तनहुँको व्यास र शुक्लागण्डकीबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु

तनहुँ : तनहुँको व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाबाट मंगलबारदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरिएको छ । जिल्लाका अन्य पालिकाहरुले पनि यस अगाडिनै राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरिसकेका छन् ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको उपस्थितिमा नगरपालिकाबाट परिचयपत्र वितरण कार्य सुरु गरिएको हो । कार्यक्रममा उपप्रमुख इन्दिरा दरै, सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारी लगायतको सहभागिता रहेको बताइएको छ ।
नगर प्रमुख न्यौपानेले राष्ट्रिय परिचय पत्र वितरण कार्यले नागरिकको पहिचानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले नागरिकलाई परिचय पत्र प्राप्त प्रक्रियामा सहजीकरण गर्न सबै कर्मचारी र सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी थापाले राष्ट्रिय परिचयपत्र वितरणले डिजिटल प्रशासनको दिशामा महत्वपूर्ण कदम हुने बताए ।

यस्तै, शुक्लागण्डकी गण्डकी नगरपालिकाले पनि मंगलबारबाट पालिकाबाटै राष्ट्रिय परिचय पत्र वितरण गर्न शुरु गरेको छ । नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले मंगलबार नगरपालिकामा परिचयपत्र लिन आएकी एक सेवाग्राहीलाई हस्तान्तरण गर्दै वितरण सुरु गरेका हुन् ।
नगरपालिकाले जिल्ला प्रशासन कार्यालयबाट प्राप्त परिचय पत्र वितरणलाई प्रभावकारी बनाउन भन्दै मितिनै तोकेर १२ वटै वडाका नागरिकहरुलाई ग्रहण गर्न आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताए । नगरपालिकामा पौष ८ गतेदेखि आगामी माघ ९ गतेसम्म राष्ट्रिय परिचय पत्र वितरण गरिने लामगादेले जानकारी दिए ।
यस अघि राष्ट्रिय परिचय पत्र जिल्ला प्रशासन कार्यालयबाट मात्र वितरण गरिदै आएता पनि बनाउने भन्दा लिनेहरुको संख्या थोरै भएकाले प्रभावकारी वितरणका लागि पालिकाबाट नै राष्ट्रिय परिचय पत्र वितरण थालिएको छ ।
विभिन्न प्रयोजनका लागि राष्ट्रिय परिचय पत्र बनाउन बाध्यकारी भएपछि नागरिकहरुले यसमा सहभागिता जनाएपनि प्राप्त गर्न समय लाग्ने, झन्झटिलो हुने लगायतका कारण यस अघि बनेर आएका परिचय पत्र जिल्ला प्रशासन कार्यालय तनहुँमा थन्किएका थिए ।
भण्डारण र ब्यवस्थापनमा समस्या देखिन थालेको र पालिकाबाटै वितरण गर्दा सर्वसाधारणलाई पनि लिनका लागि सहज हुने देखिएपछि तनहुँका सबै पालिकाबाट वितरण गर्न थालिएको छ ।










