पर्यटन, इतिहास र मनकामना मन्दिर
के.बी मसाल

गोरखाको मनकामना माईको मन्दिर तीर्थाटन मात्र होइन इतिहास खोजको लागि पनि महत्वपूर्ण मानिन्छ । मनकामना माईको मन्दिर गोरखाको शहिद लखन गाउँपालिकामा पर्दछ । मनले चिताएको इच्छा पुरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो ।
गोरखाका राजा राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ । मनकामना माईको मन्दिरमा विशेषगरी दशैँ, नागपञ्चमी, अष्टमी, गुठी पञ्चमी र वैशाख पञ्चमीका दिन पूजा गर्न तीर्थाटनका पर्यटकहरुको भीड लाग्ने गर्दछ । मनकामना माईको तीर्थाटन गर्नाले मनले चिताएको इच्छा अर्थात मनोकांक्षा पुरा हुने तीर्थाटन पर्यटकहरुको विश्वास रहेको छ ।
मनकामना माईको इतिहासमा गोरखाका १६ औँ शताब्दी -वि.सं. १६१४ देखि १६३६) सम्मका राजा रामशाहको रानी र लखन थापाको नाम जोडिन्छ । राजा रामशाहकी रानी लिलावती मनकामना माईको अवतार थिइन् । तर राजा र जनताका अगाडि उनी सामान्य महिला थिइन् । मनकामनामा इश्वरीय यथार्थता गुरु गोरखनाथलाई थाहा थियो । यसै क्रममा गुरु गोरखनाथले मनकामनाका लागि शुद्ध चित्त भएको भक्त खोज्न थाले । यस्तो शुद्ध व्यक्ति खोज्दै जाँदा उनले दाउरा काटिरहेको लखन थापालाई भेटे । उसको निष्पक्ष सरलता देखेपछि गुरु गोरखनाथले लखन थापालाई शिक्षा र ज्ञान दिए । यसपछि सामान्य मानिस लखन थापा सिद्ध लखन थापा भएर गोरखा दरवारमा रानी लिलावतीको सेवक भए । एकपल्ट राजा रामशाहले गोरखाको उपल्लो कोट दरवारमा आफ्नी रानी लिलावती र लखन थापालाई आफ्नो सिंहासनमा देखे छन् । त्यसपछि राजा अचानक विरामी हुन पुगेछन । समय बित्दै गयो, केही समयपछि राजा रामशाहको निधन भयो ।
त्यस समयको प्रचलन अनुसार रानी लिलावती सती जानु पर्यो । राम शाहको दाहसंस्कार गर्न मर्स्याङ्दी नदी र दरौंदीको दोभान आजभोली रामशाहघाट भन्ने ठाउँमा राजाको चिता बनाइयो । सती जान तयार अवस्थामा रहेकी रानीलाई देखेर लखन थापा मगर शोकले विहृवल बन्न पुगे । रानीले लखन थापालाई सम्झाउँदै भनिन ! म फेरि पनि तिमीलाई मेरो सेवा गर्ने मौका दिनेछु । तिमी आफ्नो गाउँ कफ्याकमा फर्क । म त्यही ठाउँमा शिलाको रुपमा उत्पत्ति भई भक्तजनहरुको मनोकामना पूरा गरी दिनेछु भन्दै सती जान चितामा चढिन । रानी लिलावती सती गएको ६ महिनापछि हाल मनकामना भगवतीको मन्दिर रहेको ठाउँमा स्थानीय धनध्वज गुरुङले गोरु जोत्दा हलो अडकिन गयो । अडकिएको हलो तानेर हेर्दा हलोमा शिला अर्थात देवीको मूर्ती अडकिएको शिलाबाट दूध र रगत बग्न थालेको देखियो । त्यसपछि सिद्ध लखन थापाले तान्त्रिक विधिद्वारा पूजापाठ गरेपछि रगत वग्न रोकिएको थियो भन्ने धार्मीक विश्वास रहेको छ । त्यसपछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दर सन्तानलाई पुजारी नियुक्ति गरी नित्य पूजा चलाउन जग्गा गुठी र विर्ता लालमोहर लगाई दिएका थिए । मनकामना माईको हालको पुजारी इन्सान थापा मगर सिद्ध लखन थापाको अठारौं पुस्ताका सन्तान मानिन्छन् ।
पुरानो मनकामना मन्दिर प्यागोडा शैलीमा सत्रौँ शताब्दीमा बनेको थियो । मन्दिरको छानामा पित्तलको थियो। वि.सं. २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले मन्दिरमा ठुलो क्षति पुर्यायो । पुरातत्व विभागको मापदण्डअनुसार अहिले मन्दिरको पुनःनिर्माण भएको छ । मन्दिर निर्माण गर्दा गजुर, छाना र मूलढोकामा सुनको जलप लगाइएको छ । मनकामना मन्दिरको छानामा सुनको जलप लगाउँदा पुरानै प्रविधिअनुसार चुक, नुन, अमिलो र इँटाको ढुटोहरु प्रयोग भएको छ । मनकामनाको मन्दिरको छानामा तामाको पातामा १८ किलो सुनको जलप लगाएर मन्दिरलाई आकर्षक बनाइएको छ । मन्दिर निर्माणका लागि आधुनिक प्रविधिको सिमेन्ट रडलगायतका कुनै पनि सामग्री प्रयोग नगरी पुनःनिर्माण गर्दा केवल चुना ढुङ्गा, सुर्खी, इँटा र काठ प्रयोग गरिएको छ ।
मनकामना मन्दिरको निर्माण र मर्मत संभार विभिन्न कालखण्डमा शाहवंशका राजाहरुले गर्दै आएका थिए । मनकामना मन्दिर भित्र पूजा हुने ठाउँमा एउटा खाल्टोमा पाँच शिला ठडिएका छन । जसमध्य दुइ ठूलालाई मनकामना र भैरव तथा अन्य तीन सानालाई क्रमशः गणेश, कुमारी र बेताल मानी पूजा गरिन्छ । पृथ्वीनारायण शाहको पालादेखि नुवाकोटको भैरवी र काठमाडौंको मैतीदेवी भगवतीसग मनकामना माईको सम्बन्ध जोडिएको ऐतिहासिक प्रमाण रहेको छ । त्यसैले मनकामनाको नित्य पूजारी थापा मगर भएपनि त्यहाँ वैशाख सुदी-बदी र मंसिर सुदी-बदीको गुठी पञ्चमी पर्वमा चाहि गुभाजूले पुरोहितको काम गर्दछन । मनकामना मन्दिरमा श्रेष्ठद्वारा देवीको सुसारेको काम गर्दछन । गुठी पञ्चमीको पर्वमा बौद्ध गुमाजूको तान्त्रिक विधिबाट पुजा गरिन्छ, भने मन्दिरको पेटीमा अर्याल र मरहटठा थरका बाहृमणहरुले पुराणवाचनको काम गर्दछन ।
मनकामना मन्दिर, गोरखाको सदरमुकामबाट दक्षिणपुर्वी पट्टी पर्दछ । गोरखा पोखरीथोक बजारदेखि १२ किलोमिटर दक्षिण तनहुँ आँवुखैरेनीदेखि ५ किलोमिटर पूर्व र चितवनको मुग्लिन बजारबाट २६ किलोमिटर उत्तरमा पर्दछ । मनकामना मन्दिरको परिसर समुद्रको सहतबाट १ हजार ३१५ मिटर उचाइमा रहेको छ । गोरखाको दक्षिण सिमामा रहेको ऐतिहासिक मनकामना माई तीर्थाटन पर्यटकहरु पुग्ने गर्दछन । आफ्नो मनले चिताएको कामना अर्थात मनको इच्छा पूरा गर्ने भगवती भएकोले मन्दिरको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास छ । तीर्थाटनका पर्यटकहरु मनकामनालाई सम्झी आफुले चिताएको काम पूरा होस भनि भाकल गर्दछन र भाकल चढाउन मनकामनाको मन्दिरमा पुग्ने गर्दछन । मनकामना माईको सात दिदी बहिनीहरु छन । जेठी बुढीकन्या माई र माहिली छिम्केश्वरी माई पश्चिम पट्टी देखिने छिम्केश्वरी महाभारत पर्वत तनहुँ जिल्लामा पर्दछ । साहिली बहिनी गोरखा कालिका माई हुन भने काहिली बहिनी मनकामना माई हुन । केबुल स्टेशनको पार्कबाट दक्षिण पट्टी चितवन जिल्लाको महाभारत पर्वतमा अन्तरी बहिनी इच्छाकामना माईको मन्दिर पर्दछ । त्यपछि जन्तरी बहिनी अन्नपूर्ण माई र कान्छी बहिनी अकला माई हुन भन्ने गरिन्छ ।
मनकामना मन्दिरमा तीर्थाटनका पर्यटकहरुले पूजाआजा गर्दछन् । भाकल चढाउछन, परेवा उडाउँछन् । तर मन्दिर परिसरमा रहेको भिमकाय चाँपको रुखमा धेरै पर्यटकहरुको ध्यान पुग्दैन । मन्दिर परिशरमा रहेको चाँपको रुख करिवन ४०० वर्ष पुरानो मानिन्छ । पहेलो फूल फुल्ने चापको रुखले वासना दिन्छ । मनकामना मन्दिर परिसर पुर्वपट्टी नजिकै वंकेश्वरी मन्दिर पर्दछ । मनकामना पुग्ने अधिकाँश पर्यटकहरु वंकेश्वरी मन्दिर पुग्दछन । वंकेश्वरी मन्दिरमा वाक्य फुटन नसकेका अपाङ्गता भएका बालबालिकालाई दर्शन गराएमा बोली फुटने जनविश्वास रहेको छ । वक्रेश्वर महादेव र वक्रेश्वरी माईका ठूला-ठूला शिला रहेका छन । जुन ठाउँमा बाबा गुरु गोरखनाथले लखन थापालाई वरदान दिएको मानिन्छ । वक्रेश्वर महादेवको उत्तरपट्टी डाँडामा सिद्ध लखन थापाको गुफा पर्दछ । गुफाको भित्र दुइ ठूला प्वालहरु छन । जुन प्वालबाट गोरखाको गोरखनाथको गुफामा पुगिने विश्वास पनि गरिन्छ ।
मनकामना केबलकार वि.सं २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा आएको हो । यो केबलकार नेपालको पहिलो केबलकार हो । केबलकारको सुबिधाले आजभोली तीर्थाटनका पर्यटकहरु पृथ्वी राजमार्गको कुरिनटार चेरेसबाट मनकामना मन्दिर पुग्ने गर्दछन् । मनकामना दर्शन प्रा.लि.द्वारा सञ्चालित केबुलकारको ३.०२ किलोमिटर दुरी रहेको छ । केबलकारमा ३४ वटा डब्बा रहेका छन । प्रत्येक डब्बा ६ जना यात्रा गर्न सकिन्छ । केबलकारले प्रति घण्टा ६०० तीर्थाटनका पर्यटकहरु ओसारपसार गर्न सक्दछ । केवलकारको सुविधाले मनकामना जानेहरुको संख्या प्रत्येक वर्ष वृद्धि हुँदै गएको छ । आजभोली चाहे तीर्थाटनको लागि होस अथवा शैक्षिक भ्रमणका लागि होस मेची महाकालीका मानिसहरु मनकामना पुग्ने गरेका छन । आजभोली नेपाली मात्र होइन भारतीय तीर्थाटनका पर्यटकहरु पनि मनकामना पुग्ने गर्दछन । पशुपतीनाथको दर्शन गर्न आउने अधिकांश पर्यटकहरु मनकामना माईको तीर्थाटन गरेर मात्र र्फकने गर्दछन ।
मनकामना परिसर प्राकृतिक भ्यु-टावर पनि हो । मनकामना मन्दिर परिशरबाट महाभारत पर्वतका डाँडाकाँडाहरु र उत्तर तिर अन्नपूर्ण र मनास्लु हिमाली श्रृंखला समेत देख्न सकिन्छ । दक्षिणतर्फ छिम्केश्वरी तथा महाभारत पर्वत श्रृंखला, पूर्वतर्फ इच्छाकामनाको पहाड र पश्चिमतर्फ गोरखा जिल्लाको देउराली, मिरकोट थुम, दरौदी खोला किनारको उर्वर भूमि, ऐतिहासिक लिगलिगकोट लगायत प्राकृतिक मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । भारतीय तीर्थाटनका पर्यटकहरुले मनकामनाबाट पहाडी दृष्य देख्न पाउँदा रमाइलो मान्दछन । मनकामना मन्दिरमा नित्य पूजा विहान ७ बजे र साँझ ६ बजे गरिन्छ । भित्री पूजा सकेर पुजारीले मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्वसाधरणहरुको लागि वलि र पूजा शुरु हुन्छ । मनकामनामा विशेष गरी अष्टमी तिथिका दिन बली चढाइन्छ । के चढाउने ? घण्ट, परेवा, बोका, फूल ? सबै सामान पनि मनकामनाको बजारमा किन्न पाइन्छ ।
मनकामना पुग्ने तीर्थाटन पर्यटकहरुलाई खाना बस्नको कुनै असुविधा हुँदैन । मन्दिर वरपर पुरानो बजार, नयाँबजार र बीच बजारका प्राय सबै घरमा होटलहरु छन । चारतारे रिसोर्ट होटलदेखि मझौला र साना होटलहरुले मनकामना पुग्ने पर्यटकहरुलाई सेवा दिएका छन । रिसोर्टमा नेपाली, इन्डियन, चाइनिज र कन्टिनेन्टल खाना समेत पाइन्छ । केवुलकारबाट ओर्लनासाथ कतिपय होटल ब्यवसायीहरुले आफ्नो होटलमा दिइने सेवा र खानाको परिकारको बारेमा विज्ञापन गर्दै बोलाउछन । एकैछिन त पर्यटकहरु अलमलमा पर्दछन। खाना खान कुन होटलमा जाने ! मनकामनाको मिठो खाना र आरामदायि बासले सबै तीर्थाटनका पर्यटकहरुलाई लोभ्याउछ । मनकामना मन्दिर नजिकैको बेतिनी गाउँका होमस्ट समेत सञ्चालनमा छ । कतिपय पर्यटकहरु होटलमा भन्दा होमस्टेमा बास बस्न खोज्दछन । मनकामना मन्दिरदेखि करीब १५ मिनेट
ओरालो झरेपछि बेतिनी गाउँ पुग्न सकिन्छ ।
मनकामनाको मन्दिरमा सबै धर्म मान्ने पर्यटकहरु पुग्दछन । बिशेष गरी हिन्दु र बौद्ध धर्मका पर्यटकहरुले तीर्थाटन गरी आफ्नो मनोकामनाको पुरा होस भनि भक्ति र श्रद्धा पूर्वक भावना राख्दछन भने अन्य पर्यटकहरु इतिहास, सस्कृति र प्राकृतिक दृष्यावलोकनमा रमाउछन । मनकामनामा प्रत्येक बर्ष करिब १२ लाख तीर्थाटनका पर्यटकहरु केवलकारबाट मनकामनामा पुग्दछन । अर्को तर्फ ३ लाख पर्यटकहरु पदयात्रा अथवा मोटर मार्गबाट पनि मनकामना पुग्दछन । मनकामना तीर्थाटन गर्न जाने ३ लाखभन्दा बढी भारतीय तीर्थयात्री हुन्छन् । भारतीय तीर्थयात्रीहरुको संख्या बर्षेनी बढदो छ ।
धेरैलाई के लाग्दछ भने लखन थापा त पहिलो शहीद हुन । उनि कसरी रानी लिलावतीको सेवक बने ? राम शाह कालिन सिद्ध लखन थापालाई प्रथम लखन थापा मानिन्छ उनी मनकामना देवीका हालका पुजारी इन्सान थापा मगरका पुर्खा हुन् । जंगबहादुर राणाको आदेशमा मृत्यू दण्ड पाएका व्रि्रोही लखन थापा चाहिं दोस्रा लखन थापा हुन् । लखन थापा मगरको जन्म वि.सं.१८९१ मा हालको गोरखा जिल्ला, बुङकोट-४ को काहुले भञ्ज्याङमा भएको थियो । उनले जहानियाँ राणाशासन विरुद्ध पहिलो पटक जनस्तरबाट संगठित व्रि्रोह गरेका थिए । सशस्त्र व्रि्रोहमा उनले जंगबहादुर राणाको हत्या गर्ने प्रतिज्ञा समेत गरेका थिए । तर, उनीसहित सात जना व्रि्रोहीलाई जंगबहादुरकै आदेशमा वि.सं.१९३३ साल फागुन २ गते गोरखाको बुकोट गाउँको काउले भागारमा झुण्डयाएर मृत्यूदण्ड दिइएको थियो ।
तीर्थाटनका पर्यटकहरुले मनाकामना पुगेपछि चिनो स्वरुप काठका सामान, ठेकी, खुर्पेटो मादल, माना पाथी जस्ता घरेलु हस्तकलाका सामान किन्ने गर्दछन । वाँसबाट बनेका भित्ते स्वागत पर्दा, टाउकोमा लगाउने टोप र घरेलु प्रयोगमा आउने सर-सामानहरु समेत मनकामना पर्यटकहरुले लिन पाउछन । सुन्तलाको सिजनमा मनकामना पुग्ने पर्यटकहरुले सुन्तला किन्ने पहिलो रोजाइ हुन्छ । मनकामनाको सुन्तला अन्य जिल्लामा उत्पादन भएको भन्दा मिठो मानिन्छ । पर्यटकहरु सुन्तलाको स्वाद लिदै मनकामनाको सुन्तलाको पकेट गाउँ ढाँडबारीमा समेत पुग्न खोज्दछन । ढाँडबारीमा सुन्तलाको स्तम्भ समेत निर्माण भएको छ ।
मनकामना कसरी जाने !
केबुलकारबाट ११ मिनेटमै मनकामना पुग्न सकिन्छ । पदयात्रा गर्न रुचाउनेहरु आबुखैरेनीबाट ४ घन्टाको उकालो यात्रा गरी मनकामना पुग्न सकिन्छ । खैरेनि-गोरखा मार्गमा पर्ने आँबुखैरेनीबाट मोटरबाट लुदिखोला, बेलबोटे, खहरेगाउँ, भोगटेनी, गाल्धुक हुँदै ढाडबारी बसपार्क पुगिन्छ । सुन्तला बगैंचाको बिचमा रहेको बसपार्कबाट मन्दिरमा पुग्न ५ मिनेट लाग्छ । गोरखाबजारदेखि बुंकोट, घैरुङ्ग, हुँदै मोटर मार्गबाट पनि मनकामना मन्दिर जान सकिन्छ ।