तनहुँमा स्वास्थ्यकर्मी सहित २७ जनामा कोरोना संक्रमण पुष्टि
- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा स्वास्थ्यकर्मी सहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालाय पोखराले आइतबार र्सार्वजनिक गरेको विवरणमा चिकित्सक, यातायात कर्मचारी, बैंक स्टाफदेखि विदेशबाट फर्केका तथा कन्ट्याक्ट ट्रेसिङमा परेका र्सवसाधारणमा संक्रमण पुष्टि भएको हो । यो संख्या हालसम्मकै बढी हो ।
सार्वजनिक विवरण अनुसार व्यास नगरपालिकामा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट र सहयोगी, प्रभु बैंकका कर्मचारी, व्यासभूमि यातायात कम्पनीका कर्मचारीसँगै विदेशबाट फर्केर होम आईसोलेसनमा बसेका व्यक्ति तथा संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका गरी १४ जनामा संक्रमण पुष्टि भएको छ । दमौली अस्पतालका मेसु र सहयोगीमा संक्रमण पुष्टि भएपछि अस्पतालका सबै स्टाफको नमूना लिने तयारी गरिएको दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताएका छन् ।
यस्तै, दमौली स्थित प्रभु बैंकको कर्मचारीमा संक्रमण देखिएपछि बैंकले सेवा बन्द गराएको छ । बैंकले एक साता देखि बिदामा रहेका भनिएका कर्मचारीको सर्म्पर्कका स्टाफको पनि स्वाब संकलनको तयारी गरेको छ ।
शुक्लागण्डकी नगरपालिकाको वेलचौतारा स्थित जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रका चिकित्सक सहित पाँच जना कर्मचारीमा संक्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा केन्द्रमा कार्यरत २६, २४, ४७ उमेर समुहका ३ जना महिला र २८, ४७ उमेर समुहका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमितहरु केन्द्रका चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनमा कार्यरत रहेको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन ।
आँबुखैरेनीका २४ वर्षीय पुरुष, बन्दीपुरका ५७, ४५ वर्षीय पुरुष, देवघाटका ३५ वर्षीय पुरुष, व्यासका ३५, ३८, ३६, ३५, ३४, ३६, ३८, ३५ वर्षीय पुरुष, ६५, ३८, ६७, ४६ वर्षीया महिला र शुक्लागण्डकीमा १८, ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज चितवनको प्रयोगशालामा गरिएको परिक्षणमा देवघाटका २३ र ८० वर्षीय पुरुष, व्यासका २६ वर्षीया महिला र ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।










