सम्पादकीय : कुलुङकोट – इतिहास, पहिचान र सम्भावनाको खोजीमा

तनहुँको भूगोल, संस्कृति र इतिहासलाई गहिरोसँग बुझ्न खोज्नेलाई व्यास नगरपालिका–१४ को कुलुङकोट एउटा अनिवार्य अध्यायझैँ लाग्छ । यहाँ केवल केही प्रचलित किंवदन्ती वा स्थानीय कथा मात्र छैनन्, यो स्थान शताब्दीयौँ पुरानो राजनीतिक उत्थान–पतनको मौन साक्षी हो । सिञ्जा साम्राज्यको पतनदेखि लिएर बाइसी–चौबिसी राज्यहरूको उदयसम्म, क्षेत्रीय शक्तिका केन्द्र र स्थानीय शासन व्यवस्थाको परिभाषासम्म- कुलुङकोटले नेपालका प्राचीन इतिहासका थुप्रै तहहरू बोकेको छ । तर विडम्बना के छ भने यति ठूलो ऐतिहासिक, सांस्कृतिक र पर्यटन सम्भावना बोकेको स्थल राज्यको न्यूनतम ध्यानबाट पनि बञ्चित छ । कुलुङकोटको नामसँग थुमथुमे राज्यको इतिहास जोडिने सम्भावना धेरै ऐतिहासिक प्रमाणले जनाउँछन् । यहाँ भेटिने पुराना संरचना, भित्ताका भग्नावशेष, पूजा–संस्कृतिहरू, युद्ध–परम्परामा प्रयोग हुने भाला, खुकुरी, खड्गजस्ता सामग्री– यी सबैले प्राचीन प्रशासनिक तथा सैनिक महत्वको संकेत गर्छन् । यी सामग्रीहरू केवल वस्तु मात्र होइनन्, तिनले जनाउँछन् कि कुलुङकोट कहिल्यै सामान्य बस्ती थिएन; यो सत्ता, विश्वास, संस्कार र संघर्षको केन्द्र पनि थियो । यसै अर्थमा हेर्दा कुलुङकोट केवल भूगोल होइन, एउटा ‘जीवित संग्रहालय’ हो ।

यहाँका सांस्कृतिक परम्परा पनि त्यत्तिकै मौलिक छन् । दशैंको फूलपाती शोभायात्रा, कालिका देवीको पूजा, शारदीय पर्वमा देखिने सामूहिक सहभागिता– यी केवल धार्मिक विधि होइनन्, सामूहिक पहिचान र ऐतिहासिक स्मृतिको निरन्तरता हुन् । स्थानीय बासिन्दाले पुस्तौँदेखि जोगाइरहेको परम्परा र विश्वासले कुलुङकोटलाई सांस्कृतिक वैभवको केन्द्र बनाएको छ । तर दुःखद पक्ष के छ भने यस्ता मूल्यवान् परम्परा आज संरक्षण संकटमा छन् । राज्यबाट आवश्यक सहयोग नपुगेका कारण न त पुरातात्त्विक सामग्री संरक्षण हुन सकेको छ, न त सांस्कृतिक संरचना नै । कुलुङकोटको अर्को महत्वपूर्ण आयाम यसको प्राकृतिक सुन्दरता हो। यहाँका पहाडी उचाइबाट देखिने हिमालको पर्खाल, हरियाली, स्थानीय जीवनशैली र शान्त वातावरण स्वयं एउटा पूर्ण पर्यटन गन्तव्य बन्न सक्ने सामथ्र्य राख्छ । तर यो सम्भावना अझै सम्भावनामा नै सीमित छ । यहाँ पुगेका हरेक आगन्तुकले एकै कुरा दोहोर्याइदिन्छन्– “सम्भावना अमूल्य छ, तर व्यवस्थापन शून्य ।” बस्तीसम्म पुग्ने सडकहरू जीर्ण, सूचना केन्द्र छैन, प्रचार–प्रसार न्यून, पर्यटकका लागि आधारभूत संरचना अपर्याप्त ।

स्थानको विशिष्ट ऐतिहासिक पहिचानलाई अझै देशव्यापी रूपमा चिनाउन नगरपालिकाको प्रयास उल्लेख्य छैन । स्थानीय बासिन्दाले आफ्नो सामथ्र्य अनुसार संरक्षणका प्रयास गरे पनि तिनको काम राज्यको औपचारिक सहयोग बिना टिकाउ बन्न सक्दैन । यही कारणले आज आवश्यक छ– कुलुङकोट पुनर्जीवन अभियान। केवल सडक सुधारले मात्र पर्यटन बन्छ भन्ने होइन, सम्पदा पहिचान, व्यवस्थित संरक्षण, प्राविधिक अध्ययन, पुरातात्त्विक अनुसन्धान, सांस्कृतिक कार्यक्रमहरूको दिगो व्यवस्थापन– यी सबै कार्य एकीकृत योजनामा जोडिनुपर्छ । तर यसको नेतृत्व कसले गर्ने? उत्तर स्पष्ट छ– स्थानीय सरकार, ऐतिहासिक अध्ययनमा रुचि राख्ने विशेषज्ञ समूह, समुदाय, पर्यटन व्यवसायी र युवा स्वयंसेवीहरूको संयुक्त पहल । कुलुङकोटको संरक्षण केवल स्थानीयका लागि होइन, राष्ट्रिय पहिचानका लागि पनि आवश्यक छ । हाम्रो धेरै ऐतिहासिक स्थल गुमनाम छन्, धेरै परम्परा विलुप्त हुँदैछन् । यदि आजै पहल गरिएन भने कुलुङकोटको मौलिकता पनि केही वर्षमै इतिहासका पानामा मात्र सीमित हुन सक्छ । त्यो अवस्थाले तनहुँ मात्र होइन, नेपालकै सांस्कृतिक इतिहासलाई क्षति पु¥याउँछ ।

कुलुङकोट विकासको प्रमुख आधारका रुपमा यसरी पनि हेर्न सकिन्छ : १) ऐतिहासिक संरक्षण, २) सांस्कृतिक सुदृढीकरण र ३) पर्यटन प्रवद्र्धन । सबैभन्दा पहिले पुरातात्त्विक सामग्रीहरूको सूचीकरण र अध्ययन आवश्यक छ । त्यसपछि धार्मिक तथा सांस्कृतिक कार्यक्रमको व्यवस्थित संरक्षण र तेस्रो चरणमा पर्यटकीय पूर्वाधार तथा प्रचार–प्रसार । स्थानीय बासिन्दा पनि सक्रिय हुनुपर्नेछ। उनीहरूको पहिचान यिनै परम्परासँग बाँधिएको छ । सरकारले बजेट दिन सक्छ, परियोजना बनाउन सक्छ, तर परम्परा जोगाउने सामथ्र्य समुदायकै हातमा रहन्छ । कुलुङकोट इतिहास, संस्कृति र प्रकृतिको संगम हो । यसलाई संरक्षण गर्नु केवल ‘विकास’ होइन-हाम्रो पहिचान र हाम्रो जरा बचाउने अभियान हो । आज कुलुङकोटले देशलाई एउटा प्रश्न गरिरहेको छ– “इतिहास बोकेका यस्ता थलोहरूलाई हामी कति मूल्य दिन्छौँ ?” यो प्रश्नको उत्तर हामीले आजै दिनुपर्छ– कुलुङकोट जोगाऔँ, पहिचान बचाऔँ, भविष्य निर्माण गरौँ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker