अविरल वर्षा : नारायणगढ-मुग्लिन, सुनौली-पोखरा, बेंसीसहर-चामे र बेनी–जोमसोम सडक अवरुद्ध

भञ्ज्याङ न्यूज

अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

पानी परिरहँदा र बाटो बन्द हुँदा दशैंको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने–जानेहरु समस्यामा परेका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ ।

यस्तै मकवानपुरको त्रिभुवन राजपथको बागझोर खोला बढेको छ, जसले गर्दा राजपथ (हेटौंडा–पालुङ–काठमाडौं) सडकखण्ड र भिमफेंदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

यस्तै ललितपुरको टुकुचेमा पहिरो गएपछि कान्तिलोकपथ पनि अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।

सुनौली–पोखरा खण्ड पनि अवरुद्ध

यसैगरी सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड पनि पहिरोले अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।

त्यस्तै स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा अवरुद्ध भएको सिद्धार्थ राजमार्ग भने एकतर्फी खुलाइएको छ ।

बेनी–जोमसोम सडक पनि अवरुद्ध

गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक खण्डलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।

बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौरलगायत दर्जन बढी सडक बाढी पहिरोका कारण अवरुद्ध भएका सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । कतिपय स्थानमा सडक भासिएको छ ।

बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार म्याग्दीको घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भिर, जलथले, गुइठे भिर, रुप्से झरना र काभ्रेभिरलगायतका स्थानमा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि बेनीबाट मुस्ताङ तथा उत्तरी म्याग्दीमा जानेहरु बेनीमा र मुस्ताङबाट बेनी फर्कनेहरु मुस्ताङमा नै रोकिन बाध्य भएका छन् । बेनी–मालढुङ्गा–पोखरा सडक पनि बिचबिचमा अवरुद्ध भएको छ ।

म्याग्दी र कालीगण्डकी नदीको सतह बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ ।

बेंसीसहर–चामे सडक अवरुद्ध

निरन्तरको वर्षाका कारण लम्जुङको बेंसीसहर र मनाङको चामे जोड्ने सडक अवरुद्ध भएको छ ।

मनाङको नासों गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

खोत्रोमा सडकको बीच भागमा नै भल बगेकाले यात्रा जोखिमपूर्ण बनेको उनले बताए ।

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा नेपालमा पनि निरन्तर वर्षा भइरहेको मौसमविदले बताएका छन् । यस्तो अवस्था अझै केही दिन जारी रहने भएकाले सतर्कता अपनाउनुपर्ने मौसमविदको सुझाव छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker