बन्दीपुरको याम्पा फाँटमा अनुगमन

- भञ्ज्याङ समाचारदाता (डुम्रे)
तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पाफाँट क्षेत्रमा जिल्ला प्रशासन कार्यालय तनहुँले अनुगमन गरेको छ । प्रशासनको समन्वयमा याम्पाफाँटको आधुमूल सहकारीले सञ्चालन गरेको पसलको अनुगमन गरिएको थियो ।
उक्त सहकारी बिना दर्ता सञ्चालनमा आएको भेटिएकाले अनुगमन टोलीले सहकारीको सम्पूर्ण कागजात लिएर सोमबार जिल्ला प्रशासन कार्यालयमा उपस्थिति हुन भनेको छ । अनुगमनका क्रममा पसल दर्ता गरेर मात्र खाद्य वस्तुको बिक्री वितरण गर्न, डिजिटल काँटा बिग्रेकाले नयाँ प्रयोग गर्न, सरसफाईमा ध्यान दिन निर्देशन दिंदै टोलीले सहकारीले प्रयोग गर्दै आएको खरिद बिक्री बिल नियन्त्रणमा लिएको छ।
उक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका लक्ष्मण बराल, खाद्य प्राविधिक पशान्त पोख्रेल, उपभोक्ता मञ्चका खेमराज अधिकारी, वडा नं. ५ का वडासदस्य ठाकुर सिंह थापा लगायतका सहभागिता रहेको बताइएको छ ।










