तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा थपिदैछ पर्यटकीय पूर्वाधार

कृष्ण न्यौपाने (दमौली)
अबको २० वर्षपछि तनहुँको बन्दीपुरमा पुग्ने कुनै पर्यटक कति दिन बास बस्लान ? बन्दीपुर आएका पर्यटकलाई कसरी भुलाउने ? यसकै सेरोफेरोमा केन्द्रित रहेर बन्दीपुर गाउँपालिका गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माणमा जुटेको छ । यस आयोजनाको प्रमुख उद्देश्य बन्दीपुर पुग्ने पर्यटकलाई जतिसक्यो धेरै दिन बास बसाल्नु हो ।
बन्दीपुर आउने पर्यटकलाई कम्तीमा दुइ रात र तीन दिन बास बसाउन सक्ने बनाउन अहिलेदेखि नै तयारी गर्नुपर्ने आवश्यकता रहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा बताउनुहुन्छ । “बन्दीपुर आउने अधिकांश पर्यटक एकैदिनमा फर्किने गरेका छन्, उनीहरुलाई कम्तीमा दुइ रात र तीन दिन बन्दीपुरमै बस्ने बनाउन २० वर्षे गुरुयोजना बनाएर अगाडि बढेका छौँ,” थापाले भन्नुभयो, “त्यसका लागि पर्यटकीय पूर्वाधार पहिलो शर्त हो ।” बीस वर्षपछि बन्दीपुरलाई कस्तो बनाउने भन्ने उद्देश्यका साथ गाउँपालिकाले अहिलेदेखि नै पर्यटक आकषिर्त गर्न पूर्वाधार निर्माण शुरु गरिसकेको थापा बताउनुहुन्छ ।
नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य तथा प्रख्यात ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि विभिन्न पक्षहरुलाई समेटेर गुरुयोजना बनाइएको छ । “बन्दीपुर नेपालको मात्रै नभई विदेशमा समेत प्रख्यात पर्यटकीय स्थल हो,” थापाले भन्नुभयो । उहाँका अनुसार बन्दीपुरको विकासका लागि देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका गैरआवासीय बन्दीपुरवासीको भरपुर प्रयोग गरिनेछ । बन्दीपुरवासीको सञ्जाललाई सक्रिय बनाई उनीहरुको आर्थिक, भौतिक तथा बौद्धिक क्षमतालाई बन्दीपुरको विकासमा प्रयोग गरिने लक्ष्य बनाइएको छ ।
काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको सोच रहेको छ । बन्दीपुर आफैँमा एउटा प्राकृतिक सौर्न्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकोले यसलाई संरक्षण, सर्म्बर्द्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रमहरु अगाडि बढाउने थापाले बताउनुभयो ।
एघार सय मिटर अग्लो डाँडामा साइकल लेन
गाउँपालिकाले गत आर्थिक वर्षेखि बन्दीपुर गाउँपालिका-४ र ५ जोड्न रानीवन क्षेत्रमा साइकल लेन निर्माण शुरु गरेको छ । मगर र गुरुङ गाउँलाई जोड्न र पर्यटकलाई आकषिर्त गर्न गाउँपालिकाले ९ किमि साइकल लेन निर्माण गर्दैछ ।
साइकल लेनमार्फत वडा नं ४ को गुरुङ जातिको कोरिखा होमस्टे र वडा नं ५ को मगर जातिको रामकोट होमस्टे जोडिन्छ । अध्यक्ष थापाका अनुसार साइकल लेनको ८ किमि खण्ड सम्पन्न भइसकेको छ भने एक किमि चालू आर्थिक वर्षभत्रै निर्माण गरिनेछ । “साइकल लेनमार्फ् दुइ जातिको संस्कृतिलाई जोडेर पर्यटक आकर्षित गर्ने लक्ष्य हो,” उहाँले भन्नुभयो, “बन्दीपुर आउने पर्यटकलाई साइकल लेनमार्फ दुवै गाउँ लैजाने व्यवस्था मिलाइनेछ ।”
साइकल लेनले गाउँपालिकाको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । देश तथा विदेशमा प्रख्यात रहेको बन्दीपुरमा नयाँ-नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने उद्देश्यसहित साइकल लेन निर्माण गरिएको र यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकल यात्रीहरुलाई बन्दीपुरमा भित्र्याउन सहज हुने थापाको विश्वास छ ।
साइकल लेन निर्माणपछि राष्ट्रिय स्तरका साइकल प्रतियोगिता बन्दीपुरमा गर्न सकिने र यसले यहाँको प्रचारप्रसार हुने अध्यक्ष थापाको विश्वास छ । “रानीवन जङ्गलमा चराचुरुङ्गीको चिरबिर आवाज र हिमशृङ्खलाको मनोरम दृश्य पनि अवलोकन गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “यसले पर्यटकलाई थप मोहित पार्छ ।” साइकल लेनलाई छिम्केश्वरीसम्म जोड्ने लक्ष्य छ ।
टेण्डरको तयारीमा शिशाको दृश्यावलोकन विन्दु
गाउँपालिकाले टुँडिखेलमा शिशाको दृश्यावलोकन विन्दु निर्माण गर्ने तयारी गरेकामा टेण्डर प्रक्रिया शुरु गर्न अन्तिम तयारी भएको छ । दृश्यावलोकन स्तम्भको डिपिआर तयार भइसकेको र दशै अगाडि नै टेण्डर निकालिने थापाले जानकारी दिनुभयो ।
दृश्यावलोकन विन्दुका लागि रु दुइ करोड बजेट अनुमान गरिएको छ । जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकन विन्दु निर्माण गरिनेछ । “दृश्यावलोकन विन्दुसँगै अन्य पूर्वाधार पनि निर्माण गर्र्छौ,” उहाँले भन्नुभयो, “पार्क, रेष्टुरेण्ट, सांस्कृतिक केन्द्रलगायतका पूर्वाधार निर्माण गर्दा करिब रु सात करोड बजेट आवश्यक पर्छ ।” दृश्यावलोकन विन्दु निर्माणका लागि संघीय सरकारसँग पनि बजेट माग गरिएको छ ।
टुँडिखेलमा निर्माण गरिने सांस्कृतिक केन्द्रमा विभिन्न जातजातिको संस्कृति प्रदर्शन गरिनेछ । त्यसका लागि पर्यटकले टिकट खरिद गर्नुपर्ने व्यवस्था मिलाइनेछ । “दिनभर पर्यटकले दृश्यावलोकन विन्दुबाट दृश्यहरु अवलोकन गर्छन्, रात परेपछि विभिन्न जातजातिको संस्कृति पनि,” उहाँले भन्नुभयो ।
एकपटकमा १५ जनाले अवलोकन गर्न मिल्ने उक्त ‘दृश्यावलोकन स्तम्भ’ बाट वाषिर्क रु दुइ करोड आम्दानी हुने लक्ष्य लिइएको छ ।
निर्माण हुँदै पदमार्ग
विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरुको भएको ‘मिनी ग्रेटवाल’ मा एघार सय मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भइसकेको छ । जिल्लाको मात्र नभई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्दीपुरमा गत आर्थिक वर्षेखि पदमार्ग पर्खाल निर्माण शुरु भएको थियो ।
हालसम्म एक हजार एक सय मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको छ । त्यसका लागि रु ७० लाख बजेट खर्च भएको छ । “पदमार्ग पर्खाल चार किमि लामो हुन्छ, अब दशैँ पछि लगत्तै पुनः काम शुरु गर्र्छौँ,” थापाले भन्नुभयो । पदमार्ग पर्खाल निर्माणका लागि बजेट अभाव भएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग रु पाँच करोड बजेट माग गरिएको छ ।
बन्दीपुर गाउँपालिका-२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । डाँडामा सवारी साधन नपुग्ने भएकाले कामदारले निर्माण सामग्री बोकेरै लैजानुपर्ने बाध्यताका कारण निर्माण लागत महङ्गो परेको छ ।
मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामाकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । “पदमार्ग पर्खालले राजा मुकुन्द सेन बसेको ठाउँको प्रचारसँगै बन्दीपुरको पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण योगदान दिने विश्वास गरेका छौ’, थापाले भन्नुभयो । पदमार्ग पर्खाल निर्माण भएपछि त्यसबाट वार्षिक रु २० लाख आम्दानी हुने लक्ष्य छ ।
केबलकार अर्को आकर्षण
बन्दीपुरको पर्यटनलाई थप टेवा पुर्याउन बन्दीपुर केबलकार फलदायी हुने विश्वास छ । केबलकारको तल्लो स्टेशनको भवन निर्माण ८० प्रतिशत सकिएको छ भने माथिल्लो स्टेशनको फाउण्डेशनको काम शुरु भएको छ । चार तारे होटलसहितको ‘क्विन टावर’ को पनि भुइतल्लाको ढलान शुरु गरिएको छ ।
बन्दीपुर गाउँपालिका-४ ठूल्ढुङ्गामा तल्लो स्टशेशन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेशन निर्माण भइरहेको छ । माथिल्लो स्टेशनमा रु ८० करोडको लागतमा चार तारे होटल पनि निर्माण हुनेछ । चारतारे होटल निर्माणको जिम्मा काठमाडौ स्थित चन्द्र निर्माण सेवाले पाएको छ । उक्त होटल निर्माणका लागि नेपाल एसबिआई बैङ्कसँग ऋण सम्झौता गरिएको छ । उक्त भवनमा आधुनिक भ्युटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ ।
बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ५६ करोड रहेको छ । केवलकार परियोजनाको परामर्शदाताको रुपमा काठमाडौँस्थित केज कन्सल्ट्यान्ट प्रालि, मेकानिकल परामर्शदाताको रुपमा भारतस्थित सिआरएस र ब्रिको इङ्ग्ल्याण्ड रहेको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केवलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरुको कम्पनी हो, जहाँ एक हजार एक सय भन्दा बढी लगानीकर्ता रहेका छन् । रासस










