नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई विकासको इन्जिन बनाउँदै भानु नगरपालिका
'साहित्य, पर्यटन र कृषि'लाई समृद्धिको आधार बनाउने नीति, आदिकवि भानुभक्तको जन्मथलोको प्रचार–प्रसारमा विशेष जोड

भानु : आदिकवि भानुभक्त आचार्यको जन्मस्थलका रूपमा राष्ट्रिय पहिचान बनाएको भानु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन र साहित्यलाई विकासको मुख्य आधार बनाएको छ । æसाहित्य, पर्यटन र कृषि क्षेत्र हाम्रो, पारौँ समृद्ध र समुन्नत भानु राम्रोÆ भन्ने नारासहित सार्वजनिक गरिएको नीति तथा कार्यक्रमले स्थानीय उत्पादन वृद्धि, पर्यटकीय सम्भावनाको उपयोग र दिगो पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।
१८औं नगरसभामा नगर प्रमुख आनन्दराज त्रिपाठीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरको आर्थिक समृद्धि कृषि उत्पादन र पर्यटन प्रवर्द्धनसँग जोडिएको उल्लेख गर्दै स्थानीय स्रोत, सीप र पहिचानलाई विकासको आधार बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आदिकविको जन्मथलोबाट पर्यटन विस्तारको योजना
भानु नगरपालिकाको सबैभन्दा ठूलो पहिचान आदिकवि भानुभक्त आचार्यको जन्मस्थल हो । यही ऐतिहासिक र सांस्कृतिक विरासतलाई पर्यटनसँग जोड्दै नगरपालिकाले यसको प्रचार–प्रसार र पूर्वाधार विकासमा विशेष जोड दिएको छ ।
निर्माणाधीन भानु साहित्य उद्यानलाई स्थानीयवासी र पर्यटक दुवैका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। साहित्यिक गतिविधि, सांस्कृतिक कार्यक्रम र पर्यटकीय पूर्वाधारलाई एकीकृत गर्दै भानुलाई साहित्यिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
स्थानीय सरोकारवालाको भनाइमा, यदि साहित्य उद्यान, आदिकविको जन्मस्थल र आसपासका सांस्कृतिक सम्पदालाई व्यवस्थित रूपमा जोड्न सकियो भने आन्तरिक तथा बाह्य पर्यटनमा उल्लेखनीय वृद्धि हुन सक्छ ।
कृषिलाई उत्पादनबाट बजारसम्म जोड्ने रणनीति
नीति तथा कार्यक्रमको सबैभन्दा बलियो पक्ष कृषि क्षेत्रलाई दिइएको प्राथमिकता हो। नगरपालिकाले ‘स्थानीय उत्पादन, हाट बजारमा सम्मान’ अभियान सञ्चालन गर्दै स्थानीय कृषि उपजको बजारीकरणमार्फत किसानको आय वृद्धि गर्ने लक्ष्य लिएको छ ।
कृषिको आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरणलाई जोड दिँदै कृषि हाट बजार सञ्चालन गरिने, कृषि औजार तथा रासायनिक मल सहज रूपमा उपलब्ध गराइने र कृषि उत्पादनमा आधारित साना उद्योगलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ ।
सुन्तला, कागती, कफी, अदुवा, तोरी, उखु, लसुन, रायो लगायत उच्च मूल्यका बालीका पकेट क्षेत्र निर्धारण गरी उत्पादन, प्रशोधन र बजारीकरणमा अनुदान उपलब्ध गराउने योजनाले व्यवसायिक खेतीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
बाँझो जमिन उपयोगदेखि मौरीपालनसम्म
खेतीयोग्य जमिन बाँझो रहने प्रवृत्तिलाई निरुत्साहित गर्न इच्छुक किसान, कृषि फर्म र सहकारीमार्फत उत्पादन प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। नगरपालिकाले मौरीपालनलाई समेत प्राथमिकतामा राख्दै तालिम, प्रविधि हस्तान्तरण, प्रशोधन र बजारीकरणका लागि आवश्यक सहयोग गर्ने नीति लिएको छ । वास्तविक कृषकको पहिचान गर्न किसान सूचीकरण र किसान परिचयपत्र वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ भने माटो परीक्षणमार्फत उपयुक्त बाली र मलखादको सिफारिस गरिने व्यवस्था गरिएको छ ।
सिँचाइ विस्तार र रैथाने बाली संरक्षण
कृषियोग्य भूमिमा वर्षभरि सिँचाइ सुविधा पुर्याउने उद्देश्यले खोल्सा–खोल्सीमा बाँध निर्माण गरी वर्षाको पानी संकलन गर्ने ‘रिजर्भोयर’ प्रणाली विकास गर्ने योजना समेटिएको छ ।
त्यसैगरी खाद्य तथा पोषण सुरक्षालाई बलियो बनाउन उन्नत बीउको प्रयोग, व्यावसायिक तरकारी खेती विस्तार तथा आयात प्रतिस्थापनमा जोड दिइएको छ । रैथाने बाली संरक्षणअन्तर्गत कोदोको बीउ तथा अन्य उत्पादन सामग्रीमा अनुदान उपलब्ध गराई उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ ।
पशुपालनमा अनुदान र प्राविधिक सेवा
पशुपालन क्षेत्रलाई थप व्यवसायिक बनाउन उन्नत जातका गाई, भैँसी, बाख्रा, बंगुर र कुखुरा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने भएको छ । कृत्रिम गर्भाधान सेवा प्रत्येक वडासम्म विस्तार गरिने तथा पशु स्वास्थ्य शिविर नियमित सञ्चालन गरिने नीति छ ।
दुग्ध उत्पादन वृद्धि गर्न दुग्ध चिस्यान केन्द्र स्थापना गर्ने र दूध उत्पादनका आधारमा प्रतिलिटर पाँच रुपैयाँसम्म अनुदान दिने कार्यक्रमले दुग्ध किसानलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ ।
यसका साथै पशु बीमालाई प्रोत्साहन, बहुवर्षीय घाँस खेती, साइलेजमा अनुदान, चरण विकास, प्रत्येक वडामा पशु सेवा प्राविधिक व्यवस्था तथा पशुपन्छीजन्य महामारी नियन्त्रणका लागि द्रुत प्रतिक्रिया टोली गठन गर्ने योजना पनि समेटिएको छ ।
रेबिज नियन्त्रणदेखि पूर्णखोप अभियानसम्म
पशु स्वास्थ्य सुरक्षाका लागि रेबिज नियन्त्रण अभियान सञ्चालन गर्दै कुकुर र बिरालोको निःशुल्क खोप तथा बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिने भएको छ । खोरेत, पीपीआर, एफएमडी लगायतका रोगविरुद्ध नियमित खोप अभियान सञ्चालन गरी नगरभित्रका करिब ९० प्रतिशत पशुधनलाई खोपको पहुँचमा ल्याउने लक्ष्य लिइएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका युवालाई प्राथमिकता
विदेशबाट फर्किएका युवालाई स्थानीय स्तरमै स्वरोजगार बनाउन पशुपालन अनुदान कार्यक्रम सञ्चालन गरिने नीति विशेष आकर्षक देखिन्छ। यसले वैदेशिक अनुभव र सीपलाई स्थानीय उत्पादनसँग जोड्दै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पूर्वाधार विकासमा दीर्घकालीन सोच
नगरपालिकाले टुक्रे योजनालाई निरुत्साहित गर्दै दीर्घकालीन प्रतिफल दिने आयोजनालाई मात्र प्राथमिकता दिने नीति लिएको छ । नगर गौरवका सडकलाई कालोपत्रे गर्न प्रदेश र संघीय सरकारसँग सहकार्य गरिने, बाह्रै महिना सञ्चालनयोग्य सडक निर्माणलाई निरन्तरता दिइने तथा नयाँ सडक ट्र्याक खोल्नुअघि प्राविधिक अध्ययन अनिवार्य गरिने व्यवस्था गरिएको छ ।
यस्तै, स्वच्छ खानेपानी, सरसफाइ, पारदर्शी खरिद प्रक्रिया, वार्षिक कार्यतालिका कार्यान्वयन र यातायात गुरुयोजनालाई प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।
कार्यान्वयनले नै निर्धारण गर्ने सफलता
नीति तथा कार्यक्रमले कृषि, पर्यटन र पूर्वाधार विकासलाई सन्तुलित रूपमा अघि बढाउने महत्वाकांक्षी लक्ष्य राखेको छ। विशेषगरी आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै पर्यटन विकास गर्ने सोच र कृषिलाई बजारसँग जोड्ने रणनीति उल्लेखनीय छन् ।
तर यी योजनाको वास्तविक सफलता बजेट व्यवस्थापन, प्रभावकारी कार्यान्वयन, प्राविधिक जनशक्ति, बजार पहुँच र स्थानीय समुदायको सक्रिय सहभागितामा निर्भर रहनेछ । यदि घोषणाअनुसार कार्यक्रम कार्यान्वयन हुन सके भानु नगरपालिका साहित्यिक पहिचानसँगै कृषि र पर्यटनमा आधारित समृद्ध स्थानीय अर्थतन्त्र निर्माण गर्ने दिशामा महत्वपूर्ण फड्को मार्न सफल हुन सक्छ ।










