कृषि व्यवसाय प्रवर्द्धनका लागि व्यासमा समिति गठन
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले कृषि व्यवसाय प्रवर्द्धनका लागि नगर प्रमुखको अध्यक्षतामा कृषि व्यवसाय प्रवर्द्धन समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, वडा नं. ५ वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठ, वडा नं. ४ को वडा अध्यक्ष बुद्धीमान श्रेष्ठ (कृषि विज्ञ), कालिका पौडेल (किसान प्रतिनिधि), सदस्य सचिवमा डा. मनोज विश्वकर्मा (कृषि तथा पशु विकास शाखा प्रमुख) रहेका छन् । नगर कार्यापालिकाको बैठकले समिति गठन गरेसंगै कृषि व्यवसायीहरुसँग अन्तरक्रियात्मक कार्यक्रम तत्काल गर्ने निर्णय गरेको छ ।
यस्तै, नगर कार्यपालिका बैठकले व्यास नगर कल्याणकारी कार्यविधि २०८०, करार कर्मचारी सुविधा सम्बन्धि कार्यविधि २०८०, व्यास नगर भित्रको गरिबिको तथ्याङ्क संकलन मापदण्ड २०८० को मस्यौदा तयार गरी आगामि बैठकमा पेश गर्न विधायन समितिलाई जिम्मा दिने निर्णय गरेको छ ।
व्यास नगरपालिका भित्रका माध्यमिक विद्यालयहरुलाई यस वर्षको कक्षा ११ को पढाइ दिवा समयमा सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको छ । कुनै कारणबस दिवा समयमा सञ्चालन गर्न कठिनाई भएमा सो को प्रस्ताव एवं न्यूनतम ४५ मिनेटको कक्षा सञ्चालन गर्ने रुटिन सहित पेश गर्न निर्देशन दिने निर्णय बैठकले गरेको छ ।
यस्तै, व्यास नगरपालिका भित्र सञ्चालन हुने सवारी साधनहरुले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तोकिएको भाडा दर अनुसार भाडा लिन र दिन सम्बन्धित सबैमा अनुरोध गर्ने र सो अनुसार नभएमा नियमानुसार कार्यवाही प्रकृया अघि बढाउने निर्णय बैठकले गरेको छ ।
नगरपालिका भित्रका निष्कृय टोल विकास संस्था र म्याद सकिएका टोल विकास संस्थाहरुको २०८० श्रावण महिना भित्र पुनःगठन गर्न आव्हान गरिएको छ । व्यास नगरपालिका भित्रको सुरक्षित विद्युत व्यवस्थापन सम्बन्धमा तनहुँ विद्युत प्राधिकरणका प्रमुख लेखराज जोशीसंग वैठकमा अन्तरक्रियात्मक छलफल गरी विद्युत सेवालाई नियमित र विश्वसनीय बनाउने सहमति गरिएको छ ।










