तनहुँको दमौली स्थित कालिका मन्दिरमा फूलपाती भित्र्याइयो

भञ्ज्याङन्यूज

बडादशैंको सातौ दिन आज तनहुँमा फूलपाती भित्र्याइएको छ । तनहुँको सदरमुकाम दमौलीमा रहेको बेलको रुपमा पूजाअर्चना गरी व्यास नगरपालिका-४ स्थित कालिका मन्दिरमा विधिपूर्वक फूलपाती भित्र्याइएको हो ।

चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेना र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीले बाजागाजा सहित दमौली बजार परिक्रमा पश्चात फूलको डोली कालिका मन्दिरमा भित्र्याइएको थियो ।

फूलपाती भित्र्याउने कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, व्यास नगरपालिकाका वडाध्यक्ष, राजनीतिक दलका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिको लगायतको सहभागिता फूलपाती व्यवस्थापन समितिका संयोजक एवं सहिद कालिका जङ्गल पार्कका निवर्तमान अध्यक्ष इश्वरबहादुर विष्टले बताए ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व शनिबार शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आहृवान गरी पूजाआजा गरिएको दशैघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

कालिका मन्दिरको व्यवस्थापनमा प्रत्येक वर्ष फूलपाती भित्र्याउने परम्परा रहँदै आएको छ । बागभञ्ज्याङ सामुदायिक वनको बीचमा अवस्थित छ कालिका मन्दिर । सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादीनदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करिब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका सहिद शान्ति पार्क पर्दछ । यही पार्कभित्र रहेको मन्दिरमा पूजाआजाका लागि भक्तजन पुग्ने गरेका छन् ।

यस ठाउँ धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । यहाँ मल्लकालिन प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको छ । रु तीन करोड लागतमा मन्दिर निर्माण गरिएको जनाइएको छ । तीन तले र ५५ फिट उचाईको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको ६० वटा टुडाल हालिएको छ भने मन्दिरमा ९ फिट उचाईको गजुर राखिएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत दमौली बजारबाट एक किमिको दूरीमा रहेको उक्त पार्कसम्म पुग्नका लागि पैदलमार्ग निर्माण गरिएको छ भने सवारी साधनका लागि बाटो पक्की बनाइएको छ । अप्ठ्यारो रहेको ठाउँमा ८० मिटर बाटो ढलान गरिएको छ ।

यस ठाउँको वृहत्तर विकासका लागि गुरुयोजना बनाइएको छ । गुरुयोजना अनुसार पर्ूवाधार निर्माण गर्न रु पाँच करोड भन्दा बढि बजेट आवश्यक पर्दछ । यहाँ १० फिट चौर्डाईको एक किमि पक्की सिंढी निर्माण, दुइ वटा वनभोज स्थल, एउटा कुरुवा घर, सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेको छ भने रिजर्भ ट्याङ्की बनाएर खानेपानीको व्यवस्थापन गरिएको छ ।

गुरुयोजना अनुसार पार्कमा प्रवेशद्वार, टिकट काउण्टर, पार्किङस्थल, सहिद स्मारक पार्क, बालउद्यान, पानीको फोहोरा, सानो चिडियाघर, भ्युटावर, विश्रामस्थल लगायतका पूर्वाधार निर्माण हुन बाँकी छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker