सामुदायिक संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार मुस्ताङमा पहिलोपटक आयोजना हुन लागेको सम्मेलनले जलवायु परिवर्तनका असरविरुद्ध स्थानीयदेखि राष्ट्रिय तहसम्म साझा रणनीति निर्माण गर्न तथा नेपालमा देखिएका जलवायु संकटप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

विशेषगरी हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी तथा हिमतालमा देखिएको परिवर्तन, पानीका स्रोतमा आएको उतारचढाव, कृषि प्रणालीमा परेको असर तथा प्राकृतिक विपद्को बढ्दो जोखिम सम्मेलनका महत्वपूर्ण विषय बन्नेछन्। पहाडी र तराई क्षेत्रमा देखिएका बाढी, पहिरो, खडेरी, तापक्रम वृद्धि र कृषि उत्पादनमा परेको असरलाई समेत समेटेर छलफल अघि बढाइने आयोजकले जनाएको छ।

सम्मेलनका लागि मुस्ताङका अन्य चार गाउँपालिकाले समेत सहयोग गरेका छन्। दुई दिनसम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको घरपझोंङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए ।

सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्ने कार्यक्रम रहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ ।

आदिकवि भानुभक्त क्याम्पसको टोलीले सम्मेलनमा शैक्षिक संस्थाको तर्फबाट जलवायु परिवर्तन, वातावरण संरक्षण र शिक्षाबीचको सम्बन्धबारे अनुभव आदानप्रदान गर्ने अवसर पाउनेछ। विज्ञान तथा प्रविधिको क्षेत्रमा अध्ययन–अनुसन्धान गर्दै आएको क्याम्पसका लागि हिमाली क्षेत्रमा आयोजना हुने जलवायु सम्मेलनलाई शैक्षिक र व्यावहारिक दृष्टिले महत्वपूर्ण अवसरका रूपमा हेरिएको क्याम्पस प्रमुख हड्खलेले बताए ।

देशका अधिकांश स्थानीय तह एउटै मञ्चमा भेला हुने भएकाले घरपझोंङ सम्मेलनलाई जलवायु परिवर्तनबारे स्थानीय सरकारको साझा आवाज निर्माण गर्ने अवसरका रूपमा हेरिएको छ । सम्मेलनले घोषणामै सीमित नभई स्थानीय तहले कार्यान्वयन गर्न सक्ने व्यावहारिक जलवायु अनुकूलनका कार्यक्रम र साझा प्रतिबद्धता तय गर्न सके यसको प्रभाव अझ अर्थपूर्ण हुने देखिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker