चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिका-को परिवारलाई राहत
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दिपुर गाउँपालिका-३ सिस्नेघारीकी ११ वर्षीया वीना चेपाङको परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । डिभिजन वन कार्यालयले किरिया खर्चबापत मृतकका परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराएको हो ।
शुक्रबार बिहान ६:३० बजे चितुवाको आक्रमणमा परी चेपाङको मृत्यु भएको थियो । सहायक वन अधिकृत काशीराज पण्डितका अनुसार मृतकका बुबा चन्द्रबहादुरलाई किरिया खर्च बापत उक्त रकम उपलब्ध गराइएको हो । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकालाई राहतस्वरुप दश लाख रुपैयाँ दिने प्रावधान रहेको र बाँकी रकम प्रक्रिया पूरा गरेर पीडित परिवारलाई उपलब्ध गराइने उनले बताए ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा पचास हजार रुपैयाँसम्म, सख्त घाइते भएमा दुइ लाख रुपैयाँसम्म र मृत्यु भएमा अधिकतम दश लाख रुपैयाँसम्म उपलब्ध गराउने व्यवस्था छ ।
बन्दिपुरमा केही समययता चितुवाको आक्रमण बढेकाले चितुवा नियन्त्रणका लागि प्रयास थालिएको छ । चितुवालाई डार्टिङ गरी नियन्त्रणमा लिन तालिमप्राप्त प्राविधिकसँग समन्वय गरिएको उनले बताए ।
‘अहिले तत्कालका लागि उक्त ठाउँमा खोर राखेका छौँ, केही समयपश्चात् तालिमप्राप्त टोली आएपछि डार्टिङ गरेर चितुवा नियन्त्रणमा लिने प्रयास गरिनेछ’, सहायक वन अधिकृत पण्डितले भने, ‘यसका साथै स्थानीयवासीलाई सचेत रहन पनि आग्रह गरेका छौँ ।’
चाडपर्वका बेला चितुवाको त्रास बढेपछि स्थानीयवासी आतङ्कित भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । वडा नम्बर १, ३ र ४ मा विगत चार महिनाको अवधिमा चितुवाको आक्रमणबाट दुइ जनाको मृत्यु भएको अन्य दुइ जना घाइते भएका थिए अहिले झन तिहार सुरु भएकाले स्थानीयवासी त्रस्त छन् ।
गत असारमा वडा नं १ र ४ मा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको र अन्य दुइ घाइते भएका थिए । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाए का र उनीहरु १२ वर्षभन्दा कम उमेरका थिए ।










