डुम्रे-बेँसीसहर-चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

भञ्ज्याङ समाचारदाता/तनहुँ

डुम्रे-बेँसीसहर-चामे सडकको स्तरोन्नतिको काम भइरहेको छ । यस सडकको प्रवेश नाकाका रूपमा रहेको तनहुँको भानु नगरपालिका क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ ।

सो योजनामध्ये तनहुँ खण्डमा कालोपत्रको काम भइरहेको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो । दुइ लेनको यस सडक योजनाको ७० प्रतिशत सडक कालोपत्र गरिएको उहाँले बताउनुभयो ।

भानु-३, खहरे तथा चाम्बास क्षेत्रमा कालोपत्र गरिसकिएको अधिकारीले बताउनुभयो । भानु-१ भन्सार तथा नगरपालिकाको कार्यालय क्षेत्रमा कालोपत्रका लागि सम्याउने र पुरानो कालोपत्र हटाउने काम भइरहेको उहाँले बताउनुभयो । असार मसान्तसम्ममा कालोपत्र सकिने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

खहरेका केही स्थानमा साना पुल र घुम्ती क्षेत्रमा ‘लेबल’ मिलाउने कार्य भइरहेको सडक योजनाले जनाएको छ । उहाँले भन्नुभयो, “केही स्थानमा कालोपत्रका लागि तयारी भइरहेको छ, केही स्थानमा ‘लेबलिङ’को काम भइरहेको छ, यतिबेला कामले गति लिएको छ ।”

यस सडक खण्डको डुम्रेदेखि चाम्बाससम्म आठ किलोमिटर सडक कालोपत्र गरिने अधिकारीले बताउनुभयो । कूल आठ किलोमिटर मध्ये साढे चार किलोमिटर एकपत्र कालोपत्र सकिएको र दुइ किलोमिटर दुइपत्र कालोपत्र गरिसकिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य क्षेत्रमा नाला निर्माण र पर्खाल निर्माणको काम भइरहेको छ ।

एम/एस आशिष अनेस्ट जेभी भरतपुर चितवनले यस योजनाको निर्माणको जिम्मा पाएको छ । विसं २०७८ वैशाख २२ मा ठेक्का सम्झौता भई विसं २०७८ वैशाख २९ मा सडक स्तरोन्नतिको कार्य प्रारम्भ भएको थियो । विसं २०८० कात्तिक २२ मा यस सडक खण्डको कालोपत्र सम्पन्न गर्ने गरी रु ३८ करोड नौ लाख ८६ हजार चार सय ९२ मा ठेक्का सम्झौता गरिएको थियो । सम्झौताको मितिसम्म सडक स्तरोन्नतिको काम गरिसक्नुपर्ने भए पनि पूरा भने भएन ।

यस योजनाको ३० प्रतिशत सडक खण्डको कालोपत्रको काम नसकिँदै ठेक्का सम्झौता सकिएको थियो । ठेक्का सम्झौताको मिति सकिँदासम्म ७० प्रतिशत मात्रै काम सकिएपछि समय थप गरिएको अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्झौताको मिति सकियो, तर कालोपत्र सकिएन, काम पूरा गर्न असार मसान्तसम्मका लागि समय थपिएको छ ।” करिब ३० प्रतिशत काम पूरा गर्न अझै बाँकी रहेको उहाँले बताउनुभयो ।

यो सडक खण्ड हिमाली जिल्ला मनाङको मेरुदण्डको स्थलमार्गका रूपमा रहेको छ । तनहुँतर्फको काम तीव्र भइरहेको छ भने लमजुङ र मनाङतर्फका सडक खण्डको पनि स्तरोन्नतिको काम भइरहेको सो कार्यालयले जनाएको छ । यस सडक खण्डको तनहुँतर्फकालोपत्र सकिएपछि सहज रूपमा यात्रा गर्न सकिने जनाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker