तनहुँका मुख्य राजनीतिक दलको संयुक्त बैठक

- भञ्ज्याङ समाचारदाता (दमौली)
कोभिड-१९ को सचेतना फैलाउन कार्यकर्ता परिचालन गर्ने
तनहुँका मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले आइतबार संयुक्त बैठक सम्पन्न गरेका छन् । नेपाली कांग्रेसको पार्टी कार्यालयमा कांग्रेसका कार्यवहाक सभापति जितप्रकाश आलेको अध्यक्षतमा बैठकले जिल्लामा वर्तमान अवस्थामा देखिएका समस्याका समाधानमा के कसरी जाने भन्ने विषयमा छलफल तथा निर्णय गरेको छ ।
जिल्लाको समुदाय स्तरमा पछिल्लो समय दैनिक जसो भाइरस संक्रमणको दर बढ्दै गएको भन्दै बैठकले स्थानीय स्तरसम्म कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि सचेता फैलाउन पार्टीका कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता विष्णुभक्त सिग्देलले जानकारी गराए ।
नजिकिदै गरेको चाडपर्वमा देश तथा विदेशबाट धेरै नागरिक जिल्ला भित्रिने भएकाले उनिहरुको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि बैठकमा छलफल भएको नेकपा नेता सिग्देलले बताए । उनले भने, ‘जिल्लाका मुख्य राजनीतिक दलहरुको संयुक्त बैठक बसि नागरिक स्तरसम्म कोभिड-१९ संक्रमण र अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना फैलाउन पार्टीका कार्यकर्ता परिचालन गर्ने निर्णय भएको छ ।’
त्यस्तै, बैठकले प्राकृतिक स्रोत साधानको समुचित प्रयोग, कोभिड-१९ समस्या, समाधान र व्यवस्थापन, बाढीपीडित राहत र उद्धार लगायतका विषयमा छलफल गरी के कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णयहरु गरेको बताइएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा प्राकृतिक स्रोत साधानको दुरुपयोग भएको सुनिन आएकाले त्यस विषयमा जिल्ला समन्वय समिति, प्रहरी प्रशासन, जनप्रतिनिधि, राजनीतिक दलको बैठक बसी त्यस विषयमा छलफल गर्ने निर्णय बैठकले गरेको छ ।
उक्त बैठकमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) तनहुँका अध्यक्ष एवं संघीय सांसद केदार सिग्देल, जनता समाजववादी पार्टीका केन्द्रीय सल्लाहकार कृष्णराज घिमिरे, कांग्रेस तनहुँ सचिव विश्वनाथ बास्तोला, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सचिव राजेन्द्रकेशरी न्यौपाने लगायतको सहभागिता रहेको थियो ।










