भारी वर्षाको पूर्वानुमान : उच्च सतर्कता अपनाउन तनहुँ प्रशासन र पालिकाहरुको आग्रह

तनहुँ : जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा मध्यमदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले बिहीबार सूचना जारी गर्दै तनहुँ पनि वर्षाको जोखिममा रहेको जनाएको हो । असोज ७ गते रातिदेखि नै जिल्लाका विभिन्न स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको र आगामी दिनमा थप वर्षा हुनसक्ने भएकाले आवश्यक पूर्वतयारी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।
प्रशासनले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ । स्थानान्तरणका क्रममा समस्या आएमा सम्बन्धित स्थानीय तह तथा नजिकको सुरक्षा निकायसँग समन्वय गरी सहयोग लिनसमेत अनुरोध गरिएको छ ।
त्यस्तै, रातको समयमा अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ । यात्रा गर्नैपर्ने अवस्था आएमा स्थानीय तह तथा सुरक्षा निकायबाट आवश्यक सूचना लिएर मात्र यात्रा गर्न र गन्तव्यमा पुगेरै छाड्नेभन्दा आफू रहेको स्थान आसपासकै सुरक्षित ठाउँमा रोकिएर बस्न सुझाव दिइएको छ ।
अत्यावश्यक यात्रा गर्नुपर्ने अवस्थामा अतिरिक्त कपडा, ड्राइफुड, खानेपानी, मोबाइल चार्जर तथा प्राथमिक उपचारका आधारभूत औषधि साथमा राख्न प्रशासनले आग्रह गरेको छ ।
वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा बालबालिकालाई सम्भावित जोखिमबाट जोगाउन पूर्वतयारीसहित सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
प्रशासनले सम्भावित बाढी, पहिरो तथा डुबानको जोखिमप्रति सचेत रहँदै स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने सूचनालाई ध्यानपूर्वक पालना गर्न जिल्लावासीलाई आग्रह गरेको छ ।

उच्च सतर्कता अपनाउन पालिकाहरुको आग्रह, विद्यालय बन्द

यस्तै, तनहुँका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमानसंगै व्यास नगरपालिका, भानु नगरपालिका, आँवुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकाले नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै शुक्रबार विद्यालयहरुलाई सार्वजनिक विदा दिएका छन् ।
पालिकाहरुले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै वर्षाका कारण बाढी, पहिरो, डुबान, नदी कटानलगायत विपद्को जोखिम हुनसक्ने जनाएका हुन् । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी, खोला, खोल्सा तथा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
पालिकाहरुले पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने परिवारलाई विशेष सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जानका लागि पूर्वतयारी अवस्थामा रहन आग्रह गरेका छन् । घर वरिपरिका पानी निकासका नाला, कुलो तथा ढल सफा राख्न, विद्युत्का तार तथा पोल र कमजोर संरचनाबाट टाढा रहन पनि अनुरोध गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker