ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका महिला उद्यमीहरु

तनहुँको आँबुखैरेनी गाउँपालिका-३ की रितु थापामगर घरधन्दा सकेर ढाका बुन्नुहुन्छ । चार वर्ष अगाडि ढाका बुनाइसम्बन्धी तीनमहिने तालिम लिएर उनि व्यवसायमा लागेकी हुन् । “तालिम लिएपछि घरमै पाँच महिना कपडा बुने । फेरि दुइ महिना दमौली आएर थप तालिम लिएँ”, उनले भनिन् “त्यसपछि निरन्तर यही पेसामा छु ।”
फुर्सदको समय सदुपयोग गर्दा कामसँगै दाम कमाउन सकिने उहाँको भनाइ छ । व्यवसाय थालेपछि अरुसँग पैसा माग्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ । उनले भनिन्, “पैसा चाहिँदा अरुसँग माग्नुभन्दा आफैले कमाउन थालेपछि धेरै सहज भयो । घरायसी कामसँगै ढाका बुन्न सकिने भएकाले अरुलाई पनि उद्यम गर्न आग्रह गर्छु ।”
ढाका उत्पादनका लागि आवश्यक कच्चापदार्थ काठमाडौँबाट ल्याउने गरेको उहाँले बताउनुभयो । धागो ल्याएर मागअनुसार ढाका बुन्ने गर्नुभएका उहाँले अहिले सारीको माग धेरै भएको बताइन् । उनका अनुसार ढाकाबाट पछ्यौरा, चोली, कोट, मफलर र कुर्तासुरुवाल बनाउन सकिन्छ ।
थापाका अनुसार एउटा सारीका लागि ढाका तयार गर्न तान, धागोलगायत सबै गरी रु तीन हजारसम्म खर्च हुने गरेको छ । रु आठ हजारदेखि रु १२ हजारसम्ममा सारी बिक्री हुन्छ । एउटा सारी बनाउन कम्तीमा १२ दिन लाग्नेगर्छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले व्यवसायी बन्न चाहनेलाई गाउँपालिकाले सहयोग गर्ने बर्ता। हरेक व्यक्ति उद्यमी बन्न सकेमात्रै समृद्धि हासिल हुने भएकाले त्यस्ता व्यक्तिले उद्यम गर्न चाहे गाउँपालिकाको सहयोग गर्ने उनको भनाइ छ ।
यता दमौलीमा ढाका उद्योग सञ्चालन गर्दै आएका विष्णु चौधरीले बाबुबाजेको पेसा अपनाएर उद्यमी बनेका छन् । व्यास नगरपालिका-२ मा विसं २०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योगमार्फत उहाँ सफल उद्यमी बनेका हुन । ढाकाबाट पहिले टोपी र चोलीमात्र बन्ने गरेपनि अहिले अन्य कपडा बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको उनको भनाइ छ । ग्राहकको मागसँगै ब्लाउज, टोपी, पछ्यौरा, चौबन्दी, दौरासुरुवाल, पाल्पाली ढाका टोपी, तेह्रथुमे साडीको राम्रो व्यापार हुने गरेको चौधरीले बताए ।
उनको उद्योगबाट उत्पादित ढाकाका सामग्री यहाँमात्र सीमित छैनन् । जिल्लाकै ग्रामीण भेग, लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौँ लगायतका ठाउँबाट माग हुने गरेको छ । यहाँ घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरूले पनि ढाकाको कपडा किन्ने गरेका छन्। ढाका कोसेली लैजाने संस्कारको विकास गराउन सके व्यापार अझै बढ्ने उनले बताए ।
जिल्लामा ढाका बुनाइतर्फ आकर्षण बढेसँगै पर्यटन तथा उद्योग कार्यालय तनहुँले दुइमहिने निःशुल्क ‘एड्भान्स’ ढाका बुनाइ तथा डिजाइन तालिम सुरु गरेको छ । युवायुवतीलाई उद्यमसँग जोड्ने उद्देश्यले वाषिर्क कार्यक्रमबमोजिम तालिम सञ्चालन गरिएको निमित्त प्रमुख सुवास पौडेलले जानकारी दिए ।










