भानु जन्मस्थल विकास समितिका पदाधिकारीको पदस्थापन

भानु : आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठ लगायत सदस्यहरूको पदस्थापन गरिएको छ । भानु जन्मस्थल चुँदीरम्घामा बुधबार एक कार्यक्रमको आयोजना गरी विकास समितिका पदाधिकारीहरुको पदस्थापन गरिएको हो ।
समितिका अध्यक्ष रामकुमार श्रेष्ठसहित सदस्यहरूमा नारायणी अधिकारी, अञ्जना तिमिल्सेना, आकाश अधिकारी, दिवाकर घिमिरे र पूर्णबहादुर लौडारी रहेका छन् ।
कार्यक्रममा भानु जन्मस्थल विकास निर्देशन समितिका अध्यक्ष एवं भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले भानु जन्मस्थल विकास समितिको कार्य नगरपालिका मातहत रहने जानकारी दिँदै नगरपालिकाले जन्मस्थलको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
पदबहालीको अवसरमा अध्यक्ष रामकुमार श्रेष्ठले जनसहभागिता मार्फत स्थानीयस्तरमा कार्यक्रम सञ्चालन गरिने बताए । उनले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घा विकासका लागि नयाँ अभियान सञ्चालन गर्ने बताए ।
नेपाल सरकारले वि.सं. २०५२ सालमा गठन गरेको भानु जन्मस्थल समितिलाई गत वर्षको पौष महिनामा संघीय सरकारबाट स्थानीय तहमा हस्तान्तरण गरिएको थियो । भानु नगरपालिकाले आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका लागि कार्यबिधि पनि तयार गरिसकेको छ ।
गत कार्तिक २९ गतेको कार्यपालिकाको बैठकले आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन गर्ने निर्णय गरेको थियो। यस अनुसार रामकुमार श्रेष्ठलाई अध्यक्ष मनोनीत गरिएको छ भने, नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान दिएकाहरूलाई समितिको सदस्यमा मनोनित गरिएको छ ।
समितिमा गण्डकी क्षेत्रबाट नारायणी अधिकारी, अञ्जना तिमिल्सेना, आकाश अधिकारी, विष्णु प्रसाद आचार्य, दिवाकर घिमिरे लगायत अन्य विशिष्ट व्यक्तिहरू मनोनीत भएका छन् ।
त्यसैगरी, अन्य सदस्यहरूमा प्रभा भट्टराई आचार्य, डा. प्रकाश तिवारी, पदम तिमिल्सिना, नारायण बोहोरा, निवर्तमान उप प्रमुख आशा थापा, वडा नं. ४ का निर्वतमान वडा अध्यक्ष पूर्णबहादुर लौडारी, र नेपालका लागि अमेरिकाका महावाणिज्य दूत प्रेमराजा महत र मोहन निरौलालाई पनि सदस्यमा मनोनित गरिएको छ ।










