युवा जनशक्ति अभावले गाउँघरमा देखिन छाड्यो पिङ

भञ्ज्याङ न्यूज

पिङ हालेको देखेपछि दशैँ आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको बताइन्छ । गाउँघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेले वर्षमा एक पटक भए पनि दशैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ । विशेष गरी दशैँको बेलामा पिङको छुट्टै महत्व छ ।

विगत केही वर्ष पहिला दमौली सदरमुकाममा पनि पिङ हाल्ने प्रचलन थियो । दशैँ मनाउनका गाउँ गएकाले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे तर विस्तारै पिङ हाल्ने प्रचलन लोप हुन थालेको छ । सहरमात्र नभई गाउँघरमा पनि आजभोलि कमै मात्र पिङ देख्न सकिन्छ ।

पहिला पहिला दशैँ आउनुअगावै पिङ हालेर रमाइलो हुने भए पनि आजभोलि त्यस्तो प्रचलन हराउँदै आएको म्याग्दे गाउँपालिका–७ का मोहन बरालीले बताउनुभयो । “दशैँमा पिङ खेल्ने, रमाउने परम्परा हराउँदै गयो, आधुनिकताका कारण यी सबै इतिहासमा सीमित हुने हो की भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “आजभोलि त सहर बजारका साथसाथै गाउँमा पनि पिङ देख्न छाडियो ।”

पहिला–पहिला दशैँ आएपछि गाउँघरमा पिङ खेलेर रमाइलो गर्ने प्रचलन भए पनि आजभोलि त्यस्तो क्रम घट्दै गएको भिमाद नगरपालिका–९ का शिवकुमार आलेले सुनाउनुभयो । विगतका वर्षहरुमा प्रत्येक गाउँमा पिङ देख्ने गरिए पनि आजभोलि निकै काम मात्रै पिङ देखिने आलेको भनाइ छ । “पहिला पहिला जताततै पिङ देखिन्थ्यो, पिङ खेल्न पालो कुर्नुपथ्र्यो, आजभोलि विस्तारै घट्दै छ”, उहाँले भन्नुभयो । उहाँले संस्कृति जोगाउनका लागि आफूहरु यो वर्ष पिङ हाल्ने तयारीमा रहेको बताउनुभयो ।

सहर बजार र जिल्ला बाहिर भएका व्यक्ति दशैँ मान्न घर फर्किदा गाउँघर भने रमाइलो हुने गरेको छ । व्यास नगरपालिकाले विगतका केही वर्ष व्यास–३ स्थित खुला मैदानमा रोटे पिङ हालेको थियो । विगत दुई वर्ष कोभिड–१९ को सङ्क्रमणका कारण दमौलीमा पनि पिङ हालिएन तर केही गाउँमा भने दशैँका बेला पिङ हाल्ने प्रचलन अझै पनि कायमै रहेको छ । भानु नगरपालिका–५ बारीफाँटस्थित जनसेवा युवा क्लबका सदस्यले पिङ हालेपछि गाउँमा दशैँ आएकोजस्तो अनुभूति स्थानीय युवा मनोज श्रेष्ठले जानकारीदिनुभयो ।

त्यस्तै केही ठाउँमा संस्कृति र परम्पराका लागि जनाउँदै स्थानीयवासीले पिङ हाल्ने तयारी गरेका छन् । बन्दीपुरस्थित टुँडिखेलमा स्थानीय व्यवसायीले पिङ हाल्ने तयारी गरेको किसान प्रधानले जानकारी दिनुभयो । “टुँडिखेल टोल विकास संस्थाले दशैँका लागि पिङ हाल्नका लागि बाबियो सङ्कलन गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “केही दिनभित्रै पिङ तयार हुन्छ ।” उक्त संस्थाले गत वर्ष पनि बन्दीपुरमा पिङ हालेको थियो ।

संस्कृति संरक्षणका लागि पहल

पिङ हाल्ने प्रचलन हराउँदै जान थालेपछि जिल्लाका स्थानीय तहले भने पिङ संरक्षणको अभियान सुरु गरेका छन् । व्यास नगरपालिका–५ ले पिङ संरक्षणका लागि वडाभित्रका प्रत्येक टोलमा दशैँमा पिङ हाल्न लठ्ठा वितरण गरेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

वडाभित्र रहेका १७ टोल विकास संस्थालाई लठ्ठा वितरण गरिएको छ । “गाउँघरमा पिङ नै हराउँदै जान थालेपछि वडा कार्यालयले लठ्ठा खरिद गरेर टोललाई निःशुल्क उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “यसले गर्दा कम्तीमा १७ वटै टोलमा पिङ देख्न पाइने भएको छ ।”

व्यास नगरपालिकाले केही ठाउँमा पिङ हाल्न बजेट सहयोग गरेको छ । व्यास नगरपालिका–३ स्थित खुला मैदानमा पिङ राखिएको वडाध्यक्ष अनुप रानाले जानकारी दिनुभयो । नेपाली सेनाको श्रमदानमा खुला मैदानमा दुई वटा पिङ बनाइएको छ ।

“बजारमा पिङ नदेख्दा दशैँ आएको जस्तो अनुभूति पनि भएन, वडावासीले पनि पिङ हाल्न आग्रह गर्नुभयो”, उहाँले भन्नुभयो, “दुईवटामध्ये एउटा पिङ बालबालिकाका लागि खेल्न बनाएका छौँ ।” व्यास–११ मा नगरपालिकाको रु ५० हजार सहयोगमा पिङ हालिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । “विगतमा नगरपालिकाको लगानीमा रोटेपिङ हालिए पनि यस वर्ष भने लिङ्गे पुल बनाउन लागेका छौँ”, उहाँले भन्नुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker